अनुत्पादक कृषि योजना

0
595

बदलिँदो मानसिकता, वातावरण, रुची र व्यवहारले अब कृषिको विकल्प खोज्ने बेला आएको छ । अन्नको भण्डारमध्येको झापाका शहरी क्षेत्रहरु मात्रै होइनन् सडक सञ्जालसँगै उपलब्ध विकासका पूर्वाधारहरुले ग्रामीण क्षेत्रको जीवनशैली र जीवन निर्वाहको ढाँचा पनि बदलिन थालेको छ । हिजोसम्म कृषि कर्म जीवनयापनको निर्विकल्प माध्यम थियो भने आज सक्षम र सक्रिय युवाशक्तिको पलायनका कारण ऐच्छिक बनिएको छ । त्यसकै परिणाम हो कि आज कृषिजन्य सम्पूर्ण वस्तुहरुका लागि परमुखापेक्षी हुनु परेको छ । कृषि उत्पादनको निर्यातबाट विदेशी मुद्रा आर्जन गरी देशको अर्थतन्त्रमा उल्लेख्य योगदान दिएको सत्य दन्त्यकथा झैं भएको छ । कृषिलाई आधुनिक, वैज्ञानिक र उपकरणयुक्त बनाएर उत्पादन वृद्धि गर्ने क्रान्तिको नेतृत्व गरेको झापा क्रमशः कृषि वस्तुकै लागि परनिर्भरतातर्फ उन्मुख भएको छ ।

कृषि क्रान्तिका लागि भूमिसुधार कार्यक्रम लागू भएको झापा नगदेवालीको उत्पादनमा पनि त्यत्तिकै अग्रणी थियो । सनपाट यहाँको प्रमुख नगदेबाली थियो । त्यसबाहेक चिया रोपण शुरु गरेर विदेशमा समेत निर्यात हुँदै आएको चिया उत्पादन क्षेत्र विस्तार भए पनि उत्साहित छैन । त्यस्तै तेलजन्य बालीको उत्पादन ह्रासोत्मुख छ र त्यसको सट्टामा गुणस्तरहीन, अस्वस्थकर र मिसावटयुक्त तेलको उपभोगको प्रवृत्ति बढेर गएको छ । यही अवस्थामा सरकारले कृषि उत्पादन वृद्धि गर्न भन्दै विविध योजना, परियोजना, कार्यक्रम सञ्चालन ग¥यो । तर, ती सबै लक्षित वर्गसामु नपुगेको भनेर आलोचित पनि भएको छ । कृषि उत्पादन बढाउन आवश्यक पूर्वाधारहरुको सुनिश्चितता गर्नुभन्दा अनुदान र सहयोग उपलब्ध गराउने सस्तो लोकप्रियताका योजनाले कृषि क्रान्ति सम्भव छैन, न त त्यसले कृषि प्रणालीमा सुधार नै हुन्छ ।

यही अवस्थामा सरकारले चिया तथा कफी विकास बोर्डको स्थापना गरेर नगदे खेतीको प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गरेको छ । विगतमा सरकारले नै सञ्चालन गरेका ठूल्ठूला चिया बगानहरु निजी क्षेत्रलाई जिम्मा लगाएको सरकारले चिया तथा कफी विकास बोर्डको स्थापना गरेर अनुसन्धान एवम् प्रविधि क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएको छ । तर, सम्बद्ध क्षेत्रका व्यवसायीहरुले भने त्यसको औचित्य नभएको बताउँदै आएका पनि छन् । विगतमा पनि यहाँ उत्पादित कफी बिना प्रशोधन बिक्री गरिन्थ्यो । तर, त्यसको स्थायी बजार नभएको र बजारीकरणमा समस्या भएका कारण भएका बिरुवा नष्ट गरिएकै हो । झापाको बुधबारेमै तीनतले खेती शुरु गरेर कृषि क्रान्तिको थालनी गरिएको थियो । तर, आज कृषि कर्मबाट अपेक्षित लाभ नहुने र सरकारले पनि कृषि क्षेत्रको संरक्षणमा चासो नदिएका कारण आम मानिसको मानसिकता, प्रवृत्ति र व्यवहारमा परिवर्तन आएको छ । बजारको सुनिश्चितता, उचित मूल्यको निर्धारण र योगदानमा आधारित संरक्षणको नीति, कार्यान्वयन नभएसम्म कुनै पनि योजना ‘….कहिले जाला घाम !’ भन्दा बाहेक केही हुन सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here