गोपिनीका वस्त्र चोर्ने कृष्ण भगवान !

0
1024

समय पनि कस्तो आयो ? कलियुग शुरु भएको केही हजार वर्ष मात्र हुँदैछ । मानिसले निकै घमण्डका साथ भगवान मान्दिनँ भन्न थालिसके । भगवानप्रतिको श्रद्धा र अस्था नै हराइसक्यो । सार्वजनिक धार्मिक कार्यक्रमहरुमा पुरोहित, पण्डितले टिका लगाइदिँदा ‘म लगाउँदिनँ’ भन्नेहरु भेटिन्छन् हिजोआज । यो सरासर आधुनिकताको खोक्रो अभिमान हो ।
मृत्युलोकमा हामी केही दिनका मात्र पाहुना हौं । हामी निश्चित अवधिका लागि अन्तैबाट आएका हौं, समय पुगेपछि अन्तै जानु छ भन्ने किन स्वीकार्नै सक्दैन मान्छे ? भनिन्छ कयौं जन्मपछि हामी मनुष्यको जीवन पाउँछौं । मनुष्य जीवन नै परमात्मासम्म पुग्ने एकमात्र अवसर हो । यो अवसर पनि मानिसले अहंकार, दम्भ, घमण्ड, रिस, मोह, लोभ, ईष्र्यामै बिताउँछ । भगवानलाई चिन्ने, भगवानसँग सम्बन्ध गाँस्ने प्रयत्न किन गर्दैन मान्छे ?

कलियुगमा मान्छेले खुब एकर्काको कुरा काटिरहेछन् । झैं–झगडा र कलहमा जीवन बिताइरहेका छन् । अरुको कुरा काटेर पुगेन, अब त भगवानलाई पनि बदनाम गराउन लागिपरेका छन् । भगवानका बारे अनेक हल्ला गर्छन् । भन्छन्– ‘भगवान कृष्णले गोपिनीका कपडा लुकाए अरे ।’ हुँदाहुँदा भजन नै बनाए– ‘गोपिनीका कपडा लुकाउने, यमुनामा बसेर ।’ अनि यस्ता हल्ला सुन्नेहरु भन्न थाल्छन्– ‘तिमीहरुका भगवान संस्कारहीन ! संस्कार त भगवानकै पालादेखि बिग्रेको रहेछ नि । केटीहरुका कपडा चोर्ने कस्ता भगवान ?’

जसले भगवान कृष्णका बारे पढ्ने समय निकाल्दैन । भगवानप्रति आस्था राख्दैन, विश्वास गर्दैन, सायद उसलाई भगवानबारे कुरा काट्न मजा आउँदो हो । कतिलाई थाह छ ? यमुना नदीमा स्नान गरिरहेका गोपिनीहरुको कपडा लुकाउँदा भगवान श्रीकृष्णको उमेर मात्र ५ वर्षको थियो । ५ वर्षको बच्चो कत्रो हुन्छ ? अनुमान गरौं न एकपटक । आफ्नो घरमा भएको ५ वर्षे बालकलाई हेरौं । ५ वर्षको बालकको दिमागमा स्त्री, पुरुष, काम, आकर्षण केही नै हुँदैन ।

भगवान त महान उद्देश्य बोकेर बेला–बेला धर्तीमा आइरहनुहुन्छ । विभिन्न लीला गर्नुहुन्छ । कपडा लुकाउने मात्र होइन, श्रीकृष्ण भगवानले अनेक बाललीला गर्नुभएको छ । प्रशंग कपडा लुकाउँदाको छ, भगवान श्रीकृष्णले त गोपिनीहरुलाई सावधान गराउनका लागि मात्र कपडा लुकाइदिनुभएको थियो । ‘आज त मैले लुकाइदिएँ । तर, यसरी कपडा छोडेर नुहाउन जाँदा कुनै दिन राक्षसले कपडा लगिदेला, असुरले अथवा कुनै दुष्ट मान्छेले लगिदेलान् । त्यसबेला तिमीहरुले नोक्सानी व्यहोर्नुपर्छ ।’ –गोपिनीहरुलाई भगवानले श्रीकृष्णले यही सन्देश दिनुभएको थियो ।

