नेपाली कांग्रेस १४औं महाधिवेशन: झापासहित ३८ जिल्लामा तोकियो निर्वाचन प्रतिनिधि

0
707

झापा ।

नेपाली कांग्रेसले आसन्न १४औं महाधिवेशनका लागि ३८ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ ।

भदौ १८ गतेदेखि हुने कांग्रेसको १४औं महाधिवेशनका लागि ३८ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रवार ३८ जिल्लामा निर्वाचन प्रतिनिधि तोकेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । कांग्रेसको सबै भन्दा तल्लो तह वडा तहको अधिवेशन १८ गतेका लागि निर्धारित छ ।

झापामा सुवोधवावु सिलवाल केन्द्रीय प्रतिनिधि तोकिएका छन् । साविक मेची अञ्चलका इलाम बाहेक तीन जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिएका हुन् । ताप्लेजुङमा तिलक पाण्डे, पाँचथरमा मदन खड्का केन्द्रीय प्रतिनिधि तोकिएका हुन् । इलाममा भने पार्टीले केन्द्रीय प्रतिनिधि तोकेको छैन ।

निर्वाचन समितिका अनुसार समितिले तोकेका प्रतिनिधिहरुसँगै ति जिल्लाका क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ । ‘जिम्मेवारी पाउनु भएका प्रतिनिधिहरूलाई सम्बन्धित जिल्लाको क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ, केही अझै बुझ्ने क्रममा नै हुनुहुन्छ’– निर्वाचन समितिका सचिव श्रेष्ठले भने ।

कांग्रेसमा केही जिल्लाका सभापतिहरू भने सदस्यताको सूची सार्वजनिक गरिनुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छन् । पार्टी नेतृत्वले भने जिल्ला सभापतिको माग नसुनी निर्वाचन प्रतिनिधि तोकेर सदस्यताको सूचीसहित प्रतिनिधि जिल्ला पठाएको हो

महाधिवेशन प्रक्रियामा देखिएको समस्या समाधान गर्न पहल

नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने भएको छ ।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शुक्रवार बसेको संस्थापन इतर समूहको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै काँग्रेस नेता डा मीनेन्द्र रिजालले महाधिवेशनका लागि देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवासँग छलफल गर्ने जानकारी दिए ।

अधिवेशन प्रक्रियामा केही व्यवहारिक कठिनाइ आएका छन्, उक्त कठिनाइलाई समाधान गर्नुपर्छ, जिल्ला सभापतिले राखेका मागलाई समेत नेतृत्वले गम्भीररुपमा लिनुपर्छ– उनले भने । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री सिंह, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. शेखर कोइराला, डा. रिजाललगायत उपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here