नेतृत्व गर्ने व्यक्तिहरुमा आचरणको परिवर्तन भएन्–सिटौला

0
630

लक्ष्मी उप्रेती,मेचीनगर ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले यो मुलुकमा विभिन्न कालखण्डमा अनेक प्रकारका राजनीतिक परिवर्तन भएपनि नेतृत्व गर्ने व्यक्तिहरुमा आचरणको परिवर्तन नभएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार झापाको मेचीनगरस्थित बाहुनडाँगीमा आयोजित कार्यक्रममा बोल्दैं पूर्व उपप्रधान तथा गृह मन्त्री रहनु भएका सिटौलाले अब हरेक व्यक्तिमा संस्कार, आचारण,बानी व्यहोरामा परिवर्तनको खाचो औल्याउनुभयो ।

लामो संघर्ष र वीर शहीदहरुको बलिदानीबाट यो मुलुकको राजनीतिक परिवर्तन भएको स्पष्ट पादैं नेपाली काँग्रेसका पूर्व महामन्त्री सिटौलाले सघर्षको सफलता पछि देशमा परिवर्तन भए पनि नेतृत्व गर्ने व्यक्तिहरुको आचारण र संस्कारमा परिवर्तन नभएकै कारण यो मुलुक र मुलुकवासीले अनेक खालका समस्या व्यहोर्नु परेको बताउनुभयो ।

हिजो राज्य परिवर्तनका लागि सघर्षमा उत्रिनेहरुलाई दलबाट बाहिर राख्ने प्रवृतिले हरेक शहिद परिवारमा निराशा पैदा भएको उहाँको आरोप छ । अहिले हरेक रजनीतिक दलमा धनाढ्य व्यक्तिहरुको हालीमुहाली चल्ने र यसले गर्दा पार्टीका लागि सर्वस्व दिने कार्यकर्ताहरुमा नैराश्य पैदा हुने नेता सिटौलाको भनाई छ । यसकारण पनि राजनीतिक परिवर्तन भए झै हरेक व्यक्तिहरुले इमान्दारपुर्वक संस्कार र आचरणमा पनि परिवर्त गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पार्टीको १४ औं महाधिवेशनका बारेमा बोल्दैं नेता सिटौलाले पार्टीभित्र अनेक खालका विवाद भए पनि महाधिवेशनको विकल्प नरहेको बताउनुभयो । नेपाली काँग्रेसभित्रको विवाद आफ्नै घरभित्रको आन्तरिक झगडा भएकाले यसलाई मिलाएर अघि बढ्न उहाँले जोड दिनुभयो । पार्टीका नेता र कार्यकर्तालाई चिढ्यिाएर पार्टी मजवुत नहुने भन्दैं उहाँले अब पार्टीले हरेक क्षेत्रका विभिन्न विधाका मानिसलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।

अहिले नेपाली काँग्रेसको नेतृत्वमा सरकारले भए पनि नेपाली जनताले खासै ठूलो अपेक्षा नराखेको भन्दैं नेकपा एमाले नेतृत्वमा रहेको सरकारको भन्दा यो सरकारले फरक काम गरेर जनतालाई सरकार छ भन्ने अनुभूति गराउनु महत्वपूर्ण काम रहेको उहाँको भनाई थियो । अहिलेको सरकारले आम नागरिकका लागि कोभिड विरुद्घको खोप सहजरुपमा उपलब्ध गराउनु, अस्पतालमा औषधि, वेड, आइसियू, भेन्टिलेटर अक्सिजन सजिलै उपलब्ध गराउनु नै मुख्य काम रहेको बताउनुभयो ।

कम्यूनिष्ट सरकारले आफ्नै नेतृत्वमा चुनाव गराउने सोच बनाएको र निर्वाचनको परिणाम आफ्नै पक्षमा पार्ने सपना देखे पनि त्यो पुरा नभएको भन्दैं नेपाली काँग्रेस नेतृत्वको सरकारले कम से कम चुनाव गराउन सफल बनोस बनेर उहाँले शुभकामना समेत दिनुभयो ।

कम्यूनिष्टहरुले चुनावताका एउटा कुरा गर्ने र नेतृत्व हात पारेपछि अर्के कुरा गर्ने परिपाटीले नेपाली जनता आजित भइसकेको भन्दैं अब काँग्रेसले जे बोल्छ त्यही गरेर देखाउने वेला आएको उहाँले बताउनुभयो । हरेक कुरामा प्रतिस्पर्धा हुने भन्दैं नेता सिटौलाले एकतालाई ध्यानमा राखेर काम गरे कुनै समस्या नहुने उहाँको तर्क थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here