कोरोना भाइरसः चीनको प्रयोगशालामा विकास गरिएको हो ?

0
647

अमृत शर्मा
विश्वभरि महामारी निम्त्याएको कोरोनाभाइरसको उत्पत्तिबारे अझै पनि धेरै प्रश्नहरु खडा भएका छन् । कोरोना भाइरस चमेराबाट स¥यो कि चीनको प्रयोगशालामा विकास गरियो ? भन्ने प्रश्नलाई धेरैले केन्द्रमा राखेर बहस गरिरहेका छन् । कोभिड–१९ सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर वुहान शहरमा देखा परेको थियो । चिनियाँ अधिकारीहरूले प्रारम्भिक सङ्क्रमण वुहानको समुद्री खानेकुरा पाइने बजारसँग जोडिएको बताएका थिए जसलाई आधार मान्दै अग्रणी वैज्ञानिकहरूले उक्त भाइरस जनावरबाट मानिसमा सरेको सैद्धान्तिक धारणा राखेका थिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसै वर्षको स्थलगत अध्ययनपछि उक्त भाइरस कुनै प्रयोगशालाबाट बाहिर आउने सम्भावना एकदमै न्यून रहेको टिप्पणी गरेको थियो ।
उक्त अध्ययनका सहभागी डब्लयूएचओका भाइरोलोजिस्ट मारियोन कुपमेन्सले अमेरिकी निकायहरूसँग कुनै थप सूचना भए उनीहरूले त्यो उपलब्ध गराउनुपर्ने बताए ।
तर अमेरिकी सञ्चारमाध्यमका पछिल्ला विवरणहरूमा उक्त भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएका प्रमाणहरू बढ्दै गएको र सम्भवतः दुर्घटनावश चुहिएको हुन सक्ने उल्लेख गरिएका छन् । यसबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गर्दै आएको छ ।
यसअघि अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड–१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका थिए । अमेरिकी सञ्चारमाध्यमहरूमा भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएका विवरणहरू आएका छन् ।
कोरोना भाइरस उत्पत्तिबारे कैयौँ प्रश्न अझै अनुत्तरित रहेको बताइन्छ । अमेरिकी जासुसी सूत्रहरूको हवाला दिइएका विवरणहरूमा सन् २०१९ को नोभेम्बर महिनामा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्यहरू बिरामी भएर अस्पताल भर्ना भएको उल्लेख छ ।
त्यो घटना चीनले नयाँ रोग समुदायमा देखा परेको स्वीकार्नुभन्दा कैयौँ साता पहिले भएको विवरणमा बताइएको छ ।
तत्कालिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट फैलिएको भन्ने भनाइ राखेका थिए । कैयौँ अमेरिकी सञ्चारमाध्यमले उनको दाबीलाई झुटो भनेका थिए । तर अहिले आएर सबैजना उनी सही थिए भन्दैछन् ।
डब्ल्यूएचओमा अझै पनि कोरोनाभाइरस प्रयोगशालाबाट चुहिएर फैलिएको हुन सक्ने आशङ्का विद्यमान भएको बलियो सङ्केत दिइएको छ । चीनमा भाइरसबारे अनुसन्धान गरिने प्रतिष्ठित वुहान इन्स्टिच््यूट अफ भाइरलजीको प्रयोगशालाबाट कोरोनाभाइरस फैलिएको हुन सक्ने आशङ्का गत वर्ष सुरु भएको थियो । त्यो आशङ्कालाई अमेरिकाका तात्कालिक राष्ट्रपति डोनल्ड ट्रम्पले अझ व्यापक बनाइदिएका थिए । अमेरिकी विदेशमन्त्रालयले दूतावासका अधिकारीहरूसँग गरेका कूटनीतिक पत्राचार वा केबलहरूमा उनीहरू चीनको वुहानस्थित भाइरस प्रयोगशालाले अपनाएको जैविक सुरक्षाका उपायलाई लिएर चिन्ता व्यक्त गरेका थिए । सो प्रयोगशाला कोरोनाभाइरसको पहिलो प्रकोप देखिएको शहरमै अवस्थित छ ।
