मैले लगाएको मास्क मेरै सुरक्षाका लागि

0
603

झापा, भद्रपुरका खनाल थरका एक व्यक्तिलाई कोरोना भाइरसविरुद्धको एक मात्रा खोप लगाएपछि संक्रमण भएर अस्पताल भर्ना गरियो । अस्पताल मात्र भर्ना गरिएन, आईसियु र भेन्टिलेटर गर्दै १९ दिन झापाको नाम चलेकै हस्पिटलमा राखियो । हस्पिटलको बिल मात्रै २५ लाखभन्दा बढी उठ्यो । तर, उनको ज्यान बचेन । नेपाल कै चर्चित अन्तर्राष्ट्रियस्तरकी कीर्तिमानी एक खेलाडीलाई दुबै मात्रा खोप लगाएपछि पनि कोरोना संक्रमण भएरै छोड्यो । धन्य, भगवानले हात थापिदिएकाले उहाँ संक्रमित भएर पनि सकुशल रहनु भयो ।

यी केही प्रतिनिधिमूलक घटना मात्र हुन् । खोप लगाएका मानिसमा पनि संक्रमण देखिने र मृत्यु नै भएका एक÷दुई होइन अनेक घटना छन् । रोग लाग्नुभन्दा रोग लाग्न नै नदिनु वेश हो । रोग लागेपछि शरीरले पाउने कष्ट–पीडा, परिवारजनले भोग्ने दुःख र लाग्ने खर्च हेर्ने हो भने रोग लाग्न नदिनु नै कता हो कता राम्रो । यो अवस्थामा कोभिडबाट जोगिने सबैभन्दा प्रभावकारी, सजिलो, सस्तो र वैज्ञानिक उपाय भनेको मास्क लगाउनु नै हो । छिन्छिन्मा साबुन पानीले हात धुनु वा सेनिटाइजरको प्रयोग गर्नु नै हो । यसले कोभिड बिरामीको सम्पर्कमा आए पनि तिनको थुक तथा ¥याललाई नाकसम्म आउन दिँदैन । कसैको शरीरमा रोग छ भने भाइरसयुक्त छिटा कम निस्की अरू संक्रमित हुने सम्भावना घट्छ ।

हातसम्म आइपुगेको भाइरस नाकमुखमा पस्न पाउँदैन । लक्षण नभएका व्यक्तिले पनि भाइरस सार्न सक्ने भएकाले मास्कले सबैलाई सुरक्षित राख्छ । आर्थिक गतिविधिहरू सहज हुन्छन् । कोभिड मात्र नभई अन्य हावाबाट सर्ने सरुवा रोग, धूलो, धुँवाबाट पनि बचिने भएकाले मास्क लगाउँदा शरीर स्वस्थ हुन्छ । साथीभाइ भेट्ने, कार्यालय जाने जस्ता क्रियाकलापमा सहभागी हुन मास्क लगाउँदा सहज हुन्छ, यसले सामाजिक जीवनलाई सूचारु गर्न पनि मद्दत गर्छ । तर, प्रहरीलाई देखाउनका लागि मात्र मास्क लगाउनेहरू टन्नै भेटिन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २३ देखि २९ सम्म देशभरि ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ नाराका साथ मास्क अभियान सञ्चालन ग¥यो । नागरिकहरूले मास्क लगाउन लापरवाही गरेकाले उनीहरूको व्यवहारमा परिवर्तन गर्न यो अभियान सञ्चालन भएको थियो । नेपाल मास्क अभियानकै बीचबाट सोही कार्यक्रमलाई सफल पार्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले मास्क बैंक कार्यक्रम सञ्चालनमा ल्याएर भद्रपुरमा लगातार १५ दिन निःशुल्क मास्क वितरण ग¥यो र आज पनि यो कार्य जारी नै छ । तर, मानिसहरू पुलिसका लागि मात्र मास्क लगाइदिएको जस्तो गर्छन्, पुलिस देखेपछि लगाउने नत्र मास्क नलगाउने । यसले आम नागरिक अझै मास्क लगाउनुपर्छ भन्नेमा सजग छैनन् भन्ने देखाउँछ । मास्क लगाइहाले पनि कतिपयले बोल्दा चिउँडोमा झार्छन्, साथीहरू भेट्दा खोलेरै गफ गर्छन्, कोही त अझै मास्क धोएरै लगाउँछन् । यी सबै कार्यले कोरोना संक्रमण हुनबाट जोगाउँदैन । ‘मैले लगाएको मास्क मेरै सुरक्षाका लागि हो’ भन्ने चेत अझै नागरिकमा आउन सकेको देखिएन ।

