कांग्रेसको अबको बाटो

0
814

नेपाली कांग्रेसमा यतिबेला निर्वाचनको चटारो छ । देशकै पुरानो र इतिहास बोकेको राजनीतिक दल भएका कारण उसलाई पूर्वजहरूद्वारा स्थापित गौरवको रक्षा गर्ने चुनौति पनि त्यत्तिकै छ। प्रजातन्त्रलाई आजभोलि लोकतन्त्र भनिन थालेको छ यद्यपि दुबैको अर्थ र सार एउटै हो ।
हो त्यही प्रजातन्त्रको आधार मानिन्छ संसदीय प्रणाली मार्फत सञ्चालन गरिने शासन व्यवस्थालाई । त्यसकै लागि बलिदान गरेका पुर्खाहरूको जीवन कथाले पनि सात दशक नाघिसकेको छ । एकतन्त्रीय शासनको अन्त्य गरी जनताद्वारा गरिने अङ्कुशसहितको शासन सञ्चालन गर्दै जनतालाई मालिक बनाउँछौ भनेको यति लामो समय बितिसक्दा समेत त्यसको अनुभव भोगाइमा हुन पाएको छैन ।
जनताले छानेका प्रतिनिधिमार्फत संविधान निर्माण त भयो तर, त्यसले तिनै प्रतिनिधिहरूलाई नै आफूमा समाहित भएको अनुभूत गर्न पाएको छैन । लामो संघर्षपछि संविधान बन्यो, जनताको प्रतिनिधि सभा पनि बनियो तर, त्यसले पनि जनताको जीवन सहज बनाउन सकेको छैन । चौधौं महाधिवेशनको प्रक्रियामा रहेको कांग्रेसले पार्टीको सिद्धान्त अनुरूप नीति, नेतृत्व र कार्यक्रम सञ्चालन भइरहेको छ÷छैन मूल्याङ्कन गर्न आवश्यक छ । केवल कानूनी जोडघटाउ र औपचारिकता पूरा गर्नका लागि गरिने भेला वा अधिवेशनले पार्टीको ऐतिहासिक दायित्व निर्वाह हुँदैन ।
महाधिवेशनले इतिहासको दायित्व पूरा गर्दै जनता र प्रजातन्त्रप्रति जिम्मेवार हुँदै पार्टीलाई संगठीत गर्न सक्ने नेतृत्व निर्माण गर्नुपर्छ । प्रजातन्त्रप्रति आस्थावान कार्यकर्ताले पार्टीको सिद्धान्तलाई अक्षरशः लागू गर्न सक्ने नेतृत्व चयन गर्न सक्नु पर्छ । वर्तमान नेतृत्व र पार्टीको संरचनामा रहेको दुर्वल पक्षको पहिचान गरी तिनमा सुधार गर्ने र आदर्श, मूल्य–मान्यताको रक्षा गर्ने अग्रसरता देखाउन जरूरी छ ।
देशमा प्रजातन्त्रको स्थापना र रक्षाका निम्ति आजपर्यन्त कांग्रेसले नेतृत्व गरेको छ । निरङ्कुश राणा शासनविरूद्धको होस् वा निर्दलीय पञ्चायती व्यवस्था अथवा अन्य प्रजातन्त्र पुनस्र्थापनाका लागि गरिएका आन्दोलन हुन् नेपाली कांग्रेसले नै नेतृत्व गर्दै आएको छ । तर, यतिबेला कांग्रेसमै आन्तरिक प्रजातन्त्रको अभाव भएको टिप्पणी गर्न थालिएको छ । हुनसक्छ त्यही भएर संसदीय निर्वाचनमा अधिनायकवाद उन्मुख कम्युनिस्ट पार्टीसँग पराजित हुनु परेको हो । देश अहिले गम्भीर अवस्थामा पुगेको छ । प्रजातन्त्रका लागि कठिन संघर्ष गरेर आएको नेपाली कांग्रेसले सत्तामा रहँदा पनि जन अपेक्षा अनुरूप परिणाम दिन सकेन । जसले नेपालीमा राजनीतिप्रति वितृष्णा बढेर गएको छ ।
आम नेपालीको राजनीति मात्र होइन राजनीतिक दल र नेताप्रतिको आशा, भरोसा र सम्मान हराउन थालेको छ । प्रजातन्त्रका लागि पटक–पटक संघर्ष गरेका जनताले परिणाममा सत्ता वरिपरि बस्नेहरूको झुण्ड देखेर, तिनको व्यक्ति स्वार्थका गतिविधिबाट वाक्क भएर जनताको मनमा हुर्किएको आक्रोश वितृष्णामा परिणत भएको हो । यसकारण पनि कांग्रेसले आउँदो महाधिवेशनलाई प्रजातन्त्रको सुदृढीकरणको अधिवेशन बनाउनु पर्छ । दल जनसेवाका लागि हो, केही नेता तिनका चाटुकारको स्वच्छन्दताका लागि होइन । तसर्थ, अहिले निर्वाचित पार्टी प्रतिनिधिहरूले दलभित्रको गुटगत प्रवृत्ति र त्यसले सृजना गरेको विभेदहरूको अन्त्य गर्न सक्नु पर्छ । कुनै एक जनाको लहड र सनकले जनताको प्रतिनिधिमूलक संस्था विघटन गर्ने अथवा राजनीतिक समस्याको समाधान खोज्न न्यायपालिका नै गुहार्नु पर्ने अवस्था सुखद् होइन । त्यसैले कांग्रेसका नेताहरूले प्रजातान्त्रिक आचरण देखाउन जरूरी छ ।
त्यस्तै अभ्यास र व्यवहारले जनताको मन जितेर देशको नेतृत्व गर्ने क्षमता देखाउनु पर्छ । यसका लागि गुट– उपगुट होइन बलियो एकात्मकताको खाँचो छ । जसले विधि, पद्धति र प्रक्रियाको यात्रा हिँडेर जनताको विश्वास आर्जन गर्न सकोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here