यता विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुखले कोभिड–१९ को उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा अझ राम्ररी सहयोग गर्न चीनलाई आग्रह गरेका छन् । डा. टेड्रोस एड्हानोम गेहब्रेयससले त्यसका लागि थप पहुँच र पारदर्शिता आवश्यक भएको बताएका छन् । चीनको वुहानबाट कोरोनाभाइरस महामारी फैलिएपछि त्यसबारे डब्ल्यूएचओले थालेको पहिलो चरणको अनुसन्धान गत फेब्रुअरीमा सकिएको थियो ।
त्यति बेला डब्ल्यूएचओले कोरोनाभाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट फैलिएको हुन सक्ने सम्भावना अत्यन्त न्यून भएको बरु उक्त विषाणु सम्भवतः चमेरामा उत्पत्ति भएको हुन सक्ने निष्कर्ष निकालेको थियो ।
लामो समयपछि चीन प्रयोगशालाबाट कोरोनाभाइरस चुहिएको दाबी फेरि चर्चामा छ ।
कोभिड–१९ को उत्पत्तिबारे पारदर्शी छानबिन गर्न डब्ल्यूएचओलाई अमेरिकाको आह्वान पनि गरिरहेको छ । चीनले अघिल्लो अनुसन्धानका बेला डब्ल्यूएचओको टोलीलाई उक्त तथ्याङ्क उपलब्ध गराएको थिएन । उता चिनियाँ प्रयोगशालाबाट कोभिड–१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनले निन्दा गर्दै आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएका थिए । तर चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको आरोप लगाएको छ ।
कोरोना भाइरस जनावरबाट सरेको होइन, चीनको प्रयोगशालामा विकास गरिएको हुनसक्छ भनेर धेरैअघिदेखि शंका गरिँदै आएको थियो । यो प्रयोगशालाबाट नियोजित रूपले वा दुर्घटनावश समुदायमा फैलिएको ठान्नेहरू अझै पनि थुप्रै भेटिन्छन् । यसको पछाडि वैज्ञानिक आधार खोजी भइरहेको छ । गत वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सम्मेलनले महामारीको उत्पत्तिबारे पहिलो चरणको अनुसन्धान गर्न सहमति जनाएको थियो । उक्त अनुसन्धान सन् २०२१ को सुरूदेखि चीनमा जारी छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि महामारीको उत्पत्ति पत्ता लगाउने अभियानमा सहकार्य गर्न गत जेठ १२ गते आफ्ना अनुसन्धान निकायहरूलाई निर्देशन दिएका छन् । यसबारे ९० दिनभित्र रिपोर्ट बुझाउनू भन्ने अमेरिकी राष्ट्रपतिको निर्देशन छ । अस्ट्रेलिया, युरोपेली समुदाय र जापानले पनि यसबारे गहन अनुसन्धानको माग गर्दै आएका छन् ।
अधिकांश वैज्ञानिकहरू कोभिड महामारी फैलाउने ‘सार्स–सिओभी–२’ भाइरस प्राकृतिक रूपमै उत्पत्ति भएको र जनावरबाट मान्छेमा सल्केको विश्वास गर्छन् । यति हुँदाहुँदै प्रयोगशालामा विकास गरिएको हुनसक्छ भन्ने शंकालाई पनि नकार्न सकिँदैन । यसलाई पुष्टि गर्न धेरैले चीनको ‘वुहान इन्स्टिच्यूट अफ भाइरोलोजी’ नामक संस्थामा गहिरो छानबिन गर्नुपर्ने बताउँदै आएका छन् ।
