खबरदार युवा

0
458

खबरदार युवा नेतृत्व ! उहीँ राजनीतिक शैली र परिपाटी बोकेर आउने भए युवा नेतृत्वको आवश्यकता छैन ।
जनताका आशु थाप्ने झोली होस्
हर कोहीले बुझ्ने बोली होस्
मेरो देशका युवासँग
हर चेलीको इज्जत डाक्ने चोली होस्

युवा भनेको समुदाय र सिङ्गो देशको आशाको केन्द्र र भविष्य हो । देशलाई कुन पथमा कुन तरिकाले अगाडि लैजाने भन्ने युवाहरुकै हातमा हुन्छ । कुनै पनि ठाउँ या मुलुकका युवाहरुको सोच, कार्यशैली र ऊर्जाले नै देशको वर्तमान र भविष्यलाई निर्धारण गर्दछ । तसर्थ, युवा वर्ग भनेको देशको आज र भोलि दुबै हुन् । जसको सोच, जमात र शक्तिले मुलुकलाई ऐना देखाउने काम गर्दछ ।

वर्तमान समयमा नेपाली राजनीतिले देश र जनतालाई राजनीतिप्रति एलर्जी नै गराएको छ । अस्थिर राजनीति र कु–शासन प्रणालीले आजको घडीमा धेरैमा राजनीतिक वितृष्णा जगाएको छ । नेताहरुको मनमानी कार्यशैली, भ्रष्टाचार, झुटा आश्वासनले देश र समुदायमा राजनीतिप्रति नकारात्मकता पैदा हुनु स्वभाविकै हो । मूल्य–मान्यता, सिद्धान्तनिष्ठ, आदर्शवान राजनीति र राजनीतिज्ञ अब त शब्दमा मात्र सिमित रहेर गयो । राजनीति देश र जनताको सेवा गर्ने मार्ग होइन पैसा कमाउने, देश र जनतालाई लुट्ने पेशाको रुपमा मौलाउँदै गयो ।

देश विभिन्न प्रकारका रोग, भोक र शोकका समस्याहरुको शिकार बनिरहँदा राजनीतिक दलका नेताहरुलाई भने आफ्नो पद र कुर्सी कै लालचले कहिले छोडेन । कस्तो समस्या र पीडाबाट जनता गुज्रिरहेका छन् भन्ने चिन्ता कुनै दलका कुनै नेतामा रहेन जसले गर्दा मुलुकमा देश र जनताप्रति विश्वास गुमाएको आजको नेतृत्वले गर्दा जनतालाई राजनीतिप्रतिको वितृष्णा बढाएको हो । सपना देखाउने आफ्ना नेत्वृत्वहरुले नै सपना चकनाचुर बनाउँदै आफ्नै दुनो सोझ्याउनमा व्यस्त भएको देख्दा हरकोहीलाई राजनीतिप्रति नकारात्मकता जागेको हो । एक अन्धोले अन्धोहरुलाई मार्गदर्शन गराउने हो भने बाँकी अन्धाहरु खाडीमा गिर्ने पक्का छ ।

नेतृत्व भनेको एउटा प्रणाली हो मुलुक र जनतामाथिको उचित शासन हो । या भनौं नेतृत्व भनेको त्यो हो जसले बाटोलाई बुझेको छ, बाटो हिँडेको छ र बाटो देखाउन सक्षम छ त्यो नै कुसल नेतृत्वकर्ता बन्नेछ । युवा नेतृत्वले समाज र जनताको आवश्यकता र समस्याको जरोलाई मनन गरेर जनताको प्रतिनिधि गरेको हुनुपर्दछ । युवा नेतृत्वले जनताको आँखा, कान र बोली बनेर नेतृत्व गर्ने साहस राखेको हुनुपर्छ । युवा नेतृत्व भनेको ऊर्जावान, सक्षम, चिन्तनशील, क्रियाशील, प्रगतिशील र फराकिलो र खुला विचारधाराको हुनु पर्दछ ।

