कांग्रेस झापामा चुनावी सरगर्मी: सभापतिका लागि थेवे र कट्टेलको चर्चा , दुबै जना सिटौलाकै टिमबाट उम्मेदवार बन्ने

0
1058

झापा, नेपाली कांग्रेसको १४आंै महाधिवेशन लाई लिएर झापामा चुनावी सरगर्मी बढेको छ । कांग्रेस झापाको नेतृत्वका लागि पार्टीका पूर्व उपसभापति देउमान थेवे र उपसभापति राम कट्टेलले सभापति पदका लागि आकांक्षा देखाएसँगै कांग्रेस झापामा चुनावी सरगर्मी बढेको हो ।
दुई कार्यकाल उद्धव थापाले नेपाली कांग्रेस झापाको नेतृत्व गरेका छन् । तर, १४ औं महाधिवेशनले नयाँ सभापति चयन गर्नुपर्ने भएसँगै पार्टीका दुई नेताले जिल्ला सभापतिका लागि आकांक्षा देखाएका हुन् । कोरोना कहरका कारण पटक–पटक स्थगित भएको कांग्रेसको महाधिवेशन हुने चर्चा चलेसँगै झापामा गाउँदेखि जिल्ला तहसम्म चुनावी सरगर्मी बढेको हो ।
नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनका लागि अध्यक्षको उम्मेदवारका चर्चामा रहेका थेवे र कट्टेलले कृष्ण सिटौलाकै टिमबाट अध्यक्षको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका हुन् । नेपाल प्रेस युनियन झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशन र झापाको संगठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्यासीद्वय कट्टेल र थेवेले यस्तो आकांक्षा व्यक्त गरेका हुन् ।


झापाको प्रजातान्त्रिक आन्दोलनमा थुप्रै अग्रज व्यक्तित्वहरुको योगदान रहेको चर्चा गर्दै उनीहरुले समाजवादीका व्याख्याता सीके प्रसाईको नेतृत्वमा कांग्रेसको बैचारिक जग र कृष्ण सिटौलाको नेतृत्वमा सांगठनिक जग बसेको र सोही जगमा झापा कांग्रेसको राजनीति अघि बढेको धारणा राखेका थिए । झापाको राजनीतिमा कट्टेल र थेवे लगभग चारदशक अघिदेखि सक्रिय छन् । उनीहरुले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
सीके प्रसाई र कृष्ण सिटौलाको राजनीतिक योगदान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत फैलिएको चर्चा गर्दै कार्यक्रमका अधिकांश वक्ताहरुले झापाको संगठन, विचार र राजनीतिक अभियानले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए ।


कांग्रेसभित्र रहेको गुट–उपगुटको अन्त्य गरेर एकढिक्का हुन सके आम निर्वाचनमा कांग्रेसको पक्षमा परिणाम आउने धारणा राख्दै वक्ताहरुले अधिवेशनमा देखिएको गुट– उपगुट निर्वाचन पछि स्वतः समाप्त पारेर ‘चेन अफ कमाण्ड’ मा पार्टी चल्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कांग्रेस झापाका उपसभापति देवी राजवंशी, सचिवद्वय प्रेम सम्बाहाम्फे र ताराबीर कटुवाल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्री, कांग्रेस झापाका पूर्वसचिवत्रय भगिरथ पोद्दार र भक्ति सिटौला, दयानन्द गोश्वामी, नेपाल महिला संघ झापा सभापति सुशीला ढकाल, १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेती, कमल गाउँपालिकाका सभापति खगेन भण्डारी लगायतले मन्तव्य राखेका थिए ।
नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको प्रमुख आतिथ्य तथा नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस झापाका प्रवक्ता लोकराज ढकालले २००७ सालदेखि हालसम्मको झापाको प्रजातान्त्रिक आन्दोलन समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाँईले विषय प्रवेश गराएको कार्यक्रममा स्वागत झापा उपाध्यक्ष गिरीराज भट्टराईले गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोर्साईंले गरेका थिए ।

