
अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण भट्टराई अमेरिका बसोबास गर्दै आएको करिब एक दशक पुग्न लाग्यो । हाल उनी क्यालिफोर्निया राज्य स्थित सानफ्रान्सिस्को बे एरियामा बसोबास गर्दै आएका छन् ।
इलामको फाकफोकथुम–२, कोल्बोटेमा २०३५ साल पौष १४ गते स्वर्गीय बुबा भानुभक्त र यशोदाको कोखबाट माइलो सुपुत्रको रूपमा जन्मिएका भट्टराई अमेरिका पुगेको शुरुका वर्षमा विभिन्न निजी संस्थाहरुमा काम गरे । त्यसपछि २०७४ देखि सानफ्रान्सिस्को सिटी कलेजमा कार्यरत छन् । अमेरिका पुगेपछि काम पाउन र दाम कमाउन भट्टराईले धेरै संघर्ष गर्नुप¥यो । अंग्रेजी भाषाको उनीसँग ज्ञान भएको हुँदा आत्मविश्वास र काम प्रतिको इच्छाशक्तिका कारण पछि फर्केर हेर्नु परेन । अगाडि बढ्न भट्टराईलाई केही सहज भयो । उनी भन्छन्– ‘अमेरिकामा काम प्रति अत्यन्तै सम्मान छ, कसैले सानो वा ठूलो काम भनेर भेदभाव गर्दैन ।’
जति उच्च पदमा काम गर्ने मानिसहरु छन् । जो कोही पनि प्रायः तल्लो स्तरबाट नै कामको थालनी गरेका भेटिन्छन् । एउटा कम्पनीको सिइओ होस् अर्थात् सिटीको मेयर वा राष्ट्रपति नै किन नहोस् जीवनमा कुनै दिन उसले रेस्टुरेन्टको वेटर वा कफी सपमा कुनै काम गरेकै हुन्छ । उनका अनुसार कामको सम्मान गर्ने यहाँको संस्कारकै कारण काम गर्दा कुनै हिनताबोध नभएको बताउँछन् । भट्टराईले पनि रेस्टुरेन्टबाट नै काम शुरु गरेका थिए । किन अमेरिका निक्कै छिटो विकसित भयो होला ? भन्ने सवालमा सायद यहाँ कामको सम्मान भएर नै चाँडो विकासले फड्को मारेको हुनसक्नेमा उनी विश्वस्त छन् । सीप सिक्ने जाँगर भएको मानिसले काम सजिलै पाउने र आर्थिक उन्नति गर्न सक्ने उनको अनुभव छ ।
अमेरिकामा थोरै या धेरै पैसा कमाइ गर्नेको जीवनशैलीमा खासै फरक छैन । हरेक विलासिताका सामान सबैले समानरूपमा सहजै उपभोग गर्न पाउने वातावरण भएको उनी बताउँछन् । अमेरिकामा स्थापित हुन सबैलाई त्यति सहज नभएको र भाषाको ज्ञान, काम प्रतिको लगनशिलता अनि काम सिक्न धैर्यता हुनुपर्ने उनको बुझाइ छ । हचुवाको भरमा विदेश भासिने प्रवृत्तिले पक्कै दुःख निम्त्याउन सक्छ ।
नेपालमा पनि कामको सम्मान गर्ने संस्कारको विकास भए रोजगारी कै निमित्त विदेशिनु नपर्ने उनको विचार छ । थोरै पढ्ने र दक्षता बिना ठूलो जागिरको अपेक्षा गर्ने नेपालीको मुख्य समस्या हो, अनि सानोतिनो नोकरीमा प्रवेश गर्न नचाहनाले हामी पछि परिरहेको उनी बताउँछन् । नेपालमा व्यावसायिक बन्नेतर्फ चासो कम छ, तर अमेरिकामा भने माथिल्लो तहको शिक्षा हाँसिल गरेर समय खेर फाल्नुको सट्टा हाइस्कूल वा कलेज सकेपछि नोकरी गर्न र व्यावसायमा प्रवेश गर्न थाल्दछ्न् । साथमा राज्यले विना भेदभाव योग्यता अनुसारको काम गर्न सबैलाई मौका दिएको पाइन्छ । तर, नेपालमा अलिक फरक परिवेश भएको उनको गुनासो छ ।

