सहअस्तित्व स्वीकार गर

0
753

नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तबाट निर्देशित छ । त्यसो त विश्वभर एक अर्काको स्वतन्त्र अस्तित्वको सम्मान गर्ने नीति अङ्गीकार गरिएको छ । यसकै आधारमा देश–देशका बीच दौत्य एवम् मैत्री सम्बन्ध स्थापित भएका छन् । भूगोलले देश ठूला–साना हुन सक्छन्, जनसंख्या र आर्थिक स्रोत र गतिबिधिले भिन्न हुन सक्छन् तर स्वतन्त्रता, सार्वभौमसत्ता र अस्तित्वका हिसाबले सबै समान छन् । त्यही सिद्धान्तलाई आत्मसात गरेर संयुक्त राष्ट्रसंघले सबै सदस्य राष्ट्रलाई समान अवसर, महत्व र अधिकार दिएको छ । यस अर्थले नेपाल सानो भइकन पनि छिमेकी वा मित्र देशहरूका माझ समान हैसियत राख्छ । अनि पनि हाम्रो तीन तिर सीमाना जोडिएको भारत होस् वा उत्तरबाट जोडिएको चीन नै होस् यदाकदा सीमानाको विषयमा विवादित बन्ने गरेका छन् । त्यसमा पनिना भौगोलिक समानताको लाभ उठाउँदै स्रोत र साधनले ठूलो भारतले अनेक ढङ्गले अतिक्रमण गरिरहन्छ ।

पश्चिम नेपालको विकट भू–भागका जयसिंह धामीको जोखिम मोलेरै तुइनबाट नदी तर्ने क्रममा ज्यान गयो । प्रत्यक्षदर्शीले भारतीय सुरक्षाकर्मीले तुइन काटी दिँदा धामीको नदीमा खसेर मृत्यु भएको बताएका छन् । तुइनबाट नदी तर्नु त्यसक्षेत्रका बासिन्दाको बाध्यता हो । त्यो बाध्यतामा मानवीय नाताले सहयोग गर्नुपर्नेमा भारतीय सुरक्षाकर्मीले तुइन नै छिनाइदिएर दानवता प्रदर्शन गरे । एक त मानवताको सेवा जीवनको सर्वोच्च कार्य हो त्यसमाथि समान धर्म, संस्कृति र परम्पराले हाम्राबीच प्राचीनतम् सम्बन्ध छ । भारतीय पक्षबाट भएको यो र यस्ता अक्षम्य अपराधहरू हाम्रा राजनीतिक दल र तिनका नेताहरूको ‘खाईजीबिका’को बाटो बन्ने गरेको छ । सत्तामा रहँदा चुपचाप बस्ने र बाहिर हुनासाथ त्यसैलाई सिँढी बनाउने व्यवहार नौलो होइन । आफूलाई ठूलो ठानेर भारतले मेचीदेखि महाकालीसम्मका सीमा क्षेत्रमा बराबर अतिक्रमण गरेको छ । अन्तराष्ट्रिय कानून, मूल्य र मान्यताबिपरीत सुरक्षाकर्मीको प्रवेश, हवाई गस्ती, त्यहाँका राजनीतिक दलका नेता तथा कर्मचारीको अमर्यादित अभिव्यक्ति दिएर भारतले स्वतन्त्र र सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने गरेको छ ।

भारतीय पक्षको बारम्बार यस्तो हेपाह प्रवृत्तिकाविरूद्ध विप्लव माओवादीले इलाममा प्रदर्शन गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल क्रान्तिकारी र युवा सङ्गठन नेपालले शनिबार इलाममा आयोजना गरेको प्रदर्शनपछि आयोजित सभाका वक्ताहरूले भारतको हेपाह प्रवृत्तिविरूद्ध जस्तोसुकै संघर्ष गर्न तयार रहेको चेतावनी दिए । उनीहरूले देशको स्वाधीनताको रक्षा र जनताको हितका निमित्त वलिदान गर्न पनि पछि नपर्ने बताए । वक्ताहरूले जिल्लाका पालिकाहरूमा अनियमितता र भ्रष्टाचार व्यापक भएको भन्दै भ्रष्टहरूलाई ठेगान लगाउने चेतावनी दिए । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका इलाम इञ्चार्ज सुमन सिंह र सचिव मौसमले पनि बेथिति र भ्रष्टाचारविरूद्ध संगठीत हुन आम जनसमुदायलाई आह्वान समेत गरेका छन् । त्यसो त भारतको हेपाह व्यवहार नौलो होइन । समय समयमा त्यसविरूद्ध नेपालीले संघर्ष गर्दै आएका पनि छन् । तर, देशको प्रतिनिधि संस्था सरकार र त्यसको नेतृत्वबाट प्रभावकारी प्रतिवाद गर्न नसक्दा भारतले मर्यादा र सीमा अतिक्रमण गरेको हो । उसले हेक्का राख्नै पर्छ कि प्रत्येक राष्ट्रको स्वतन्त्र अस्तित्व हुन्छ र यस अर्थमा कोही ठूलो सानो हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here