झापामा सिटौलाले ‘क्लिन स्विप’ गरेकै हुन् ?

0
696

रोमन आचार्य

काठमाडौं , १५ स्थानीय तह रहेको झापा जिल्लामा नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत पालिका तह अधिवेशन सम्पन्न भइसकेको छ । झापा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र वर्तमान पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको गृह जिल्ला हो । सिटौला १३ औं महाधिवेशनमा सभापतिका उम्मेद्वार हुन् भने १४ औं महाधिवेशनमा पनि सभापति लड्ने तयारीमा छन् । शर्मा आसन्न १४ औं महाधिवेशनमा महामन्त्रीमा तयारी गरिरहेका छन् । उनी उम्मेद्वारी घोषणा गरेर प्रचारमा जुटेका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको झापामा ८ नगरपालिका र ७ गाउँपालिका रहेको छ । जिल्ला राजनीति कृष्णप्रसाद सिटौला, विश्वप्रकाश शर्मा, सरिता प्रसाईंजस्ता नेताहरुको वरिपरी घुमेको छ । झापामा संस्थापन, पौडेल तथा सिटौला समूहको प्रभाव रहेको छ । अन्य समूहको तुलनामा सिटौला समूह जिल्लामा बलियो देखिन्छ ।

जिल्लामा संस्थापन समूह अर्थात् पार्टी सभापति शेरबहादुर देउवा निकट भएर पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला राजनीतिमा आफ्नो उपस्थिति देखाइरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला समूहको नेतृत्त्व सरिता प्रसाईंसँग छ ।

 

१५ पालिका तहको अधिवेशन सम्पन्न हुँदा झापामा कृष्णप्रसाद सिटौला बलियो देखिएका छन् । यस्तै विश्वप्रकाश शर्माको पनि प्रभाव देखिएको छ । पौडेल–कोइराला समूहले पनि झापामा प्रभाव राम्रै देखिएको छ । “विश्व दाइको प्रभाव झापामा राम्रै देखियो, समग्रमा समूहगत राजनीतिमा विश्वजीको उपस्थिती प्रभावशाली देखियो,” एक केन्द्रीय नेता भन्छन् ।

नेपालकै सबैभन्दा धेरै जनसंख्या भएको मेचीनगर पालिकामा विश्वप्रकाश शर्मा निकट सुवेशकुमार पनेरु ९सुदय० विजयी भएका छन् । यो शर्माको गृह नगर हो । यता, कमल गाउँपालिकामा शर्माका उम्मेद्वारले खगेन भण्डारीले बुद्धिराज न्यौपाने जति नै अर्थात् ६५ मत ल्याएका छन् । आधा कार्यकाल पश्चात् भण्डारी गाउँपालिका सभापति बन्ने सहमति भएको छ ।

यस्तै विर्तामोड नगरपालिकामा भोजराज सिटौला सभापति बनेका छन् । सिटौलालाई सभापति बनाउन यहाँ संस्थापन पक्ष पनि सकारात्मक भयो ।

झापाको अर्जुनधारा नगरपालिकामा हेमराज खरेल सभापति बनेका छन् । खरेल सिटौला निकट नेता मानिन्छन् । खरेललाई जिताउन सिटौला तथा पौडेल–देउवा समूहको सहयोग रहेको थियो । अर्जुनधारा वर्तमान जिल्ला सभापति उद्धव थापाको गृह नगर हो ।

यता, भद्रपुर नगरपालिकामा भने सिटौला निकट रामबहादुर कँडेल विजयी भएका छन् । भद्रपुर सिटौलाको गृह नगर हो ।

कनकाई नगरपालिकामा दुर्गा प्रसाईं विजयी भएका छन् । प्रसाईं सिटौला समूहबाट विजयी भएको एकथरीको मत छ भने पौडल–कोइराला पनि आफूहरुको टिम भएको दाबी गर्छ । शिवसतासी नगरपालिकामा सिटौला निकट अशोक बस्नेत तथा दमक नगरपालिकामा प्रकाश कोइरालाले जितेका छन् । गौरादह नगरपालिकामा यादवराज सेढाईं विजयी भएका छन् ।

