हाम्रो सन्दर्भमा शहर हुन फोहोर अनिवार्य हुन्छ । जब कुनै ठाउँ र बस्तीमा जनघनत्व बढ्न थाल्छ तब अव्यवस्था पनि क्रमशः बढेर जान्छ । हाम्रा बजारहरू त्यसरी नै शहरमा रूपान्तरित हुँदै जाँदा स्थानीयद्वारा उत्सर्जित फोहर त्यस ठाउँको पर्याय बन्दै गए । देशको राजधानी काठमाडौं आज पनि मानवजन्य फोहरले कुरूप छ र त्यसले उत्पन्न गरेको प्रदुषणले आक्रान्त छ । उसकै अनुशरण गर्दै विकसित अन्य शहरहरू झैं झापाको बिर्तामोड नगर क्षेत्र पनि मानव स्वास्थ्यका दृष्टिले बसोबासका लागि अनुपयुक्त बन्दै गएको छ । विकास केवल भौतिक पूर्वाधार र सेवाको उपलब्धता मात्र होइन त्यस ठाउँका बासिन्दाको स्वभाव, चरित्र र मानसिकतामा देखिने परिवर्तन पनि हो । तर, हामी कहाँ जति जति भौतिक पूर्वाधार र सेवा थपिँदै जान्छ त्यति त्यति आनीबानी र मानसिकता खुम्चिँदै गरेको छ ।

बिर्तामोड पूर्वी नेपालको सीमान्त जिल्ला हो । तराई प्रदेशको भारतसँग खुल्ला आवागमन हुने भएका कारण पनि यहाँको जनघनत्व बढी भएको हुनसक्छ । आर्थिक गतिविधि र कारोबारका हिसाबले पनि बिर्तामोड झापाको चर्चा बढी हुने नगर क्षेत्र हो र, यही बिर्तामोड मानव उत्सर्जित फोहरका कारण पनि चर्चामा छ । जनघनत्व बढेका कारण बिर्तामोड वरिपरिका खेतीयोग्य जग्गामा कंक्रिटका जङ्गल हुर्किएपछि ती जङ्गलबाट उत्सर्जित फोहर सडक, पैनी र खोलानालामा थुप्रिन थाले । परिणाममा फोहरको पहाड अग्लिँदै गयो । सड्ने फोहरले वायु प्रदूषण बढाउँदै लग्यो भने नसड्ने प्लाष्टिकजन्य फोहरले शहरको सौन्दर्यलाई कुरूप, भद्दा र विभत्स बनाउन थाल्यो । लामो समय जनप्रतिनिधिविहीन भएकाले बिर्तामोडको फोहर व्यवस्थापन गर्ने तर्फ सरोकारवाला निकायको ध्यान गएन र समस्या झनै अनियन्त्रित हुँदै गयो ।
केही समय अघि नगरपालिकाकै अगुवाइमा फोहर सङ्कलन गरिएको भए पनि दीर्घकालीन योजना नभएकाले प्रभावकारी हुन सकेको थिएन । यसैबीच बिर्तामोडको फोहरको योजनावद्ध व्यवस्थापन गर्ने जिम्मा नगरपालिकाले काठमाडौंको निराकार सरसफाई कम्पनीलाई दियो । उसले एक दुई हप्ता फोहर सङ्कलन पनि ग¥यो । तर, फोहर व्यवस्थापन गर्ने स्थायी ठाउँको अभावमा उसले पनि सङ्कलन कार्य नै बन्द ग¥यो । फोहर सङ्कलन र व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिकाको हो । तर, उसले डम्पिङ साइडको व्यवस्थापन गर्न सकेको छैन । हिजोसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको किनारमा खाल्डो खनेर सङ्कलित फोहर व्यवस्थापन गर्दै आएको थियो जुन दिगो विकास र दीर्घकालीन समाधानको प्रतिकूल थियो र छ । अहिले जिम्मा लिएको संस्थाले पनि व्यवस्थापनकै समस्याले उठाउन छाडेपछि बिर्तामोडका सडकपेटी दुर्गन्धित भएका छन् । अझ निरन्तरको वर्षाले फोहर कुहिएर भूमि, जल र वायु प्रदूषणले मानव स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको छ । नगरबासीको स्वास्थ्य रक्षाको दायित्व स्थानीय सरकारको हो । त्यसैले बिर्तामोडलाई सुन्दर बनाएर स्थानीयबासीलाई प्रदुषणबाट जोगाउन नेतृत्वले दीर्घकालीन समाधान खोज्नुपर्छ । अन्यथा बिर्तामोडलाई फोहरको पर्याय बन्नबाट रोक्न सकिँदैन ।



