‘शिक्षा र रोजगारीको क्षेत्रमा राजनीतिकरण नभइदिएको भए, सायद म पनि विदेशिने थिइन् होला’ –उनले भने । सबैले आफूले चाहेको क्षेत्रमा राजनीतिक भेदभावरहित वातावरणमा रोजगारी र व्यावसायिक उन्नतिको अवसर पाउने भए म जस्ता धेरै युवा विदेश जानु नपर्ने चिन्ता व्यक्त गर्दछन् । उनको विदेश बस्नु रहर र बाध्यता दुबै हो । तर, आफ्नो मुलुक छोडेर विदेशिनु आफंैमा प्रिय भने कदापि ठान्दैनन् ।
भट्टराईको शैक्षिक र साहित्यिक यात्रा
शिक्षण पेशामा आवद्ध भएका उनका बुबाको जागीर जता हुन्थ्यो त्यत्तै पढ्दै जाँदा साना कक्षाको उनको पढाई धेरै विद्यालयमा बिताउनु प¥यो । उनले २०५१ सालमा आदर्श माद्यामिक विद्यालय इलामबाट प्रथम श्रेणीमा एसएलसी पास गरेपछि महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामबाट स्नातकतह पार गरे ।
त्यसपछि उच्च शिक्षा अध्ययनको लागि उनी काठमाडौं छिरे । त्रिभुवन विश्वविद्यालयबाट २०६० सालमा अङ्ग्रेजी साहित्यमा एमए सम्मको अध्ययन पूरा गरि काठमाडौँका विभिन्न कलेजमा अध्यापन शुरु गरे । पछिल्लो समय २०६४ देखि २०६९ सम्म वीरेन्द्र सैनिक महाविद्यालयमा र भक्तपुरको कलेजमा समेत शिक्षण पेशामा आवद्ध रहे । त्यहाँ रहँदा वार्षिक मुखपत्र ‘सल्लाघारी’नामक पत्रिकाको प्रमुख सम्पादक भएर काम गरेका थिए ।
यसअघि इलाममा स्नातकतह अध्ययन गर्दैगर्दा २०५७ सालमा उनले साहित्यिक यात्रा शुरु गरेका थिए । इलाम क्याम्पसमा पहिलो पटक ‘क्रिएटिभ भ्वाइस’ नामको अंग्रेजी साहित्यिक भित्ते पत्रिकाको सम्पादन मण्डल थिरबहादुर बुढाथोकी, राजेन्द्र रिजाल लगायतका सहयात्रीसँग काम गरे ।
उनका पिता लामो समयसम्म शिक्षण पेशा पश्चात् अवकाश जीवन बिताउँदा साहित्य सिर्जनामा सक्रिय थिए । उनकै प्रेरणाबाट सानो उमेरदेखि नै उनले पनि साहित्य र समाजसेवामा विशेष रुची राख्ने गरेको बताउँछन् ।
प्रत्येक मानिसका लागि जन्म दिने बुबाआमा सबैभन्दा महत्वपूर्ण हुन्छन् । त्यसैले बुबाआमाको नाममा स्थापित संस्था मार्फत नेपाली साहित्य, संगीत र समाज सेवामा आफू पनि समर्पित रहने उनले बताए । अमेरिकामा बसेर अहिले नेपालका चार्डपर्व, रीतिरिवाज, साहित्य, कला र संस्कृति प्रति उत्तिकै मोह भएको बताउँछन् । नेपाली गीत–संगीत सुन्ने, अंग्रेजी न्यूजभन्दा नेपाली न्यूज बढी हेर्ने गर्दछन् । आफ्नै देशको यादले नेपालमै भए जस्तो उनलाई महशुस हुन्छ । विदेशमा बसेर मुटुमा आफ्नो देशलाई राख्ने अनि काममा दौडने उनको अहिले दिनचर्या चलेको छ । आफू जन्मेको देशमा देखिएका बेथितिले कहिलेकाही मन पोल्छ । तर, गर्न केही सकिँदैन तैपनि साहित्य सिर्जनाले पोलेको मनलाई शितलता दिन साहित्य सिर्जना र गीत रचना गरेको उनको भनाइ छ ।