यता, बुद्धशान्ती गाउँपालिकामा चक्र शेर्मा सभापति बनेका छन् । झापा गाउँपालिकामा सागिरथ गणेश सभापति बनेका छन् । यस्तै कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने, हल्दिबारी गाउँपालिकामा गंगा प्रसाई, बाह्रदशी गाउँपालिकामा इन्द्र बस्नेत कचनकवल गाउँपालिकामा तुलाराम अधिकारी र गौरिगञ्ज गाउँपालिकामा अघनुप्रसाद राजवंशी विजयी भएका छन् ।

विजयी भएका सभापतिहरुमा समूह निकटताको दाबी आ–आफ्नै छ । केन्द्रीय महामन्त्री लड्ने तयारीमा रहेका विश्वप्रकाश शर्माले गृह जिल्लामा एक जनालाई मात्र पालिका तहमा विजयी गराउन सफल भएका छन् । बुद्धशान्ती गाउँपालिकामा पनि शर्मा निकट चक्र शेर्माले सभापति जितेका छन् । तर, पौडेल–कोइराला समूह भने शर्मासँगको सहकार्यमा आफ्नो उम्मेद्वार शेर्माले सभापति जितेको दाबी गर्छ ।

जिल्लामा सिटौला समूहले मेचीनगरबाहेक अन्य १४ स्थानीय तहमा आफूनिकट सभापतिहरुको जित भएको दाबी गर्छ । उनीहरुको दाबीमा पौडल–कोइराला समूह भने ‘निल’ भएको छ ।

“विश्वजीको मेचीनगर बाहेक सबै हामीले जित्यौं,” सिटौला निकट एक नेता भन्छन्, संस्थापन इतर भनिएका पौडेल समूह नमाज्जाले हार्यो ।”

तर, पौडेल–कोइराला समूह आफूहरु ‘निल’ भएको भन्ने प्रचार गलत भएको दाबी गर्छ । कन्काई नगरपालिकामा आफूहरु निकट दुर्गा प्रसाईं विजय भएको दाबी छ । यस्तै, गरौदाह नगरपालिकामा सभापति विजयी भएका यादव सेढाइ पनि आफूहरुकै समूहका भएको पौडेल–कोइराला समूहको तर्क छ । कमल गाउँपालिका सभापति बुद्धि न्यौपाने पनि आफूरु निकट भएको दाबी गर्छ ।

पौडेल–कोइराला समूहका एक केन्द्रीय नेता पालिकागत सहकार्य भएको बताउँछन् । दमकमा सिटौला निकट प्रकाश प्रसाईंलाई जिताउन अन्तिम समयमा आफूहरुले सहयोग गरेको समूहका एक नेता बताउँछन् । यहाँ पौडेल–कोइरालाले वर्तमान नगर सभापति रोशन विष्टलाई सभापतिको उम्मेद्वार बनाएको थियो ।

यता, बुद्धशान्ती गाउँपालिकामा शेर्मालाई जिताउन विश्वप्रकाश शर्मासँग सहकार्य गरेको ती नेताको दाबी छ । हल्दिबारी गाउँपालिकामा गंगा प्रसाईंलाई जिताउन सिटौला समूहलाई सहयोग गरेको केन्द्रको दाबी छ । “हामी निल भएका छैनौं, बरु कृष्ण दाइको समूहलाई जिताउन केही पालिकाहरुमा र बुद्धशान्तीमा विश्वजीसँग सहकार्य भएको छ,” ती नेता भन्छन् ।

यता, सिटौलासमूह भने झापामा पौडेल–कोइरालाले गरेको दाबी झुटो भएको बताउँछ । समूहले भनेजस्तो दुर्गा प्रसाईं र बुद्धि न्यौपाने पौडेल–कोइरालाको कार्यकर्ता नभएको सिटौला समूहको दाबी छ । न्यौपानेले सिटौलाको सचिवालयमा बसेर काम गरिसकेका छन् । तर, बीचमा न्यौपाने शेखर कोइराला निकट भएर काम गरेको भने सिटौला समूह स्विकार गर्दछ । “अन्तिम समयमा कृष्ण दाइसँग आएर सभापति लडौं कि के गरौं भन्नुभयो, दाइले गएर लड भनेपछि उहाँले चुनाव लड्नु भएको हो,” सिटौला निकट ती नेताले भने । पौडेल–कोइराला समूहमा लागे पनि अन्तिममा सिटौलाकै ‘ग्रिन सिग्नल’मा चुनाव लडेको ती नेताको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here