तर, मान्छेले यस प्रशंगलाई यति धेरै बिगारिदिए, कुनै सीमा नै छैन । विभिन्न प्रवचनहरुमा सुनिएको छ, हाम्रो भगवानको अपमान गर्ने हामी सनातनी आफैं हौं । अरुले गर्दैन यस्तो । कृष्ण जन्माष्टमी आउँदा कृष्णका चुट्किला बनाउँछन् मान्छे । ‘ट्रोल’ बनाएर उडाउँछन् । एउटा केटा कोही दुईवटी केटी साथीसँग हिँड्दैछ भने अथवा कसैका केटी साथीहरु बढी छन् भने उसलाई ‘कृष्ण बन्यो, कन्हैया बन्यो’ भन्छन् । केटीहरुसँग हिँड्ने, बोल्ने चाहिँ कृष्ण हो ? श्रीकृष्णलाई चिन्ने प्रयत्न किन गर्दैन मान्छे ?

आज कृष्ण जन्माष्टमी हो । भगवानप्रति जिस्किनेहरुका लागि यस महान पर्वका दिन हामीले श्रीकृष्णको छोटो परिचय दिने प्रयत्न मात्र गरेको हौं । कृष्ण त योगेश्वर हुन् । जसले महाभारत युद्धको मैदानमा अर्जुनलाई गीता सुनाए । कृष्ण त पूर्ण ब्रम्ह परामात्मा हुन् । भगवान विष्णुका अवतार हुन् । कृष्णले द्वापरयुगको अन्त्यमा जन्म लिएका थिए । सबैले बुझ्नेगरी भन्नुपर्दा त्रेतायुगमा राजा दशरथका पुत्र राम बनेर जन्म लिने पनि उनै थिए । कृष्ण निष्काम कर्मयोगी, आदर्श दार्शनिक, स्थितप्रज्ञ एवम् दैवी सम्पदाले सुसज्जित महान पुरुष थिए । कृष्णलाई युगकै सर्वश्रेष्ठ पुरुष, युगपुरुष, युगावतार भनिन्छ । महर्षि वेदव्यास कृष्णकै समकालीन हुन् । उनै वेदव्यासद्वारा रचित श्रीमद्भागवत र महाभारतमा कृष्णका चरित्र विस्तृत रूपमा लेखिएको छ । ‘गीता’ कृष्ण र अर्जुनको संवाद हो, जुन ग्रन्थ आज पनि पूरा विश्वमा लोकप्रिय छ । गीता पढ्न र अर्थ बुझ्नका लागि एकपटक महाभारत पढौं । भागवत सुनौं । नसके युट्युवमा भए पनि श्रीकृष्णका चरित्रहरु हेरौं ।

हिन्दू धार्मिक ग्रन्थहरुका अनुसार भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भएको पाइएको छ । यसरी हेर्दा श्रीकृष्णको जन्म कलियुगको प्रारम्भ भन्दा पाँचसय देखि एक हजार वर्षको बीचमा भएको अनुमान गरिएको छ । वसुदेव र देवकीका आठौं सन्तान हुन्, कृष्ण । देवकी कंसकी बहिनी थिइन् । कंस एक अत्याचारी राजा थियो । बहिनी देवकीको आठौं पुत्र (भानिज)ले आफ्नो हत्या गर्छ भन्ने आकाशवाणी सुनेको थियो कंसले । यसबाट बाँच्नका लागि कंसले देवकी र वासुदेवलाई मथुराको कारागारमा राखिदियो । कंसले आफ्नै पिता उग्रसेनलाई समेत कारागारमा राखेर आफैं राज्य सञ्चालन गरेको पढ्न, सुन्न पाइन्छ ।

भगवान श्रीकृष्णको जन्म भाद्र कृष्णपक्षको अष्टमीका दिन देवकीको गर्भबाट कंसकै कारागारमा भएको थियो । कंसले मारिदिने डरले राति नै पिता वासुदेवले नवजात शिशुलाई यमुना नदी पारी गोकुलमा यशोदा कहाँ लगेर छाडिदिए । राति कृष्णको जन्म समयमा कारागारका प्रहरीहरु गहिरो निद्रामा परेको र कारागारका ढोकाहरु आफैं खुलेको वर्णन पाइन्छ । गोकुलमा कृष्णको लालनपालन भयो । गोकुलमा यशोदा र नन्द श्रीकृष्णका मातापिता थिए ।