५ ब को नीतिमा कांग्रेस

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले नेपाली कांग्रेस झापा ५ ‘ब’ को नीति लिएर अघि बढेको बताएका छन् । नेपाल प्रेस युनियन झापाको आयोजनामा विर्तामोडमा सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशन र झापाको संगठन विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि थापाले आफ्नो १० वर्षे (दुई) कार्यकालको संक्षिप्त कार्यपत्र प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवादी विचार, सामाजिक व्यवहार, व्यवसाय, जनचाहना अनुसारको विकासमा सक्रियता र बिपतमा कांग्रेसको नीतिमा अघि बढेको बताए । आफ्नो नेतृत्वमा १० वर्ष झापा कांग्रेसका गतिविधि सक्रियता पूर्वक अघि बढेको चर्चा गर्दै सभापति थापाले यस अवधिमा प्रजातान्त्रिक आन्दोलनमा जीवन गुमाएका शहीदहरुको सम्झनामा प्रतिष्ठान तथा शालिक निर्माण गरेर प्रतिष्ठानमार्फत सर्वसाधारण जनतामा प्रजातान्त्रिक चेत भर्ने काम भइरहेको बताए ।

विश्वनाथ घिमिरे, तुर्सा हेमरम, याम आचार्य, बुटन चौधरी, श्यामसुन्दर यादव, चन्द्रमणि भट्टराई, राजन गिरी लगायतको स्मृतिमा प्रतिष्ठान स्थापना गरी शालिक निर्माण गर्ने कार्य सम्पन्न भएको र केही प्रजातान्त्रिक योद्धाहरुको प्रतिष्ठान तथा शालिक निर्माण कार्य अघि बढाइएको जानकारी दिए ।
आफ्नो कार्यकालमा पाटीलाई आर्थिक रुपले सवल बनाएर चन्दा मागेर पार्टी चलाउने परिपाटीको अन्त्यका लागि क्रियाशील सदस्य नवीकरणमा न्यून लेवी तय गरेर वडादेखि जिल्लासम्मको आर्थिक अवस्था सुदृढ गरिएको जानकारी दिंदै यसलाई केन्द्रीय समितिले समेत अनुकरण गरेको सभापति थापाले बताए । लगभग ५ दशकदेखि झापाको राजनीतिमा सक्रिय थापाले पार्टीका गतिविधिहरुलाई संस्थागत रुपमा अघि बढाउन क्षेत्रीय, गाउँ÷नगर र वडा पार्टी कार्यालय निर्माण भएको र केही निर्माणको प्रक्रियामा रहेको जानकारी दिए । झापा कांग्रेसमा १६ हजार बढी क्रियाशील सदस्य नविकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको जानकारी दिए ।


विगतको इतिहासलाई जोगाएर पार्टी संगठनलाई बलियो बनाउँदै आम निर्वाचन पछि मात्रै पार्टीको आन्तरिक महाधिवेशन गर्दा संगठनको हित हुने धारणा राखेका थिए । सहमति सहकार्य र एकताको नमूना झापाबाट प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै उनले विगतदेखि वर्तमानसम्मको नेतृत्वले कांग्रेसको संगठन बलियो बनाउन गरेको निष्ठा, त्याग र समर्पण सम्मानयोग्य रहेको धारणा राखे । अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरणका लागि समयमै महाधिवेशन अत्यावश्यक रहे पनि समय र परिस्थितिको मूल्याङ्कन गर्दै संघ, प्रदेश र स्थानीय निर्वाचनपछि महाधिवेशन गर्नु कांग्रेसको हितमा हुने धारणा राखेका थिए । प्रेस युनियन झापा अध्यक्ष इन्दू पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका उपसभापतिद्वय राम कट्टेल र देवी राजवंशी, पूर्व उपसभापति देउमान थेवे, सचिवद्वय प्रेम सम्बाहाम्फे र ताराबीर कट्वाल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्री, कांग्रेस झापाका पूर्वसचिवत्रय भगिरथ पोद्दार र भक्ति सिटौला, दयानन्द गोस्वामी, नेपाल महिला संघ झापा सभापति सुशीला ढकाल, १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेती, कमल गाउँपालिकाका सभापति खगेन भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here