तस्करी गरी ल्याइएका ९ लाख बराबरका जुत्ता बरामद

0
849

झापा,

भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब ९ लाख रूपैयाँ बराबरको जुत्ता बरामद गरिएको छ।

नेपाल–भारत सीमा स्तम्भ ९४ नजिकैबाट नेपाल भित्र्याइएको सो रकम बराबरको जुत्ता सशस्त्र र नेपाल प्रहरीले बरामद गरेको हो। बरामद जुत्ता भद्रपुरका कारोबारीले ज्यामिरगढी नाकाबाट भित्र्याएका हुन्।

मेचीनगर नगरपालिका–१५ स्थित टुक्रे बाँध नजिकैबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले ८ लाख र सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीले ७५ हजार मूल्य बराबरको जुत्ता बरामद गरेको हो।

भारतबाट भन्सार छलेर १० पोकाभन्दा बढी जुत्ता नेपाल भित्रिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालयको टोलीले आइतबार राति ११ बजे करिब ८ पोका अर्थात् ४ सय २० जोर पार्टी र स्पोर्टस् जुत्ता बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

त्यस्तै सोही सूचनाको आधारमा सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीले त्यहींबाटै दुई पोका अर्थात् १ सय ३० जोर पार्टी र स्पोर्टस् जुत्ता बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी प्रेम भण्डारीले जानकारी दिए।

बरामद जुत्ता सशस्त्र र नेपाल प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारीमा छन्। भारतबाट नेपाल आउने जुत्ता अधिकांश विदेशी कम्पनीका हुन्छन्।

कारोबारीले भन्सारमा भारतको भन्दै ल्याए पनि भन्सार कर्मचारीले तेस्रो मुलुकको सामान भन्दै राजश्व काट्न नमान्दा कारोबारीले तस्करी गरी जुत्ता र चप्पल भित्र्याउँदै आइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here