जहाज चढेर गएको छोरो बाकसमा फर्कंदा…

0
546

लक्ष्मी उप्रेती ।

‘कालो बादल नीलो आकाशमा,
गएँ आमा चढेर जहाजमा, फर्कँे बाकसमा’

रमेश बिजीको यो गीत आइतबार झापा मेचीनगरवासीले एक पटक सम्झिए । गायक रमेशले भने झैं सात पूरा गरेर आठवर्ष लागेछ, झापा मेचीनगरका ५२ वर्षीय उपेन्द्रमणि भुजेल जहाज चढेर रोजगारका क्रममा मलेसिया पुगेको । यतिका वर्षपछि छोरो आउने आशामा बसेको भुजेल परिवारले गएको भदौ १४ गते एकाएक नसोचेको पीडा व्यहोर्नु पर्यो ।
गएदेखि एकपटक पनि घर नफर्किएका उपेन्द्रको २०७८ भदौ १४ गते रोजगारीका क्रममा मलेसियामा निधन भयो । मृत्यु भएको ६ दिन पछि उपेन्द्र काठको बाकसमा स्वदेश फर्किए आफन्तलाई रुवाउँदै । १९ गते विहान ७ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव आइपुग्ने पक्कापक्की भएपछि झापाबाट शव लिनका लागि उनको परिवार काठमाण्डौं पुगेको थियो । शव ल्याउने खवरले बिहानैदेखि उनको घरमा मानिसको ओहोरदोहोर बाक्लै थियो । मध्यरातमा निजी निवासमा उपेन्द्रको शव ल्याइपु¥याउँदा सिङ्गो गाउँ भावविह्वल बन्यो । हुन त उपेन्द्रको गएको अगष्ट १७ तारीख नेपाल फर्किने टिकट थियो । तर, उनको स्वास्थ्यमा समस्या भएपछि उनी नेपाल आउन पाएनन् । अन्ततःउनको विदेशमै ज्यान गयो ।

विदेश गएको छोरो बाकसमा कैद बनेर फर्किँदा परिवार र आफ्न्तले आफूलाई थाम्न सकेनन् । कोही बाकसमा हेर्दै उनीप्रति श्रद्घाञ्जली व्यक्त गरिरहेका थिए भने कोही परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै थिए । कोही त्यही बाकसमा अंगालो हालेर सुमसुम्याउँदै डाँको छोडिरहेका थिए । मृत्यु भएको झण्डै एकसातापछि उपेन्द्रको शव गाउँमा आउदा गाउँ नै शोकाकुल भएको छ ।

खाउँखाउँ–लाउँलाउँ उमेरको छोरो हास्दैँ रमाउँदै सवैजनासंँग बिदा मागेर गएको अचानक बाकसमा फर्किँदा बाबु वीरबहादुरको मन थामिएको छैन । उनकी आमाको आँखा घटना सुनेदेखि ओभाएका थिएनन् । ‘सबैसँंग बिदा मागेर चाँडै आउने भन्दै गएको छोरो अब कहिल्यै नआउने गरी विदा भयो’– बाबु वीरबहादुरले भने– ‘हामीले त कल्पना पनि गरेका थिएनौं, यस्तो पीडा व्यहोर्नु पर्छ होला भन्ने ।’ धन कमाउन विदेश गएको छोरो काठको बाकसमा फर्केपछि उनको परिवारमा यतिखेर निक्कै ठूलो चोट परेको छ । कमाउन हिँडेको छोरोको लास बाकसमा फर्किँदा कुन आमाको मन थामिएला कल्पना पनि गर्न सकिँन्न । झापा मेचीनगर—६ काँकरभिट्टाको तल्लो भानुटोल निवासी भुजेल मलेसियामा सुरक्षा गार्डका रुपमा ८ वर्षदेखि कार्यरत् थिए । अस्ली सेक्यूरिटी सर्भिस क्वालाल्मपुरमा उपेन्द्र कार्यरत् थिए ।

