‘द्रौपदी अवशेष’ पढेपछि

0
862

पचासको दशकदेखि नेपाली साहित्यमा सक्रिय देखिन थालेकी नीलम कार्की निहारिका साठीको दशकदेखि आख्यानमा हाम फालेकी हुन् । कविताबाट आख्यानसम्म आउँदा उनी आख्यान मै रमाइन र आख्यानमै स्थापित बनिन् । २०७४ मा योगमायाका लागि मदन पुरस्कार प्राप्ति पश्चात उनको ख्याती ह्वात्तै बढ्न पुग्यो । आख्यानतर्फ ‘अर्की आइमाई’, ‘चीर हरण’ उनका चर्चित सिर्जनाहरु हुन् । सर्वोत्कृष्ट डायस्पोरिक महिला लेखक २०७० बाट उनको अर्की आइमाई छनोट हुन पुग्यो । उनले चीर हरणको लागि पद्मश्री पुरस्कार पाइन् । २०७८ को उनको अर्को सांस्कृतिक उपन्यास ‘द्रौपदी अवशेष’ हो ।

२०७८ सालमा तयार पारिएको नीलम कार्की निहारिकाद्वारा लिखित सांस्कृतिक उपन्यास सांग्रिला बुक्सले प्रकाशकको रुपमा बजारमा ल्याएको छ । यसको प्रमुख वितरक सम्पूर्ण किताब रहेको छ । टाइम्स क्रिएसनको आवरणमा प्रथम संस्करण २०७८ बैशाख रहेको पुस्तकले अर्को सनसनी मच्चाउने निश्चित छ । इतिहासको ‘पुनर्जागरण र संस्कृतिको हस्तान्तरण पनि सर्जकको दायित्वभित्र पर्छ’ भन्ने मान्यता राख्ने नीलम कर्णालीको सुदूर उत्तरी जिल्ला हुम्लामा पुग्छिन् । अनि कारुणिक कथाको लिपि उतार्छिन् द्रौपदी अवशेष मार्फत । बहुपती प्रथाका मुख्य गरेर दुई रुपहरु छन् । त्यसमध्ये सन्सारबाट विलुप्त, दूर्लभ र प्राचीन तथा महाभारतकालीन द्रौपदी (बहुपती) वैवाहिक प्रथा हुम्लाको उत्तरी क्षेत्रहरूमा अझसम्म पाइनु धेरैकालागी अचम्मको कुरा हो । नीलम त्यहाँका गाउँमा जान्छिन्, बस्छिन्, धेरै जनासँग सम्पर्क स्थापित गर्छिन् । त्यस प्रथासँग गाँसिएका पात्रहरुका मनोदसा मज्जाले अध्ययन गर्छिन् र एक उपन्यासको सिर्जना गर्छिन् । त्यही हो द्रौपदी अवशेष ।

बहुपति वैवाहिक पद्धति अनुसार दाजुभाइहरुबीच पुस्तौंदेखि घर नछुट्टिने हुनाले पर्न गएको आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक जटिलताभित्र उपन्यासले डुबुल्की मार्न पुगेको छ । धेरै दाजुभाइ हुँदाको अवस्थामा कान्छो भाइले जेठो दाजुले विवाह गरेकी भाउजुलाई नै पत्नी स्वीकार्नु पर्दाको मनोविज्ञानिक अवस्था के होला ? झन्डै आमा उमेरकी महिलालाई पत्नी स्वीकार्नु एउटा पक्ष त छदैछ । अर्कोतिर कुन भाइका सन्तान कुन हुन ? भन्ने अनुत्तरित कुराले मन चिमोटेको पिडाद्वारा पाठकको हृदय पनि दुख्न पुग्छ । तुम्लिङ्खर्कको हिमाली चियामात्र कहाँ हो र छ्याङ्गको स्वाद पनि मज्जाले अनुभव गर्न पाइन्छ । चौरीका लस्कर, घोडचढी, घोडेटा बाटाहरु, हिउँ परेर घरभित्र बन्द जनजीवन बुझ्न मद्दत पुग्छ । ग्रामिण परिवेसभित्र पीडा र दुःखका गीतहरुले डाँडा–काँडा गुञ्जेको र त्यहाँको भाषा, लयसँगै तुँवालो अनि सिरेटोको लयले मितेरी लगाएको देख्न सकिन्छ द्रौपदी अवशेषमा ।

