प्रहरी बयानमै सीमित, के एक्लैले छ जनाको हत्या गरे ?

0
426

सविन ढकाल,

गत सोमबार संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा छ जनाको हत्या गरेको अभियोगमा प्रहरीले आइतबार एकजना युवकलाई सार्वजनिक गरेको छ । प्रदेश नम्बर १ का प्रहरी प्रमुख डीआइजी अरुण बीसीसहितको टोलीले पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको हो । सोही ठाउँका २५ वर्षीय लोकबहादुर कार्कीले सबैको हत्या गरेको प्रहरीको दाबी छ । हत्यामा उनी एक्लै संलग्न भएको अहिलेसम्मको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्त सार्वजनिक गरिरहँदा केही प्रश्न भने अनुत्तरित छन् :

के एकै जनाले छ जनाको हत्या गर्ने सक्छन् ?

घटना बिहान ६ बजेको वरिपरि भएको भनिएको छ । बिहान खुल्ला स्थानमा छ जनाको ज्यान लिँदासम्म अरूले किन थाहा पाएनन् ? जब कि जुन ठाउँमा हत्या भएको छ, त्यो एकलास क्षेत्र होइन । छ जनालाई पालैपालो मार्दा उनीहरु चिच्याएको आवाज कसैले नसुन्नु आफैंमा सन्देशपूर्ण विषय हो ।

दुई नाबालक त भाग्दाभाग्दै मारिएको दाबी गरिएको छ । उनीहरु घरभन्दा माथितिरको बारीमा मारिएका थिए । छ जना नै मारिँदा चुपचाप रहे भन्ने कुनै आधार छैन । त्यसमाथि मकैबारी माडिएको देखिएको छ । जसले उनीहरुलाई लखेटी–लखेटी मारिएको पुष्टि हुन्छ । त्यस आधारमा एकै जनाले सबैको हत्या गरेकोमा शंका गर्ने आधार बनाएको छ ।

लोकबहादुर दोषी हुन् भन्ने प्रहरीसग दरिलो प्रमाण के ?

अभियुक्त सार्वजनिक गर्दा डीआइजी अरुण बीसीले घटना तथा उठेका प्रश्नको जवाफ दिएका थिए । केही प्रश्नको जवाफ अझै अनुसन्धान जारी भएकालेपछि खुल्दै जाने समेत बताएका थिए । तर, उनले घटनामा बाहिरी मानिस र अरूको संलग्नता नभएको दाबी गरेका छन् । थप अनुसन्धान भनेकाले प्रहरीसँग अझै बलियो प्रमाण छैन भन्ने संकेत गर्छ । सोमबार बिहान करिब १० बजे प्रहरीले ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपीन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या गरिएको अवस्थामा शव फेला पारेको थियो ।

घटना कसरी भयो त ?

कार्की परिवारको हत्या अभियोगमा प्रहरीले सार्वजनिक गरेका युवा मृतकका १३ दिने कुलभित्र कै हुन् । हत्या गरिएका तेजबहादुरलाई लोकबहादुरले बडा बा भनेर सम्बोधन गर्दै आएका थिए । उनी सन् २०१४ र २०१९ मा कतार र २०१६ मा मलेसिया गएर फर्किएका थिए । पछिल्लो पटक स्वास्थ्यमा समस्या देखिएपछि उनी विदेशबाट फर्किएका हुन् । प्रहरीले स्थानीयसँगको कुराकानीका अनुसार लोकबहादुरको स्वभाव बेलाबेला आक्रोशित हुने, नजिकमा रहेकालाई जे भेट्यो त्यसले हान्ने, राति नसुत्ने र एक्लै हिँड्ने खालेको रहेको जनाएको छ । त्यस्तै घरमा बाबु र भाइसँग पनि झगडा गर्ने उनको स्वभाव रहेको दावी गरिएको छ ।

अभियुक्त कार्की औषधि सेवन समेत गर्ने गरेको खुलेको छ । निन्द्रा नलाग्दा उनी औषधि लिने गरेका थिए । घटना भएको अघिल्लो रात अर्थात् भदौ २० गते पनि रातभर निन्द्रा नलागे छटपटीमा नै बसेको प्रहरीमा बयान दिएको प्रहरीले जनाएको छ । भोलिपल्ट बिहान तेजबहादुर कार्कीको खेतमा काम थियो । त्यसैको लागि खेताला बुझ्न तेजबहादुर अभियुक्त कार्कीको घरमा पुगेका थिए । लोकबहादुर आफ्ना बाबु र भाइसँग बस्दै आएका थिए । उनकी आमाको केही महिना अगाडि लडेर मृत्यु भएको थियो । घटना भएको दिन उनका भाइ र बाबु चिया खाएर घाँस काट्न निस्किएको प्रहरीले जानकारी दिएको छ ।

