एनएमसीको नाफा २७ करोडभन्दा बढी

0
761

बिर्तामोड ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरले २९ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । बिर्तामोडमा सोमवार पत्रकार सम्मेलन गर्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती तथा सदस्य डम्वर बस्नेतले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष उप्रेतीले आर्थिक बर्ष २०७७÷०७८मा संस्थाले गरेको गतिविधिका वारेमा जानकारी दिएका थिए । अध्यक्ष उप्रेतीले सार्वजनिक गरेको प्रतिवेदनमा संस्थाको ४५ वटा सेवाकेन्द्र र २ सय २४ वटा इकाईहरु रहेको बताए । ४५ वटा सेवा केन्द्रमध्ये झापामा ४३ र मोरङ र इलाममा एक÷एकवटा सेवा केन्द्र रहेको उनले जानकारी दिए ।

कार्यक्रममा साधारणसभा शुरु भएको बताउँदै उनले त्यसलाई पूर्णता दिन माइन्यूट प्रमाणित गरेर साधारणसभा सम्पन्न गरिने जानकारी गराए । कार्यक्रममा अध्यक्ष उप्रेतीले आफ्नो सहकारीको गतिविधि अन्य संस्थाले पछ्याउने गरेको दावी गरे ।

उनले प्रत्येक इकाईबाट ३ का दरले छानिएका १ सय ३५ जना प्रतिनिधि र १८ जनाको संस्थाका सञ्चालक समितिको उपस्थितिमा असोज ९ गते साधारणसभा सम्पन्न गरिने जानकारी दिए । ४५ वटा सेवा केन्द्रलाई कार्यसम्पादन सहजताका लागि ६ वटा क्षेत्रमा विभाजन गरेको बताइएको छ । एक लाख ७ हजार शेयर सदस्य रहेको संस्थामा पसल तथा कार्यालयमा गरेर ८ सय ४० जना कर्मचारी रहेको बताइएको छ ।

संस्थाको आर्थिक बर्ष २०७७÷०७८ सम्ममा चुक्ता शेयरपुँजी एक अर्ब ११ करोड ६० लाख ६ हजार २ सय छ भने निक्षेप मौज्दात ८ अर्ब ८५ करोड ४२ लाख २३ हजार ४ सय ३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आव २०७७÷०७८मा कर अघिको नाफा २७ करोड ४० लाख ६९ हजार ५ सय ४८ रुपैयाँ गर्न सफल भएको छ ।

कार्यक्रममा अध्यक्ष उप्रेतीले संस्थाको संस्थागत संरचना, समग्र वित्तीय संरचनाको झलक, विनियमको पुनर्लेखन र कार्यक्षेत्र बिस्तार, कर्पोरिट कार्यालयका लागि जग्गा खरिद, व्यवसायको संक्षिप्त जानकारी, बचत तथा ऋणको जानकारी, डेरी ब्यवसाय, एकीकृत नमुना कृषि फार्म, एनएमसी सहकारी पसल, चिया व्यवसाय, ब्यवसाय विस्तार, थप ब्यवसायको सम्भावनाका बिषयमा जानकारी दिएका थिए ।

त्यसैगरी प्रदेश सरकारले दिएको अनुदान, सदस्यलाई राहत तथा सामाजिक गतिविधि प्रभाव र निरन्तरता, सहकारी एकीकरण, बजार प्रतिनिधिलाई कर्मचारीमा रुपान्तर लगायतका बिषयमा जानकारी दिइएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी उप्रेतीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here