रोकिएन मानव तस्करी : आठ महिनामा १६ महिलाको भारतबाट उद्धार

0
790

नरेन्द्र ढकाल,बिर्तामोड ।

कोरोना संक्रमणको समयमा समेत मानव बेचबिखनका घटना नरोकिएको माइती नेपालले जनाएको छ ।

माइती नेपालका प्रदेश १ संयोजक गोविन्द घिमिरेले विभिन्न बहानामा चेलीहरुलाई तस्करहरुले बेच्नेक्रम अझै नरोकिएको बताए ।  उनका अनुसार सन् २०२१ को जनवरीदेखि अगष्ट महिनासम्ममा बेचिएका १६ जना महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएको छ ।

सोही अवधिमा ३० जना महिला तथा किशोरीलाई बेचिनबाट रोकिएको छ । सोही अवधिमा ३० जना महिला हराएको र जसमध्ये १४ जना महिला फेला परेको प्रदेश १ संयोजक घिमिरेले जानकारी दिए । पछिल्लो समय घरेलु हिंसाका घटनामा वृद्धि भएको माइती नेपालले जनाएको छ ।

प्रदेश १ मा मात्रै १४ वटा घरेलु हिंसा सम्बन्धी उजुरी माइती नेपालमा परेको प्रदेश संयोजक घिमिरेले बताए । सन् २०२० मा भारतका विभिन्न स्थानबाट ३६ जना महिलाको उद्धार गरिएको थियो । जसमध्ये २१ जना महिलाको मणिपुरबाट उद्धार गरिएको थियो भने अन्य १५ जनाको भारतका विभिन्न जिल्लाबाट उद्धार गरिएको माइती नेपालको तथ्यांकमा उल्लेख गरिएको छ ।

सोही अवधिमा एक सय १५ जना महिलालाई सीमा क्षेत्रबाट रोकेर घर फर्काइएको जनाइएको छ । सन् २०२० मा ५५ जना महिला हराएका थिए भने १८ जनामात्रै फेला परेका थिए । मानव बेचबिखनमा सक्रिय गिरोहले रोजगारी लगाइदिने बहानामा किशोरीहरुलाई बेचबिखन गर्ने र उनीहरुलाई यौनधन्दामा लगाउने गरेको पाइएको माइती नेपालले जनाएको छ ।

झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी तथा देशका विभिन्न भागबाट महिला तथा किशोरीलाई विभिन्न प्रलोभनमा पारी पूर्वीनाका काँकरभिट्टा तथा विराटनगरको जोगमनी लगायतका नाकाबाट भारत पुर्याउने गरेको माइती नेपालले जनाएको छ । प्राकृतिक विपत्ति तथा विभिन्न समस्यामा परेका महिलाहरुलाई सहजरुपमा मानव तस्करहरुले प्रलोभनमा पार्ने गरेको प्रदेश संयोजक घिमिरेले बताए ।

यसैबीच मानव बेचबिखनमुक्त समाज हाम्रो प्रतिबद्धता, सबैको प्रयास र ऐक्यबद्धता भन्ने नाराका साथ आइतबार मानव बेचबिखन तथा ओसार–पसारविरुद्धको १५औं राष्ट्रिय दिवस मनाइएको छ । सन् २०२० मा काठमाडौंमा भएको दक्षिणा एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको ११औं शिखर सम्मेलनले महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धिलाई २०६३ सालको भदौ २० गते तत्कालीन प्रतिनिधि सभाबाट अनुमोदन गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ । प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसार–पसारको प्रकृति र स्वरुपमा पनि परिवर्तन आएको माइती नेपालले जनाएको छ ।

पहिले भारतका प्रमुख शहरहरु हुँदै तेस्रो देश लगेर मानव बेचबिखन गर्ने गरेकोमा पछिल्लो समय तस्करले नयाँ बाटो र गन्तव्य मार्फत बेचबिखन गर्ने गरेको पाइएको जनाइएको छ । प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँगको सीमा क्षेत्रमा कडाइ गर्न थालेपछि बेचबिखनको नयाँ शैली प्रयोग थालिएको छ ।

अहिले भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड, इन्डोनेशिया लगायतका मार्गबाट मानव तस्कर हुने गरेको पाइएको हो । मानव बेचबिखनका लागि इन्टरनरेट र मोबाइल फोनमा उपलब्ध हुने नयाँ–नयाँ एप्सको समेत प्रयोग गरेर प्रहरीले मानव बेचबिखनमा संलग्नहरुलाई नियन्त्रमा लिन थालेको प्रहरीले जनाएको छ ।

सोहीक्रममा माइती नेपाल प्रदेश १ ले झापासहित विभिन्न सीमावर्ती जिल्लामा चेतनामूलक कार्यक्रम गरेको प्रदेश संयोजक घिमिरेले बताए । उनले झापाको बाहुनडाँगी र इँटाभट्टा क्षेत्रमा १५ देखि २६ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरुलाई कानूनी शिक्षा सम्बन्धी प्रशिक्षण प्रदान गर्दै यो दिवस मनाइएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here