नागरिकहरूले मास्क लगाउन लापरवाही गरेकाले उनीहरूको व्यवहारमा परिवर्तन गर्न मास्क अभियान सञ्चालन भएको थियो । मास्क लगाउन उत्प्रेरित गर्ने उद्देश्यले रेडक्रस भद्रपुरले मास्क बैंक कार्यक्रम मार्फत निःशुल्क मास्क वितरण गरेको हो– जुन आज पनि जारी राखेको छ । यो अभियान सफल हुनु भनेको आम नागरिकमा मास्क लगाउने चेत आउनु नै हो । तर, नागरिकमा अझै चेतना पलाएको छैन भन्नुभन्दा पनि जान्ने बुझ्ने लालबुझक्कडहरू नै मास्क नलगाई खुलेयाम डुलिरहेका भेटिनु दुःखद् पक्ष हो । आफूलाई स्वास्थ्यकर्मी हूँ भन्ने महामहिमहरू नै मास्क गोजीमा बोकेर यात्रामा निस्केको टिठलाग्दो अवस्था मास्क वितरणका स्वयम्सेवकहरूले पटक–पटक भेटेका–भोगेका छन् । कतिपयले निःशुल्क मास्क वितरण कार्यक्रममा कुतर्क गरेर निराशा उत्पन्न गराएको तितो अनुभव पनि सँगाल्ने अवसर पाएको दृष्टान्त थुप्रै छन् ।

निषेधाज्ञा खुकुलो छ, बजारमा भीडभाड बढ्दो छ, आपसी भेटघाटमा हेलचेक्र्याइँ छ, कतिपयलाई ‘खोप लगाएको छु, सक्रमण हुँदैन’ भन्ने भ्रम छ । अथवा मास्क लगाउनुस्भन्दा आफूलाई होच्याएको ठान्नेहरू थुप्रै भेटिएका छन् । खोपको सफलता शतप्रतिशत नभएको उत्पादक कम्पनीहरूले बताइरहेका छन् । त्यसैले अहिलेको टड्कारो आवश्यकता नागरिकलाई मास्क लगाउन बानी पार्नु हो । खोप अभियानलाई मात्र होइन, मास्क अभियानलाई पनि तीव्रता दिनुपर्छ । ‘मेरो मास्कले तिमीलाई सुरक्षा दिन्छ, तिम्रोले मलाई’ नारालाई सरकारले नीति मै अवलम्बन गरेर तल्लो तहसम्म अभियानकै रूपमा लैजानुपर्छ ।

स्वास्थ्यको ख्याल गर्ने पहिलो दायित्व नागरिक स्वयम्को हो, त्यसपछि मात्र सरकारको । मास्क नलगाउनेहरूलाई जरिवाना नतिराउन र उभ्याएर नराख्न सर्वोच्च अदालतले २०७८ जेठ ४ मा अन्तरिम आदेश दिएको थियो । संविधानतः आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने व्यवस्था भएकाले विपन्न नागरिकका लागि मास्कको सहज आपूर्ति तथा निःशुल्क वितरणसमेतमा ध्यान दिनु भन्ने आदेश दिइएको छ । ट्राफिक प्रहरीले ‘मास्क खोइ ?’ भन्दै अभियान चलाउँदै छन । तर, यसको अपेक्षित प्रभाव आमजनतामा पर्न सकेको छैन ।

अभियानको प्रभाव कस्तो प¥यो भन्ने लेखाजोखा कागजमा त भएकै होला । तर, यसलाई व्यवहारमै सफल बनाउन चोक–चोकमा निःशुल्क मास्क वितरण गर्ने मास्क बुथ सेन्टरहरू बनाउनुपर्ने खाँचो छ । सबै स्वास्थ्य संस्थाबाट निःशुल्क मास्क वितरण गर्नुपर्छ । औषधि, उपकरण, परीक्षण तथा खोपमा अर्बौं खर्च गर्न वा ऋण लिन सक्ने सरकारले दुई रुपैयाँ पर्ने मास्कको उत्पादनका लागि लगानी गर्न किन कञ्जुस्याइँ ? नेपाल जस्तो गरीब मुलुकका लागि महँगो उपचार पद्धतिभन्दा सस्तो र सुलभरुपमा पाइने मास्क वितरण कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्ने उपाय राज्यले नीतिगत रूपमै अवलम्बन गरेर महामारीका विरूद्धको अभियान सञ्चालन गर्नुपर्छ ।

(गिरी नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति तथा मास्क बैंक कार्यक्रमका अभियन्ता हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here