पथरीशनिश्चरे,

पूर्वी मोरङको पथरीशनिश्चरे नगरभित्रका शारीरिक अपाङ्ता भएका व्यक्तिका लागि सहयोगी सामग्री वितरण गरिएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन र नगरपालिकाको सहकार्यमा अपाङ्ता रोकथाम तथा पुन: स्थापना कार्यक्रमअन्तर्गत सहयोगी सामग्री वितरण थालिएको हो ।
जनप्रतिनिधिको उपस्थितिमा वडा नम्बर १, २ र ३ को वडा कार्यालयबाट ती क्षेत्रका व्यक्तिका लागि सामग्री वितरण गरिएको हो । वडा नम्बर १ मा ५ जना, २ मा ५ जना र ३ मा ८ जनालाई सामग्री वितरण भएकोछ । ह्विल चियर, वैशाखी, टवाइलेट चियर, सेतो छडी, ट्राइसाइकल, वाकर, एल स्टीक, ट्राइपोड स्टीक, कान सुन्न सहयोगी मेसिन लगायतका सामग्री वितरण भएका हुन् ।

उक्त अवसरमा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, १ नम्बर वडाध्यक्ष बाबुराम एङदेन, २ नम्बर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ३ नम्बर वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ ,करुणा फाउण्डेशनका उमेश कुँवर, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, समुदायमा आधारित पुन: स्थापना सहजकर्ता समेतको सहभागिता रहेको थियो ।