विभिन्न प्रजातिका कोरोना भाइरसको अध्ययन–अनुसन्धान गर्ने यो संस्था चीनको वुहान सहरमै छ । वुहान त्यही ठाउँ हो, जहाँबाट कोभिड–१९ महामारीको सुरूआत भएको थियो ।
चीनले कोभिड–१९ महामारीसम्बन्धी धेरै सूचना सार्वजनिक नगर्नुले पनि शंकालाई बल पु¥याएको छ । उदाहरणका लागि, चिनियाँ सरकारले महामारीका सुरूआती दिनहरूमा यससँग सम्बन्धित महत्वपूर्ण जनस्वास्थ्य तथ्यांक लुकाएर राखेको थियो । यसअघि सन् २००२–०४ मा सार्स फैलिँदा पनि तथ्यांकहरू गोप्य राखिएका थिए ।
वैज्ञानिक खोजका नयाँ–नयाँ प्रतिवेदनहरू सार्वजनिक गर्ने र त्यसबारे समाचार लेख्ने अन्तर्राष्ट्रिय जर्नल ‘नेचर’ ले हालै कोरोनाको उत्पत्तिबारे लामो लेख प्रकाशन गरेको छ । उक्त लेखमा यो भाइरस चिनियाँ प्रयोगशालामा विकास गरिएको हुन सक्ने र हुन नसक्ने आधारहरू विस्तारमा वर्णन गरिएका छन् ।
‘नेचर’ का अनुसार यो भाइरस प्रयोगशालामा विकास गरिएको हो भनेर पुष्टि गर्ने उल्लेखनीय वैज्ञानिक आधार फेला परेको छैन । तै पनि वैज्ञानिकहरू किन यो कुरा बारम्बार उठाउँछन् त ? भन्ने अर्को प्रश्न खडा छ । वैज्ञानिकहरूसँग यो भाइरस प्रयोगशालामा विकास गरिएको होइन भनेर पुष्टि गर्ने आधार पनि केही छैन । जनावरबाट मान्छेमा सरेको हो भनेर प्रमाणित गर्ने पर्याप्त आधार पनि पाइएको छैन ।
धेरै सरूवारोग विशेषज्ञहरू सार्स–सिओभी–२ भाइरस प्राकृतिक रूपमै उत्पत्ति भएको हो भन्नेमा मोटामोटी सहमत छन् । यो चमेराबाट सिधै मानिसमा सरेको हुनसक्छ वा कुनै अर्को जनावरमा सरेर त्यसपछि मान्छेलाई संक्रमण भएको हुनसक्छ भन्ने उनीहरूको मत छ ।
विगतमा एचआइभी, इन्फ्लुएन्जा र इबोलादेखि सन् २००२ को सार्स र २०१२ मा फैलिएको मर्स लगायत अधिकांश सरूवारोग प्राकृतिक रूपमै उत्पत्ति भएको अनुसन्धाताहरूको भनाइ छ । उनीहरूले यो त्यसै भनेका होइनन् । प्राकृतिक उत्पत्तिको अवधारणालाई सहयोग गर्ने केही आधार छन् । चमेरामा प्राकृतिक रूपले नै कोरोना भाइरस हुन्छ भन्ने पुष्टि भइसकेको छ । चीनको दक्षिणी प्रान्त युनानमा पाइने चमेरामा पहिलोचोटि कोरोना भाइरस फेला परेको थियो । उक्त भाइरसको प्रकृति सार्स–सिओभी–२ सँग धेरै हदसम्म मिल्दोजुल्दो रहेको अनुसन्धाताहरूले पत्ता लगाएका छन् ।

यहाँ हामीले बुझ्नुपर्ने कुरा के छ भने, चमेरामा पाइएको र मानिसमा सल्केको कोरोना भाइरस दुवै शतप्रतिशत समान छैन । यी दुई भाइरसबीच ९६ प्रतिशत मात्र समानता छ । यसले देखाउँछ, जुन कोरोना भाइरस मानव समुदायमा फैलियो, त्योसँग सबभन्दा नजिकको नातेदार त्यही चमेरामा पाइएको भाइरस हो वा अर्कै कुनै छ भन्ने अहिलेसम्म प्रस्ट छैन । यसले कतै यो भाइरस प्रयोगशालाबाट सल्केको त होइन भनी शंका गर्ने आधार दिन्छ । हुन त प्रयोगशालाबाट निस्केका भाइरसले यति ठूलो महामारी कहिल्यै ल्याएको थिएन । तै पनि त्यसले महामारी ल्याउनै सक्दैन भन्ने चाहिँ होइन । यसअघि प्रयोगशालामा विकास गरिएको भाइरसले सानो स्तरको भए पनि सामुदायिक प्रकोप निम्त्याएको उदाहरण छ । सन् २००४ मा चीनमा एउटा घटना भएको थियो । त्यति बेला बेइजिङको भाइरोलोजी प्रयोगशालामा काम गर्ने दुई जना अनुसन्धाताहरू सार्स भाइरसबाट संक्रमित भएका थिए । सार्स रोगमाथि अनुसन्धान गर्ने क्रममा उनीहरूलाई त्यो भाइरस सल्केको थियो । ती दुई अनुसन्धाताबाट अन्य सात जनालाई संक्रमण भयो ।
