३२ करोडको फलफूल आयात

0
725

मेचीनगर ।

मुलुकबाट फलफूलका लागि मात्र हरेक वर्ष ३२ करोड रुपैयाँभन्दा बढी बाहिरिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसले नेपाल फलफूलमा आत्मनिर्भर नभएको पुष्टि गर्ने सरकारी अधिकारीहरु बताउँछन् ।

नेपालमा व्यवसायिकरुपमा फलफूल खेती पर्याप्त मात्रामा गर्न नसक्दा नेपालले फलफूलका लागि परनिर्भर बन्नु परेको उनीहरुको भनाइ छ । गत आर्थिक वर्ष २०७७ ÷०७८ मा पूर्वी काँकरभिट्टा नाकाबाट मात्र ३२ करोड ९७ लाख ७६ हजार रुपैयाँ मूल्य बराबरका १६ प्रकारका ५ हजार ८ सय ४३ मेट्रिक टन फलफूल आयात भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७६÷२०७७ मा यो नाका भएर ९ हजार १ सय ८७ मेट्रिक टन फलफूल आयात गर्दा ३२ करोड ५६ लाख ५१ हजार रुपैयाँ विदेशिएको थियो । आर्थिक वर्ष २०७५÷ २०७६ मा २७ करोड १ लाख ३० हजार रुपैयाँको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकरभिट्टाका कार्यालय प्र्रमुख देविन्द्र साहूले जानकारी दिए ।

२०७६ को चैत २५ गतेसम्म काँकरभिट्टा नाका भएर सामान आइरहेपनि २६ गतेदेखि भारतसँग सीमा जोडिएको नेपालको पूर्वीनाका एकलौटी ढंगले पश्चिम बंगाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प थिए । चैत २६ देखि बैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प भएका कारण सवै सवारी साधन बन्द थिए ।

भारतका विभिन्न प्रान्तमा कोभिड –१९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्नै भारत लगायत तेस्रो मुलुकबाट विभिन्न सामान बोकेका मालवाहक सवारी साधनको आवतजावत शुन्य हुँदासम्म गत वर्ष भारीमात्रामा फलफूल आयात हुनुले नेपालमा वर्षेनि फलफूलको आयात बढ्दै गइरहेको अनुमान गर्न सकिने नेपाली सरकारी अधिकारीहरुको भनाइ छ ।

क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार अधिकांश ताजा फलफूल भारतबाट आयात गर्ने गरिएको छ । थोरै परिमाणमा चीनबाट समेत फलफूल आयात हुने गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । भारतबाट खासगरी स्याउ, आँप, केरा, मौसम, बयर, कागती, अंगुर, अनार, सुन्तला, भुइँकटहर, मेवा, तरबुजा, लिची, काँचो नरिवल, अम्बा नासपाती लगायतका फलफूलहरु नेपाल भित्रिने गरेको छ । चीनबाट स्याउ आयात हुने गरेको छ ।

काँकरभिट्टा नाकाबाट थोरै मात्रामा स्याउ आयात भएको भए पनि चीनको खासा हुँदै तातोपानी नाकाबाट दैनिक ३÷४ कन्टेनर स्याउ नेपाल भित्रिने गरेको व्यवसायी बताउँछन् । गत आर्थिक वर्ष २०७७ ÷०७८ मा पूर्वी काँकरभिट्टा नाका भएर भारत र चीनबाट १८ करोड ६४ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको २ हजार ९ सय १३ मेट्रिक टन स्याउ आयात भएको थियो ।

काँकरभिट्टा नाकाबाट फलफूलको विरुवाको आयात भने शुन्य छ । नेपालमा चाडपर्वको बेलामा फलफूलको माग बढ्ने गर्छ भने जुसको लागि समेत फलफूलको प्रयोग हुने हुँदा आयात बढ्न थालेको झापा मेचीनगरका फलफूल व्यवसायी विनोद सहनीको अनुभव छ ।

पछिल्लो समय आयस्रोतमा भएको वृद्धिसँगै नेपालीहरुले फलफूलको उपभोग बढाउँदै लगेका उनको भनाइ छ । कृषिप्रधान मुलुक भएपनि नेपालमा फलफूलको उत्पादन घट्दै जान थालेको र माग वा उपभोक्ताको संख्या बढ्दै जाँदा आयात ह्वात्तै बढ्न गएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here