मुलुकमा अझै पनि कस्तो प्रकारको शासन प्रणाली अपनाउने ? कस्तो नीति तर्जुमा गर्ने भन्नेमा अन्यौल त छ । न लोकतान्त्रिक शासन व्यवस्था अनुसारबाट मुलुक अगाडि बढ्न सकेको छ न नयाँ नीति–निर्माण तर्जुमा गर्न सकेको छ । जसले गर्दा आजको नेतृत्व बदनाम छ ।

यहाँ राजनीति विषयवस्तुसँगको युवा नेतृत्वलाई चिन्तन गरौं । वास्तवमा भन्ने हो भने देशलाई सही नेतृत्व र शासनको आवश्यकता छ । विकासोन्मुख कानून र प्रणालीको आवश्यकता छ । तसर्थ, अब कस्तो प्रकारको नेतृत्वको आवश्यकता छ र कसरी नेतृत्व गर्दा उचित होला ? देशले युवा नेतृत्वलाई बोलाएकै हो त ? यदि हो भने कस्तो हुनुपर्दछ युवा नेतृत्व ? जति पनि युवाहरुको राजनीतिमा चासो छ ! राजनीतिबाट नै देश र जनताको सेवा गर्ने सोच छ के त्यो सोचाइ भएका युवा हरुलाई के ले राजनीतिमा प्रभावित गरायो ? को बाट प्रभावित भए ? यो प्रश्न कतिको महत्वपूर्ण छ आजको समयमा मनन गरौं !

राजनीतिक सिद्धान्त, मर्यादा, निष्ठा, आदर्श र अनुशासन नभएका नेतृत्वकर्ताहरुबाट प्रभावित भएर उनकै कार्यशैलीको वाहवहीको गीत गाएर भेडा जसरी पुच्छर समाएर आउने कुनै पनि नितृत्वलाई फेरि विश्वास गर्ने कि नगर्ने ? फेरि पनि देश र जनताको समृद्धि र सुरक्षालाई बल्छी थपे जस्तो दाउमा लगाउने होर ?

युवा नेतृत्व मुलुक को एउटै आश अनि भरोसा हो । यो नेतृत्व उदाहरणीय र अनुकरणीय हुनुपर्छ । जनतामाथि भएको भ्रष्ट खेल, क्रुर अनि खुराफत र पाखण्डको सीमा नागेर राष्ट्रको सत्ताको काँधमाथि शक्तिको बन्धुक चलाएर सोझासाझा जनता र देशको भविष्य खरानी बनाइरहेका छन् । यहाँ जनभावनासँग खेलवाड भइरहेको छ र अब पनि युवा नेतृत्वले यसै प्रकारका यदि पुरानै राजनीतिक शैली र शिक्षा बोकेर देश र जनताको सेवा गर्छु भन्ने सोचमा आएको हो भने के आशा गर्ने हामी जनताले ? तसर्थ, अब युवाले राजनीतिको सम्पूर्ण वृत्तचित्रलाई बदल्ने गरीको सक्षमता, हिम्मत, सोच र कार्यशैली बोकेर नआएसम्म कोही पनि युवाले नेतृत्व गर्छु भनेर राजनीतिमा देखा नपरे हुन्छ ।

उहीँ परिपाटी र जनता र देशको ढिकुटी लुटेर खाने राजनीति गर्ने हो भने किन चाहियो हामीलाई युवा नेतृत्व ? पुरानै सोच, विचारधार र प्रणाली त हामी सग जति पनि छ। तिनले काम गरेको, नगरेको, कतिसम्म गरेको भन्ने हामी सबैले प्रत्यक्षरुपमा देखिसकेको र भोगिसकेको छौं । तसर्थ, पुरानै नेताका कार्यविधिको सिको गरेर होइन सिद्धान्त र आदर्शलाई सिरोपर गरेर आउ ! किनकि हामी जनतालाई देश खाने मुख फेर्नुभन्दा पनि देश थाम्ने काँध फेर्नुछ । मुलुकलाई निचोरेर खान होइन मुलुकको एक दरिलो खम्बा बनेर आउ । युवा नेतृत्व कस्तो हुन्छ भन्ने उदाहरण बनेर आउ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here