धुलो उडेपछि सडक बन्द

0
716

पार्थ मण्डल,झापा ।

झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीमा धुलो पीडित स्थानीय र व्यवसायीले तीन घण्टा मुख्य सडक बन्द गराएका छन् ।

निर्माण कम्पनीले समयमा कालोपत्रे सडक नबनाएको भन्दै धुलो पीडित स्थानीय र व्यवसायीले सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म सडक बन्द गराएको स्थानीय व्यवसायी रमेश न्यौपानेले बताए ।

धुलो पीडितले मेची राजमार्गको चारआली–केचना सडकखण्डअन्तर्गत कृषि विकास बैङ्क अगाडिदेखि टे«ड युनियन चोकसम्मको करिब ३ सय मिटर सडक डोरी लगाएर बन्द गराएका थिए । सदरमुकाम जोड्ने मुख्य सडक बन्द हुँदा यातायातका सवारीसाधनलाई गन्तव्यसम्म पुग्न सास्ती झेल्नु परेको थियो ।

धुलो पीडितले मुख्य सडक नै बन्द गराएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सडक खुलाउन सहजीकरण गरेको डिएसपी राकेश थापाले जानकारी दिए । त्यसपछि घटनास्थलमा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठका रोहबरमा निर्माण कम्पनीका प्रतिनिधि मेघराज भट्टराई र धुलो पीडित स्थानीयबीच एक बुँदे लिखित सहमति भएको थियो ।

मंगलवारदेखि सो सडकखण्डको निर्माण काम सुचारु गर्ने र सहमति अनुसार काम सुचारु नगरे फेरि सडक बन्द गर्ने सहमति पश्चात् सडक खुलाएको स्थानीय नवराज घिमिरेले जानकारी दिए । चारआलीदेखि केचनासम्मको ४० किलोमिटर कालोपत्रे सडक निर्माण कार्य अन्तर्गत ० देखि २० किलोमिटर सडक निर्माणको ठेक्का कालिका, कनकाई र याक्थुमहाङ जेभीले २०७३ साल असोज १७ गते ३० महिनामा काम सक्ने गरी सम्झौता गरेको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

समय अवधि सकिए पनि निर्माण कम्पनीले म्याद थपेर अहिले पनि ठाउँ–ठाउँमा कालोपत्रे बनाउने कार्य गरिरहेको छ । भद्रपुरको सगरमाथा चोकदेखि संगमचोक, भानुनगर हुँदै गिरी चोक नजिकैसम्मको कालोपत्रे बनाउने काम अझै बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here