घुर्बिसे पञ्चमी बजार व्यवस्थापन समितिमा टीकाराम

0
793

युद्धबहादुर बोहोरा ,पाँचथर । 

नयाँ घुर्बिसे पञ्चमी बजार व्यवस्थापन समितिको छैटौं तदर्थ समितिको अध्यक्षमा टीकाराम सम्बाहाम्फे लिम्बूसहित नौ सदस्यीय समिति गठन गरिएको छ ।

दुई जिल्लाको सिमावर्ती क्षेत्रमा अवस्थित बजारको उन्नति, प्रगति तथा थप व्यवस्थित गर्नलाई बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा ज्येष्ठ अभिभावक कृष्णबहादुर सम्बाहाम्फेको अध्यक्षतामा बजारबासीको भेलाले समिति चयन गरेको हो । समितिको उपाध्यक्ष वीरबहादुर चेम्जोङ, सचिव घनेन्द्र चेम्जोङ, सहसचिव राकेश नेम्बाङ, कोषाध्यक्ष तेजबहादुर चेम्जोङ(तेजु) रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा राम रहपाल, रमा खनाल भट्टराई, रिता महते र युवराज चेम्जोङलाई रहेका छन् ।

कार्यक्रममा उपस्थिति अतिथि तथा बजारबासीले नवगठित समितिलाई कार्यसफलताको शुभकामना दिएका छन् । नवनिर्मित समितिका अध्यक्ष सम्बाहाम्फे लिम्बूले आगामी दिनमा सबैको साझा बजार बनाउन र भावनात्म्क एकता कायम राख्न पहल गर्ने प्रतिबद्धता जनाए ।

दुबै जिल्लाका स्थानीय तहसँग समन्वय गरी बजारको अल्पकालीन र दिर्घकालीन विकासको खाका तयार गर्ने साथै बजारलाई सु–व्यस्थित गर्न अधिकतम् प्रयास गर्ने बताएका छन् ।

शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासनसँग सदैव सहकार्य गर्ने र विगत केही वर्षदेखि दर्ता निस्क्रिय भई अवैधानिक अवस्थामा रहेको बजारलाई समय अवधिभित्र वैधानिक प्रक्रियामा लैजान जिल्ला प्रशासन कार्यलयमा आवश्यक कदम चाल्दै तदर्थ समितिले अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको समितिका सचिव चेम्जोङले जानकारी दिए ।

घुर्बिसे बजारको परिचय

समुन्द्री सतहबाट एक हजार नौ सय ५० मिटरको उचाईमा रहेको यो बजार दुबै जिल्लाको निकै चर्चित व्यापारिक केन्द्रको रूपमा परिचित छ ।

गाई–बस्तुले घाँस खानमा प्रयोग हुने पहाडमा पाइने घुर्बिस नामको बोटहरुले ढाकेको यो ठाउँ विक्रम सम्वत् १९८६ सालदेखि पाक्षिक रुपमा पञ्चमी तिथिको दिन हटिया लाग्ने भएकाले घुर्बिसे पञ्चमी नामाकरण रहन गएको स्थानीय वृद्धहरु बताउँछन् ।

यो बजार द्वन्द्वकालको समयपछि प्रत्येक महिनाको १३ र २९ गते हटिया लाग्दै आएको छ । पछिल्लो समयमा कोरोना महामारीका कारण ठप्प बनेको बजारमा आजभोलि सामान्य चलपल शुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here