उनको रचनामा भर्खरै ‘यसपालिको तीज’ नामको गीत इलामकै संगीतकार कमल भट्टराईको संगीत र मेलिना राईको स्वरमा तीज गीत यशोभानु साहित्य संगीत प्रतिष्ठानको अफिसियल युट्युब च्यानल एचएण्डएच इन्टरटेट्मेन्ट मार्फत सार्वजानिक गरिएको छ । तीज पर्वमा देखिने विकृति र विसंगति प्रति सम्पूर्ण महिला वर्गमा सचेतना जगाउने उद्देश्यले रचना गरिएको उनले बताए ।
सानो उमेरदेखि नै गीत–संगीत, कथा, कविता रचनामा विशेष रुची राख्ने भट्टराईका हालसम्म दुईवटा गीत रेकर्ड भएका छन् । पहिलो गीत चर्चित गायिका अस्मिता अधिकारीको स्वर, डेनी निरौलाको संगीतमा बनेको सदाबहार गीत ‘बितेका दिन छुटेको माया’को रचना गरेका थिए भने दोश्रो तीज गीत मेलिना राईको स्वरमा रहेको छ । दुवै गीतका म्युजिक भिडियो सार्वजानिक भएका छन् । यो सँगै उनका समसामयिक लेख÷रचना तथा कविता नेपालबाट प्रकाशित दैनिक पत्रिका अन्नपूर्ण पोस्ट, अनलाइन पत्रिका, साहित्य पोस्ट, सेतोपाटी, नेपाल नाम्चा लगायत अनलाइन पत्रिकामा प्रकाशन भइरहेका छन् ।
अंग्रेजी र नेपाली दुवै भाषामा कविता लेखनमा सक्रिय भट्टराई क्यानाडाको पार्कल्याण्ड पोयेट्स सोसाइटीको सदस्य छन् र सक्रियरुपमा कविता लेखन र वाचनमा समेत संलग्न छन् । पार्कल्यान्ड पोयेट्स सोसाइटीको वार्षिक पत्रिका ‘आउटलेइङ्ग वोइस’मा गत वर्ष अमेरिकामा प्रहरीको जातीय हिंसाको सिकार भएर मारिएका जोर्ज फ्लोइडको सम्झनामा उनले लेखेको कविता ‘द फल अफ ह्युम्यानिटी’ प्रकाशित भएको थियो ।
उनले स्वर्गीय बुबा भानुभक्त र आमा यशोदाको नाममा यशोभानु साहित्य संगीत प्रतिष्ठानको स्थापना गरिएको जानकारी गराएका छन् । उक्त संस्थाले ‘भानुभक्त भट्टराई स्मृति पुरस्कार’को स्थापना समेत गरेको छ । वार्षिक रुपमा प्रदान गरिने उक्त पुरस्कार यसवर्ष नेपाली साहित्यकारको विश्व सञ्जालले आयोजना गरेको ‘१५६औं मोती जयन्ती अन्तर्राष्ट्रिय गजल प्रतियोगिता २०७८’ मा प्रथम र द्वितीय हुने प्रतियोगीलाई प्रदान गर्ने निर्णय गरिएको उनले बताए ।
सम्पूर्ण इलामे साहित्यकारलाई सिर्जनाको एउटै मालामा जोड्ने प्रयत्न स्वरुप ‘कविताको क्यानभासमा इलाम’ कविता संग्रह प्रकाशन गर्ने निर्णय गरिएको र कविता संकलनको काम शुरु गरिएको उनको भनाइ छ । संग्रहलाई स्व.भट्टराईको वार्षिक पुण्यतिथिमा एक कार्यक्रम गरी सार्वजनिक गरिने भएको छ । हरेक क्षेत्रमा योगदान गर्ने लक्ष्य राखेको यस संस्थाले कोभिड संकटमा इलाम उद्योग वाणिज्य महासंघको अगुवाईमा ‘इलामका लागि इलामे’ अभियानमा आर्थिक सहयोग पनि प्रदान गरेको जनाइएको छ । अमेरिकामा ज्यान नेपालमा मनसँगै इलामे भट्टराईको जीवन चलिरहेको छ । जो जहाँ पुगे पनि आखिर आफ्नो प्यारो जन्मभूमिप्रति माया गर्दै विपत्तिमा नेपालीलाई सहयोग गर्न पछि नपरौं भन्ने उनले उद्देश्य राखेका छन् ।

























