पुनःबल्झियो मोहनमायाको जग्गा विवाद, मुआब्जा थोर भएको भन्दै सर्बाेच्चमा मुद्दा

0
860

झापा ।

झापाको बिर्तामोड नगरपालिका–२मा रहेको मोहनमाया माध्यमिक विद्यालयको जग्गा सम्बन्धी बिवाद पुनः बल्झिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को २०७७ साल साउन २६ गते बसेको बैठकले जग्गा प्राप्ति ऐन २०३४ अनुसार विद्यालयलाई जग्गा प्रदान गर्ने निर्णय गरेको थियो ।

विद्यालयले भोगचलन गर्दै आएको जग्गा अधिग्रहण गर्ने र जग्गादातालाई मुआब्जा दिने निर्णय भए पनि बुढानिलकण्ठ–८ निवासी अञ्जु कार्कीले तत्कालीन मन्त्रिपरिषद्का पदाधिकारीसहित महान्यायाधीवक्ताको कार्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसहित बिर्तामोड नगरपालिका वडा नम्वर २को कार्यालय समेतलाई विपक्षी बनाउँदै सर्बाेच्च अदालतमा मुद्दा दर्ता गरेसँगै मोहनमाया माध्यमिक विद्यालयको जग्गा विवाद पुनः बल्झिएको हो ।

कार्कीले सर्वाेच्च अदालतमा आठ करोडभन्दा बढी मूल्य पर्ने जमिनको मुआब्जा एक करोड ५८ लाख ५० हजार मात्रै दिएको भन्दै मुद्दा दर्ता गराएकी हुन् । उनले जिल्ला प्रशासन कार्यालय झापा, नापी कार्यालय, मालपोत कार्यालय, शिक्षा इकाई, मोहनमाया माध्यमिक विद्यालय समेतलाई विपक्षी वनाएर मुद्दा दर्ता गरेको मोहनमाया माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष देवी गिरीले बताए ।

मन्त्रिपरिषदको वैठकले कित्ता नम्वर ६९३ बाट सात कठ्ठा ५ धुर र १८३४ कित्ता नम्वरबाट साढे १३ धुर जमिन विद्यालयलाई प्रदान गरिने निर्णय गरेको थियो । बिर्तामोड नगरपालिका–२ रामचौकमा रहेको मोहनमाया माध्यमिक विद्यालय स्थापना गर्न समाजसेवी भूपालमानसिंह कार्कीले तत्कालीन समयमै १२ कठ्ठा १० धुर जमिन मौखिक रुपमा प्रदान गरेसंगै विद्यालय स्थापना गरिएको थियो । तर, दाता परिवारले २०७० सालमा विद्यालयको नाममा जिल्ला अदालत झापामा मुद्दा दर्ता गरेपछि विद्यालयको जमिन विवादित भएको थियो ।

बिर्तामोड–२ रामचौकमा रहेको मोहनमाया माध्यमिक विद्यालय स्थापना गर्न समाजसेवी भूपालमानसिंह कार्कीले तत्कालीन समयमै १२ कठ्ठा १० धुर जमिन मौखिक रुपमा प्रदान गरेसँगै विद्यालय स्थापना गरिएको थियो ।

जिल्लाकै नमूना विद्यालयमध्येको मोहनमाया माविको आफ्नो नाममा १० धुर जमिन मात्रै छ । २०२४ सालमा स्थापना भएको विद्यालयलाई स्थानीय दाता परिवारको तर्फबाट २०७० सालमा जिल्ला अदालत झापामा मुद्दा परेसँगै जिल्ला अदालत झापाले दाताकै पक्षमा फैसला गरेको थियो ।

अदालतको फैसला अनुसार मोहनमाया मावि जमिनविहीन भएको थियो । मोहनमायाको नाममा पूर्व–पश्चिम राजमार्गले छोएको विद्यालय भवनको दक्षिणतर्फ १० धुर मात्रै जमिन छ । जुन जमिनमा विद्यालयले कम्पाउण्ड वाल लगाएको छ । विद्यालय भौतिक संरचना निर्माण गर्दै जिल्लाकै उत्कृष्ट विद्यालय भएको छ । २०७० सालमा भूपालमान सिंहका छोरा जगतबन्धु कार्कीले विद्यालयबिरुद्ध मुद्दा हालेसँगै विद्यालयको जमिनमा विवाद सृजना भएको थियो ।

विद्यालयको नाममा जग्गा प्रदान गर्ने कार्की तत्कालीन राजसभाका सभापति थिए । साविक चारपाने गाविसको केन्द्र नम्वर–३स्थित कारुवाभिट्टामा स्थापित विद्यालय रामचौकमा सारिएको थियो । भूपालमानले प्रदान गरेको जमिनमा पञ्चकन्या उद्योग समूहका अध्यक्ष तथा शिक्षासेवी प्रेमबहादुर श्रेष्ठले आफ्नी आमाको नाममा विद्यालय भवन निर्माण गरेका थिए ।

तत्कालीन समयमा झण्डै ७५ हजार रुपैयाँ खर्चेर श्रेष्ठले भवन निर्माण गरेपछि उनकै आमाको नामबाट विद्यालयको नामकरण गरिएको बताइन्छ । सन्ठीको वेरा र फूसले छाएर बनाइएको झुपडीबाट पठनपाठन शुरु भएको विद्यालय अहिले जिल्लाकै नमूना विद्यालयका रुपमा सञ्चालित छ ।

२०५३ सालबाट निम्न माध्यमिक तहको पठन–पाठन शुरु गरेको मोहनमायाले २०६८ सालबाट माध्यमिक तहको अध्ययन अध्यापन शुरु गरेको हो । अहिले पनि प्राविधिक धारतर्फको अध्ययन अध्यापन हुँदै आएको सो विद्यालयमा सुस्तश्रवण भएका बिद्यार्थी आवाससहित अध्ययन गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here