त्रिधार्मिकधाम हलेसीमा पद्मसम्भवको प्रतिमा

0
445

खोटाङ,

त्रिधार्मिकधाम खोटाङको हलेसीमा पद्मसम्भवको प्रतिमा शिलान्यास गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई धार्मिक पर्यटनका रूपमा प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिका र नेपाल बौद्ध महासङ्घको संयुक्त लगानीमा आचार्य गुरु पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा शिलान्यास गरिएको हो ।

वडा नं–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत्रमा पद्मसम्भवको प्रतिमा स्थापना गर्न नगरप्रमुख इवन राई र नेपाल बौद्ध महासङ्घका अध्यक्ष आचार्य नुर्बु शेर्पाबीच २०७७ माघ १८ गते भएको १९ बुँदे सम्झौताअनुसार बौद्ध लामा जोपा रिन्पोछेले आज पूजाआजा गर्दै शिलान्यास पद्मसम्भवको प्रतिमा शिलान्यास गर्नुभएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिनुभयो । पार्क निर्माण गरेर सोभित्र स्थापना गरिने पद्मसम्भवको प्रतिमा वरपर ध्वजापताकाका लागि छुट्टै क्षेत्र, स्वागतद्धार, ध्यान केन्द्र, शान्ति पदयात्रा, विश्राम गृह, बगैँचा, मञ्जुश्री क्षेत्रमा गुम्बा, सरोवर, पदमार्गलगायत संरचना निर्माण गरिने जनाइएको छ ।

हलेसी बृहत्तर गुरुयोजनाअनुसार निर्माण गर्न लागिएको पद्मसम्भव पार्कमा रु पाँच करोडभन्दा बढी खर्च हुने विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भएको नेपाल बौद्ध महासङ्घले जनाएको छ । पद्मसम्भव पार्कको काम पाँच वर्षभित्र सम्पन्न गर्नेगरी शुरु गरिएको नगरप्रमुख राईले बताउनुभयो । पद्मसम्भवको साना तथा ठूलो मूर्ति राखिने पार्क क्षेत्रमा शान्ति पूजा हल, चैत्य निर्माण, वौद्ध धर्म सङ्ग्रहालय तथा पुस्तकालय, माने निर्माण, प्रतिमा निर्माण, वौद्ध स्ववारिक्पा शिक्षण केन्द्र, अनुसन्धान केन्द्र, बगैँचा, ढल, पानी, बिजुली व्यवस्थापन, तारबार तथा पर्खाल, अपाङ्गमैत्री शान्ति मार्गलगायत संरचना निर्माण गरिने जनाइएको छ ।

पद्मसम्भवको प्रतिमा स्थापना पश्चात वौद्ध धर्म परम्पराअनुसार सांस्कृतिक, अध्यात्मिक महत्वलाई जीवित राख्न त्यसको रेखदेख, सञ्चालन, संरक्षण, मर्मत सम्भार र पाठपूजाको व्यवस्था बौद्ध महासङ्घले गर्ने सम्झौता छ । पार्कमा प्रवेश गर्ने आगन्तुकबाट शुल्क उठाएर आम्दानी बाध्ने र पार्क क्षेत्रमा घेराबारा, पदमार्ग र मूल प्रवेशद्धार निर्माणको काम प्रथम पक्षले गर्ने जनाइएको छ । त्रिधार्मिकधाम हलेसीमा पद्मसम्भवले वुद्धत्व प्राप्त गरेको किंवदन्ती छ ।

मारतिका गुम्बासमेत रहेको हलेसीमा भारत, चीनको तिब्बत, भुटानलगायत विभिन्न देशका बौद्धमार्गी ध्यान तथा पूजापाठका लागि आउने गरेका छन् । धार्मिकरुपमा मात्र नभइ प्राकृतिक रुपसमेत विश्व प्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा बौद्धमार्गीसँगै हिन्दू र किराँत धर्मालम्बीको पनि उत्तिकै भीड लाग्ने गरेको छ । हलेसीलाई हिन्दूहरूले शिवपावर्ती र किराँत धर्मालम्बीले आफ्नो उद्गमथलोको रूपमा मान्ने गरेका छन् । दर्शनार्थी र पर्यटकको बाह्रै महिना उत्तिकै घुइँचो लाग्ने त्रिधार्मिकधाम हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरिबोधनी एकादशी, हरितालिका तीज, बुद्धजयन्ती, बोलबमलगायत ठूलो मेला लाग्ने गरेको छ ।

स्तरोन्नतिको कामसमेत भइरहेको हलेसीमा किराँत धर्मालम्बीको माङखिम ९तीन चुल्हा० निर्माणको काम पनि भइरहेको छ । बसाहागुफामा निर्माणाधीन माङ्खिमको काम तीव्र गतिमा अगाडि बढाइएको हलेसी विकास समितिका अध्यक्ष एवं पूर्वसांसद टङ्क राईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here