लोकबहादुर बिहान घरमा एक्लै थिए । उनको स्वभाव बिहान अबेरसम्म सुत्ने रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ । जुन कुराको जानकारी आइतबार पत्रकार सम्मेलनमा डीआइजी बीसीले गराएका थिए । बिहान तेजबहादुर खेताला कन्फर्म गर्ने लोकबहादुरको घरमा पुगेका थिए । तर, रातभरको अनिदो र विक्षिप्त अवस्थामा रहेका लोकबहादुर रिसमा देखिए । लोकबहादुरलाई तेजबहादुरले पटक–पटक गाली गर्ने, पागलको सज्ञा दिने र केही गर्ने नसकेको भन्दै गाली गर्ने गरेकाले इगोको रूपमा मनमा रहेको लोकबहादुरले प्रहरीमा बयान दिएका छन् । घटना त्यही गाली र इगोको कारण आवेगमा भएको डीआइजी बीसीले जानकारी दिए । घरमा एक्लै भएको र रिसको आवेगमा लोकबहादुरले दाउराको घारमा रहेको चिर्पट निकालेर हानेका थिए ।

‘दाउराको घारबाट चिर्पट निकाली पछ्याउँदै नजिकैको बारीको डिलमा रहेको गोगनको बोट नजिक चिर्पटले पछाडिबाट टाउकोमा पटक–पटक प्रहार गर्दा तेजबहादुर ढली अनियन्त्रित भई भिरालो जमिनबाट लडी तल बाटोमा धर्मराउँदै पुगे’ –डीआइजी बीसीले घटनाक्रमको ब्याख्या गरे ।

त्यसपछि ‘लोकेले मलाई मा¥यो’ भन्दै उठ्न खोज्दा पुनः टाउकोमा प्रहार गरी घोप्टो पारी लडाएको तेजबहादुरले हारगुहार गरे । त्यसपछि उनको आवाज सुनेपछि श्रीमती कमला र बुहारी रञ्जना समेत घटना भएतर्फ पुगे । अभियुक्तले उनीहरूलाई समेत थाह पाएको बुझेर आक्रमण गर्ने तत्काल योजना बनाए । त्यसपछि कमला भन्ने मनमाया कार्कीलाई खोल्सीमा सोही चिर्पटले दुई–तीन पटक प्रहार गर्दा रन्थनिएर बाटोबाट खोल्सामा खसिन् । कमलामाथि प्रहार भएको देखेपछि रञ्जना बेहोस भई भुइँमा ढलिन् । पछि उठ्ने क्रममा उनलाई फेरि टाउकामा चिर्पटले प्रहार गरेको प्रहरीको दाबी छ । प्रहरीको यी सबै दावीहरु अभियुक्तले बयानमा आधारित छ । त्यसपछि घर नजिक बाटो डिलमा आएका दुई जना नाबालकहरू दिपेन र गोमालाई देखेपछि तिनीहरुको पनि हत्या गर्ने अघि बढेको प्रहरीलाई बयान दिएको दाबी गरिएको छ ।

उनले लखेटी हत्या गरेको मृतकको घरतर्फ गई घर पछाडि खोले पकाउने ठाउँमा पार्वता कार्कीलाई भेटी कपालमा समाती भित्तामा टाउको पटक–पटक ठोक्काएर हत्या गरेको बयानमा उल्लेख छ । त्यसपछि उनले घर फर्की घटनामा प्रयोग गरेको चिर्पट अगेनामा हाली प्रमाण नष्ट गरेको डीआइजी बीसीले जानकारी दिए । घटना बिहान ६ बजेदेखि साढे ६ बजेको बीचमा भएको प्रहरीले निष्कर्ष निकालेको छ । अभियुक्त र मारिएका कार्कीको घरको दूरी करिब डेढ समय मिटरको दूरीमा छ । त्यस्तै अर्को घर पनि नजिकै छ । मृतकका घरका एक जना वृद्ध बाहेक सबैले घटना भएको देखे । जसको कारण उनीहरु मारिएको प्रहरीको दाबी छ । अभियुक्तको घरमा भएका भाइ र बाबु घाँस काट्न गएकाले पत्तो नपाएको प्रहरीले जनाएको छ । त्यसो भए, अरु घरका मानिसले बिहानै खुल्ला ठाउँमा यस्तो घटना हुँदा किन चाल पाएनन् त ? यो प्रश्नको जवाफ प्रहरीले समेत भेटाउन सकेको छैन । नजिकै एक अर्को घर पनि थियो जसमा रहेका मानिसले केही थाहा पाएका छैनन् ।

‘त्यहाँका मानिसहरूले केही बोल्न चाहेको अवस्था छैन । एकदमै डराएको मनस्थित पाएका छौं । घर त अलिक टाढा–टाढा छ । पहाडमा कराइसकेपछि सुन्नुपर्ने हो । तर, कसैले पनि सुनेको अवस्था चाहिँ छैन’ –डीआइजी बीसीले भने । सबैलाई मारेपछि अभियुक्त मृतकको घरमा गएर तेजबहादुरका बाबुलाई ‘केटाकेटी कहाँ गए ?’ सोध्न समेत भ्याएका थिए । त्यसपछि साढे ८ बजेतिर आफ्नो भाइलाई बोलाएर त्यहाँ बडा बाको लास देखियो भनेर जानकारी दिएका थिए । तर, उनले जहाँबाट लास देखियो भनेका थिए त्यहाँबाट लास नदेखिने स्थान भएकाले पनि प्रहरीले लोकबहादुरलाई शङ्काको घेरामा राखेको थियो ।