यसरी कोरोना भाइरस प्रयोगशालाबाटै फैलिएको हो भनेर शंका गर्ने आधारहरूको चर्चा गर्न सकिन्छ । कोरोना भाइरसमाथि अनुसन्धान गरिरहेका वैज्ञानिकले जनावरबाट भाइरस संकलन गरेर प्रयोगशालामा राखेका हुन सक्छन् वा उनीहरूले प्रयोगशालाभित्रै यस्तो भाइरस विकास गरेका पनि हुन सक्छन्। अनुसन्धान क्रममै प्रयोगशालामा काम गर्ने व्यक्तिलाई दुर्घटनावश भाइरस सल्केको हुन सक्छ वा नियोजित रूपमा संक्रमण भएर महामारीका रूपमा फैलिएको हुनसक्छ । हुन त यी आधार पुष्टि गर्ने कुनै प्रमाण छैन, तर सम्भावना हुँदै नभएको होइन । सार्स–सिओभी–२ भाइरस प्रयोगशालामा विकास गरिएको शंका गर्नेहरूले मुख्यतया पाँचवटा तर्क दिन्छन् ।
पहिलो तर्क छ, महामारी सुरू भएको झन्डै डेढ वर्ष बितिसक्दा पनि यो भाइरससँग सबभन्दा नजिकको नातेदार कुनै जनावरमा फेला परेको छैन । यसको कारण के होला ?
दोस्रो, कोरोना भाइरस सबभन्दा पहिला चीनको वुहानमा भेटिनु र यो भाइरसमाथि अनुसन्धान गरिरहेको संस्था पनि वुहानमै हुनु के संयोग मात्र हो ?
तेस्रो, यो भाइरसमा केही यस्ता असामान्य गुणहरू छन्, जुन प्राकृतिक रूपले उत्पन्न भएको भाइरसमा विरलै हुन्छ। यस्तो असामान्य गुण प्रयोगशालामा कृत्रिम रूपले उत्पादन गरिएका भाइरसमा हुने सम्भावना बढी हुन्छ ।
चौथो, सार्स–सिओभी–२ भाइरस मानिसहरूमा यति सजिलै सर्छ, मानौं मानिसलाई संक्रमित पार्ने उद्देश्यले नै यसको विकास गरिएको होस् ।
पाँचौं, वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीका अनुसन्धाताले सन् २०१२ देखि २०१५ को बीचमा चीनको एक प्रयोगविहीन खानीमा बस्ने चमेराहरूबाट कोरोना भाइरसको नमूना संकलन गरेका थिए। त्यही नमूना प्रयोगशालामा ल्याएर उनीहरूले सार्स–सिओभी–२ भाइरस विकास गरेका त होइनन् ?
कुनै पनि महामारीको उत्पत्ति कसरी भयो भन्ने पत्ता लगाउन वर्षौं लाग्छ । कतिपय अवस्थामा त खास कारण कहिल्यै पत्ता लाग्दैन। सार्स रोग चमेरामा पाइने भाइरसबाट सल्केको हो भन्ने १४ वर्षपछि पुष्टि भएको थियो। इबोला भाइरस कुन जनावरबाट फैलिएको भन्ने अहिलेसम्म यकिन छैन । भाइरसको स्रोत थाहा पाउन वैज्ञानिकहरूले त्यो खास प्रजातिको भाइरस बोकेर हिँड्ने सही जनावर यकिन गर्नुपर्छ । यो सजिलो काम होइन। जनावरमा पाइएको भाइरसलाई मानिसमा पाइएको भाइरसको गुणसँग दाँजेर हेर्न पनि निकै गाह्रो हुन्छ । यस्ता कठिनाइका बाबजुद वैज्ञानिकहरूले कोभिड–१९ सुरू भएयता यसको उत्पत्ति पत्ता लगाउनमा केही सफलता पाएका छन् । दक्षिणी चीनको युनान प्रान्तमा पाइने चमेरामा भेटिएको कोरोना भाइरसको प्रकृति सार्स–सिओभी–२ सँग धेरै