भगवान श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा अनेक बाल लीला रचेका थिए । कहिले घर–घर चहारेर नौनीघीउ चोरेर खान्थे त कहिले गोठालाहरुसँग वनमा गाई चराउन जान्थे । कहिले राधा, गोपिनीहरुलाई बाँसुरीको धुनले मख्खै बनाउँथे त कहिले माता यशोदालाई दिक्क पार्थे । बाल्यावस्थामै कृष्णले ठूला–ठूला कार्यहरु गरेका छन् । यी कार्य सामान्य मनुष्यका लागि सम्भव थिएनन् । जन्मेको केही दिनपछि कंसले कृष्णलाई मार्नका लागि गोकुलमा पुतना नाम गरेकी राक्षसीलाई पठायो । कृष्णले शिशु अवस्थामै पूतनाको बध गरे । त्यसपछि शंकटासुर, तृणावर्त जस्ता राक्षसको वध गरे ।

ठूलो भएपछि कृष्णले मथुरा गएर मामा कंसको बध गरे । कारागारमा रहेका आफ्ना मातापितालाई बाहिर निकाले । कंसका पिता उग्रसेनलाई समेत कारागारबाट निकाले । पछि उनले सौराष्ट्रमा द्वारिका नामको नगरी स्थापना गरेर राज्य सञ्चालन गरे । यो क्षेत्र अहिलेको भारतको गुजरातमा पर्दछ । भारतको सबैभन्दा पुराना सात सहरहरुमा द्वारिका पनि एक हो । कृष्णले धर्मका पक्षमा कैयौं युद्ध गरे । सुदर्शन चक्र उनको प्रमुख हतियार थियो, जुन उनको हातको चोरी औंलाबाट प्रकट हुन्थ्यो । कृष्णले अन्यायमा परेका पाण्डवहरुलाई मद्दत गरे । विभिन्न संकटमा उनीहरुको रक्षा गरे । महाभारत युद्धमा उनले अर्जुनको सारथीको भूमिका निभाए । र, रणक्षेत्रमै उनले अर्जुनलाई गीता उपदेश दिए ।

१२४ वर्षको जीवनकालपछि श्रीकृष्णले आफ्नो लीला समाप्त गरे । ग्रन्थहरुका अनुसार वनमा श्रीकृष्ण समाधिमा रहेका बेला जरा नामको एक शिकारी हरिणको शिकार गर्न आयो । हरिण ठानेर टाढाबाट उसले श्रीकृष्ण माथि बाण चलायो । बाण चलाइसकेर आफ्नो शिकार समात्न जाँदा योगमा भगवान श्रीकृष्णलाई देखेर उसले पश्चाताप गरेको बताइन्छ । त्यसबेला श्रीकृष्णले उसलाई आश्वासन दिएर परमधाम गए । अन्तरिक्षमा देवताहरुका राजा इन्द्र, अश्विनीकुमार, रुद्र, आदित्य, वसु, मुनि आदिले भगवानको स्वागत गरे । श्रीकृष्णको अवतार समाप्तिपछि कलियुग आरम्भ भएको मानिन्छ । कलियुग चौथो तथा अन्तिम युग हो । ग्रन्थहरुका अनुसार महाभारत युद्ध ३१३७ ईपू.मा भएको भयो । कलियुगको आरम्भ यस युद्धको ३५ वर्षपछि भयो ।

पुराणहरुका अनुसार कलियुगमा पनि भगवान विष्णुले ‘कल्कि’का रुपमा अन्तिम अवतार लिनुहुनेछ । मनुष्य जातिको उद्धार, अधर्मीहरुको विनाश एवम् धर्मको रक्षाका लागि भगवान विष्णुले कुनै न कुनै अवतारको रुपमा पृथ्वीमा जन्म लिनुभएको छ । पृथ्वीमा जन्म लिएको आधारमा विष्णुका २४ अवतार मानिन्छ । शास्त्रका अनुसार ती मध्ये मुख्य दश अवतार र बाँकी सहायक अवतारको वर्णन गरिएको पाइन्छ । कल्कि अवतारको जन्म कलियुगको अन्त्यतिर हुने बताइएको छ । त्यसपछि कलियुग समाप्त भइ पुनः सत्य युग प्ररम्भ हुनेछ । श्रीमद्भगवद गीताका अनुसार मनुष्यका हिसाबले कलियुग चा लाख ३२ हजार वर्षको हुनेछ । यसरी हेर्दा द्वापर युगको समाप्तिपछि कलियुग शुरु भएको पाँच हजार वर्ष मात्र भयो । अझै कलियुगको आयु चार लाख २७ हजार वर्ष बाँकी नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here