एकसातादेखि भुजेल परिवारको घरको चुल्हो बल्न छाडेको थियो । गाउँ स्तब्ध र शोकमग्न थियो । सिङ्गो परिवार र गाउँले छोराको शवको प्रतिक्षामा थिए । बाकसमा उनको शव आउँदा सारा गाउँलेमा रुवाबासी मच्चियो । सोच्दै नसोचेको पीडा यतिखेर भानुटोलले व्यहोर्दै छ । छोराका मृत्युको खवर सुनेदेखि भुजेल परिवारको घरको चुल्होमा आगो बलेको छैन् । उपेन्द्रकी पत्नी हरिमायासहित ज्येष्ठ्य माता पिताका आखाबाट आशु रोकिएको छैन ।

आजभन्दा झण्डै आठवर्षअघि पैसा कमाउने, छोराछोरीलाई धेरै पढाउने उद्देश्यले उपेन्द्र मलेसिया पुगेका थिए । तर बिडम्बना उनको हृदयघातका कारण भदौ १४ गते मलेसियामा मृत्यु भयो । मध्यम वर्गीय परिवारमा जन्मेका उपेन्द्रले नेपालमा बस्दासम्म निक्कै संघर्ष गरे । कहिले सार्वजनिक सवारी साधनको सहचालक बने त कहिले सानो पसलसम्म चलाए । तर, यसबाट उनको घरको सवै गर्जाे टर्ने अवस्था नभएपछि उनी विदेश भासिए ।

आफ्नो घरको आर्थिक समस्या कम गर्न पैसा कमाउन विदेश पुग्ने सबै नेपालीहरु भाग्यमानी हुँदैनन् । कतिले राम्रैसंँग पैसा कमाएर फर्कन्छन् भने कतिले बिदेशी भूमिमा आफ्नो ज्यान गुमाउनु पर्ने हुन्छ । यस्तै एक प्रतिनिधि पात्र हुन् उपेन्द्र । वैदेशिक रोजगारीका लागि गएका उपेन्द्र अब कहिले नफर्किने गरी बिदा भए । उनका १ श्रीमती १ छोरा र १ छोरी रहेका छन् । यी सँगै बाबुआमा समेत बृद्घावस्थाका छन् । भाइबुहारीसहित उनी संयुक्त परिवारमा बसोबास गर्दै आएका थिए ।

उनका छोरा उत्सव भुजेल काठमाण्डौमा चार्टर एकाउण्डेण्ट गर्दै छन् भने छोरी उषा भुजेल अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनरत् छिन् । सामान्य आर्थिक अवस्थाका कारण बिदेशिएका उपेन्द्रको निधनले घरपरिवारमा ठूलो क्षति पुगेको छ । छोराछोरी पढाउने हुर्काउनेदेखि बृद्घावस्थाका सासू ससुराको रेखदेखदेखि घरबार खर्च चलाउने जिम्मा अब उनकी श्रीमती हरिमायाको काँधमा आएको छ । स्वर्गीय उपेन्द्रको आइतबार स्थानीय मेची नदीमा अन्त्येष्टि गरिएको छ । देश रेमिटेन्सले नै चलेको छ । बार्षिक रुपमा आउने खर्बौ रुपैयाँ बराबरको रेमिटेन्स कै कारण अहिले देश धानिएको छ तर विदेश जाने र देश चलाउने ती युवाहरु भने रातो बाकसमा फर्कन पर्नुपर्ने बाध्यता छ ।

स्वदेशमा सुख नपाएर दःुख गर्न विदेश पुगेका उनीहरु त्यहाँ पनि कम संघर्ष गर्न बाध्य छैनन् । हरेक युवाहरुको चाहना रोजगारीका लागि विदेश जानु नपरोस् भन्ने नै हुन्छ । अब देशले बैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक छ ता कि कुनै युवाहरुले विदेशमा आफ्नो ज्यान गुमाउनु नपरोस् । विदेशिएका युवालाई सकुशल स्वदेश फर्काउने वातावरण बन्नै पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here