हदसम्म मिल्दोजुल्दो छ भन्ने वैज्ञानिकहरूको प्रतिवेदन त्यसैमध्ये एक हो । यो भाइरस सार्ने जनावर पत्ता लगाउन चीनका अनुसन्धाताले ८० हजारभन्दा बढी जंगली तथा घरपालुवा जनावर परीक्षण गरेका थिए । ती कसैमा सार्स–सिओभी–२ पोजेटिभ पाइएन । तर, यो संख्या चीनमा रहेका जंगली तथा घरपालुवा जनावरहरूको सानो अंश मात्र हो । भाइरस ओसार्ने जनावर यकिन गर्न अझै गहन अनुसन्धानको खाँचो भएको वैज्ञानिकहरू बताउँछन्। यस निम्ति संक्रमणको बढी सम्भावना भएका र मान्छेको सम्पर्कमा आएका जनावरलाई अरूबाट छुट्टयाउनुपर्नेछ । साथै, ती जनावरमा एन्टिबडी परीक्षण गरेर सार्स–सिओभी–२ संक्रमण भए–नभएको पत्ता लगाउन सकिन्छ ।
भाइरसमाथि अनुसन्धान गर्ने संस्थाले आफू वरिपरिका क्षेत्रमा पाइने भाइरसमा विशेषज्ञता हासिल गर्ने प्रयास गर्छ । वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीलाई कोरोना भाइरसको अनुसन्धानमा दक्ष मानिएको छ, किनभने चीनका विभिन्न क्षेत्रमा विभिन्न प्रजातिका कोरोना भाइरस पाइएका छन् । ‘जब कुनै ठाउँमा नयाँ रोगको प्रकोप फैलिन्छ, त्यहाँ वरिपरि त्यो प्रजातिको भाइरस अनुसन्धान गर्ने प्रयोगशाला हुने सम्भावना ९० प्रतिशत हुन्छ,’ रकी माउन्टेन ल्याबोरेटरिजका भाइरल विशेषज्ञ भिन्सेन्ट मन्स्टर भन्छन् । उनी आफ्नो कुरा पुष्टि गर्न एसियाको इन्फ्लुएन्जा प्रयोगशालादेखि ल्याटिन अमेरिकाको डेंगी भाइरस प्रयोगशालासम्मको उदाहरण दिन्छन् । यही आधारमा चीनको वुहानबाट कोरोना संक्रमण फैलिएकोमा वैज्ञानिकहरू आश्चर्य मान्दैनन् । एक करोड १० लाखभन्दा बढी जनसंख्या भएको वुहान यस्तो ठाउँ हो, जहाँ प्राकृतिक रूपले नै कोरोना भाइरस पाइएको छ । यहाँका विमानस्थल, रेल्वे स्टेसन र बजारबाट भाइरस संक्रमण हुने सम्भावना धेरै नै हुन्छ । सँगसँगै, वुहानबाट देशका विभिन्न स्थानमा वन्यजन्तु ओसारपसार हुने भएकाले कोरोना भाइरस संक्रमणको सम्भावना बढी छ ।
सार्स–सिओभी–२ भाइरस प्रयोगशालामा विकास गरिएको हो कि होइन भन्नेबारे थुप्रै अनुसन्धाताले खोजी गरिरहेका छन्। यस्तो अनुसन्धान गर्ने पहिलो टोलीको नेतृत्व क्यालिफोर्नियाका भाइरोलोजिस्ट क्रिश्टियन एन्डरसनले गरेका थिए । उनले कोरोना भाइरस प्रयोगशालामा विकास गरिएको हो भनी प्रमाणित गर्ने विशिष्ट आधार नभएको ठहर गरेका छन् । यद्यपि आधारै नभएका भने होइनन् ।
केही व्यक्तिले भने सार्स–सिओभी–२ भाइरस मानव कोषमा सजिलै प्रवेश गर्न सक्ने हुँदा यो गुण प्रयोगशालामै विकास भएको हुनसक्ने शंका गरेका छन् । यही प्रजातिका अन्य कोरोना भाइरसमा यस्तो गुण नभएको उनीहरूको भनाइ छ । वैज्ञानिकहरू भने यसमा सहमत छैनन्। धेरै खालका कोरोना भाइरसमा मानव कोषभित्र सजिलै प्रवेश गर्ने गुण भएको उनीहरूको भनाइ छ । खासगरी रूघाखोकी गराउने भाइरस पनि सजिलै मानव कोषमा प्रवेश गर्ने वैज्ञानिकहरू बताउँछन् । (एजेन्सीहरुको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here