गाउँमा मुखिया केन्द्रित न्याय प्रणाली, भाग्यवादी मनोभाव, गरिबी र अशिक्षाको भुङ्ग्रोभित्र दिनानुदिन पिल्सिएको नेपाली समाजको कारुणिक कथाको विस्तारित रुपहो द्रौपदी अवशेष । घटनाहरुको कारणको रुपमा केन्द्रीय भागमा बहुपती द्रौपदी विवाह पद्धति उभिएको खुलासा भएको छ । स्थानीय नेपाली भाषाको उच्चतम् प्रयोगले जिवन्तता दिएकै छ । तर, यसले कुराकानीको सूक्ष्म अध्ययन गर्न पाठकहरुलाई कतै– कतै कठिनाई उत्पन्न हुन सक्छ ।
यो उपन्यास यथार्थमा आधारित छ । पात्रहरु र तिनको बोलिचालीमा स्थानीयताको सुगन्ध पाइन्छ । बिकासे योजनामा हुम्ला गएका दिग्विजयको रुपमा निहारिकाले हुम्लाका कान्ला कान्ला घुमाउँछिन् तथा जडान क्षेत्र (च्याङ) र खसान क्षेत्र (रोङ)को भौगोलिक अवस्था समेत बुझाउन सक्षम हुन्छिन् । खसानरुपी खोच र जडानरुपी तिब्बती पठ्ठारको भौगोलिक समायोजनले बनेको कर्णालीको भू–बनोटमा यात्रागर्न मज्जाले पाइन्छ द्रौपदी अवशेषमा । लिमी उपत्यका, हल्जी गुम्बा र कैलास दर्शन गर्न बाहिरी जिल्लाबाट आउने मानिसहरुको लस्करमा मिसिएर लाप्चाको मनमोहक दृश्य मात्र देखिन्न मानसरोवरमा समेत स्नान गर्न सकिन्छ पुस्तकमा ।

आकास छोएर उभिएको सेताम्मे कैलास अनि काखमा सुतेको नीलो सरोवरबाट नजर हटाउनै नसक्ने अवस्थामा पाठकहरु पुग्छन् । यस हिसाबले उपन्यासलाई कर्णाली र हुम्लाको एक कुहिरोभित्र लुकेको भूगोलको अध्ययन समेत भन्न मिल्छ । प्राचिन आध्यात्मिक भूगोलको केन्द्र सुमेरु पर्वतलाई ब्रह्माण्डको मेरुदण्डको रुपमा लिइने भएकोले पनि महाभारत युद्धपछि पाँच पान्डवहरु स्वर्गजाँदा यसै क्षेत्र हुँदै गएको भन्ने जनविश्वास छ । यसलाई द्रौपदी प्रथाले पुष्टि गरेको तथा द्रौपदी अवशेषले बहुपति प्रथाको अवशेषको रुपमा बुझाउन सक्षम भएको छ । द्रौपदी विवाह प्रथा रहेको उक्त स्थानका मानिसहरु भने द्रौपदी प्रति अनभिज्ञ रहेको कुरा स्वयम् लेखककै ‘म आएँ’ पृष्ठबाट सजिलै बुझ्न सकिन्छ ।

कोभिड आतङ्कको बिचमै २२७ पृष्ठको ब्याख्या र केही थप पृष्ठहरु रहेको पुस्तकको सिर्जना आफंैमा चुनौतिपूर्ण त छदैछ । उत्तरी हुम्लामा रहेको दूर्गम गाउँ र त्यहाँका जनजाती बिशेषमा रहेको उक्त प्रथाको हँुबहु प्रतिबिम्ब देखाउन सफल समेत छ । ४४८ रुपैयाँ मूल्य रहेको उक्त आख्यानले कोभिडको कारण भएको निषेधाज्ञाको समयमा राम्रै खुराकको काम गर्दछ । समय बिताउन मात्र होइन हाम्रै समाजमा रहेको अपत्यारिलो सत्य बुझ्न पनि सहयोग गरेको अनुभव यो पंक्तिकारको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here