इक्यान झापाद्वारा २५औं वार्षिकोत्सवमा बालआश्रममा सहयोग

0
574

बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आइतबार सामाजिक काम गर्दै २५ औं वार्षिकोत्सव मनाएको छ ।

झापाको बिर्तामोड–४ मा रहेको नमस्ते बाल आश्रममा खाद्यान्न तथा खेलकुद र शैक्षिक सामग्री प्रदान गर्दै इक्यान झापाले रजत महोत्सव मनाएको हो । इक्यान झापाका अध्यक्ष सुमन शर्मा जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा इक्यान झापाका उपाध्यक्ष मिलन ओली, सचिव मदन बुढाथोकी, कोषाध्यक्ष राज कार्की, अतिरिक्त विभाग प्रमुख अनिल सापकोटा, रियल वल्र्डका सञ्चालक राज मुखियाले इक्यानले शिक्षाका क्षेत्रमा विभिन्न काम गर्दै आएको बताए । उनीहरुले आश्रमका बालबालिकालाई इक्यानको तर्फबाट गर्ने शैक्षिक सहयोग निःशुल्क रुपमा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

इक्यानले शैक्षिक परामर्शका साथै स्वदेश तथा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि जानकारीका साथै सहयोग गर्दै आएको छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष पाण्डेले झापामा इक्यानले सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै इक्यान झापाको प्रशंसा गरे ।

इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे

कोरोना कहरका कारण शैक्षिक परामर्श अन्तर्गत सञ्चालित कन्सल्टेन्सीहरु लामो समयदेखि बन्द हुँदा कन्सल्टेन्सी व्यवसाय धरासायी बन्न पुगेको झापा अध्यक्ष जमरकट्टेलले बताए । अनाथ आश्रममा रहेका बालबालिकालाई सहयोग गर्दै रजत महोत्सव मनाउन पाउँदा खुशी लागेको इक्यान झापाका सचिव बुढाथोकी बताए ।

आश्रममा दश बालक र आठ बालिका गरी १८ जना बालबालिका रहेका छन् । उनीहरुलाई इक्यान झापाले १५ हजार बराबरको खाद्यान्न तथा खेलकुद र शैक्षिक सामग्री प्रदान गरेको छ । आश्रममा रहेका बाललबालिकाहरु बिर्तामोडका विभिन्न निजी विद्यालयमा निःशुल्क रुपमा अध्ययन गर्दै आएको आश्रमका अध्यक्ष नारायण पोखरेलले जानकारी दिए ।

झापा, इलाम, तेह्रथुम, मोरङ लगायतका जिल्लाबाट ल्याइएका बालबालिकाहरु आश्रममा रहेका छन् । आमाबुबा नभएका तथा कोही आफन्त नभएका बालबालिकालाई आश्रमले पालनपोषण र उचित शिक्षादिक्षा दिँदै आएको अध्यक्ष पोखरेलले बताए । कार्यक्रमको सञ्चालन अतिरिक्त विभाग प्रमुख सापकोटाले गरेको इक्यान) झापाका प्रेस संयोजक नरेन्द्र ढकालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here