प्रहरीलाई घटना भएको सोमवार बिहान साढे ९ बजे सूचना प्राप्त भएको थियो । सूचना पाएको दुई घण्टामा प्रहरीले घटनास्थल पुगेर घटनास्थलको कभर गरेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय संखुवासभा, सङ्घीय प्रहरी कार्यालय धरान, प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोका ४९ जना प्रहरी घटनाको अनुसन्धानमा खटिएका थिए । प्रहरीले घटना भएको भोलिपल्ट (मंगलबार)मात्र शवको मुचुल्का र घटनास्थलको सर्च गरेको थियो ।

एकै परिवारका छ जनाको हत्या भएकाले पनि प्रहरीका लागि संखुवासभा घटना चुनौतीपूर्ण थियो । तर, घटना भएको पाँच दिनपछि प्रहरीले अभियुक्तको रूपमा लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ । अब थप अनुसन्धान गरेर सरकारी वकिल कार्यालय हुँदै अदालतमा पु¥याएपछि अदालतले मात्र कार्कीले नै घटना गराएको हो या होइन भन्ने यकिन हुनेछ । प्रहरीले अहिले सार्वजनिक गरेका लोकबहादुर अभियुक्त मात्र हुन् । प्रहरीले उनीविरुद्ध गतिलो प्रमाण अदालतमा पेस गर्नुपर्ने हुन्छ ।

लोकबहादुरले हत्यामा प्रयोग गरेको चिर्पट आगोमा डढाइसकेको प्रहरी दाबी छ । उनले घटना हुँदा प्रयोग गरेको लुगा बरामद गरिएको प्रहरीले बताएको छ । बरामद लुगामा रगत समेत देखिएको प्रहरीको दाबी छ । तर, त्यो रगत घटना हुँदाको बखतको हो वा होइन भन्ने पुष्टि गर्ने आधार खुलिसकेको छैन । त्यस्तै, रगत मानिसको नै भए नभएको समेत पुष्टि भइसकेको छैन । प्रहरीले रगत पुष्टि गर्न फरेन्सिक ल्याबमा पठाएको डीआइजी बीसीले जानकारी दिए ।
प्रहरीसँग अहिले गतिलो प्रमाणका रूपमा अभियुक्तले दिएको साविति बयान रहेको छ । त्यसपछि घटना कसरी भयो ? कहाँ कहाँ भयो भन्ने कुरा अभियुक्तलाई लगेर भिडियो समेत बनाएर राखेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार पत्रकार सम्मेलनमा डीआइजी बीसीले घटना आफैंले गराएको अभियुक्तले स्वीकार गरिसकेको जानकारी दिएका छन् । अदालतमा पनि उनले घटना आफैंले गरेको स्वीकार गरेको खण्डमा प्रहरीलाई थप बलियो प्रमाण खोजिरहन पर्दैन । तर, पनि प्रहरी अन्य सबुत प्रमाण जुटाउन लागीपरेको बताइएको छ ।

अघिल्ला सामुहिक हत्या घटना जस्तै यस घटनामा पनि एक जनाको मात्र संलग्नता भएको देखिएको छ अहिलेसम्म । २०७७ जेठमा रुपन्देही तिलोत्मा १० मा एक व्यक्तिले कोदालोले प्रहार गरेर पाँच जनाको हत्या गरेका थिए । जसमा पनि सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजाली एक्लैले घटना गरेका थिए । यसअघि २०७६ जेठमा पाँचथरको मिक्लाजुङ्मा नौ जनाको हत्या भएको घटनामा पनि एकजना मात्र संलग्न भएको देखिएको थियो । यस घटनामा घटनाको समय र स्थान केही फरक भएकाले पनि एक जनाको संलग्नताको देखिएको दाबी गरेको छ ।

‘यो घटना चाहिँ एकै पटक एकै ठाउँमा मानिस जम्मा भएको अवस्थामा छैन । यो समयको अलिकति फरकमा छ । तेजबहादुर कार्की शारीरिक अवस्था बलियो थियो । पहिलो त्यो मानिसलाई ढाल्ने बित्तिकै अन्य शारीरिक अवस्था कमजोर रहेका महिला तथा बालबालिकाहरूलाई आक्रमण गरेको देखिन्छ । एउटा मनस्थिति के देखिन्छ भने घरको मुलीलाई नै ढालेपछि महिलाहरू आत्तिएर रिट्यालियट गर्न नसकेको अवस्था देखिन्छ । जसले सहजै ती मानिसलाई चिर्पटले हिर्काएर हत्या गरेर देखिएको छ’ –डीआइजी बीसीले भने । पहिलोपोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here