नेपालबाट हङकङ चरेश कारोबार गर्ने गिरोहका पक्राउ

0
477

काठमाडौं।

प्रहरीले नेपालबाट हङकङमा अवैध लागूऔषध चरेशको कारोबार गर्ने गिरोहका सात जनालाई ७ केजी ९ सय ७७ ग्राम अवैध लागूऔषध चरेशसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी घर भएका ३२ वर्षीय अञ्जित थापा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ ठेगाना भई ललितपुर हात्तीवन बस्ने ३० वर्षीय सुजन श्रेष्ठ, सिन्धुपाल्चोक लिसखू गाउँपालिका–५ ठेगाना भएका ४१ वर्षीय सागर भन्ने जालिन्द्र श्रेष्ठ, पर्सा सखुवापर्सौनी गाउँपालिका–१ घर भई हाल काठमाडौं बौद्ध नयाँबस्तीमा सिलाई बुनाई काम गर्ने दिनदयाल महतो उराव, उक्त कोठामा बसेका दीपेन्द्र महतो उराव, मकवानपुर थाह नगरपालिका–११ बस्ने ४५ वर्षीय रवि मुक्तान र धादिङ थाक्रे गाउँपालिका–३ बस्ने २३ वर्षीय मोतीलाल तामाङ रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त प्रहरी टोलीले यही असोज १४ गते ललितपुर मानभवनस्थित ब्लू स्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थामा ९ थान थाङ्का र सो मा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको ३ केजी ५० ग्राम चरेश सहित अञ्जित थापालाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा सोही दिन अञ्जितलाई उक्त सामान दिने सुजनलाई पक्राउ गरी सुजनलाई समेत चरेश दिने जालिन्द्रलाई पक्राउ गरेको हो ।

जालिन्द्रको कोठाबाट सानो थाङ्कामा प्रयोग हुने आयातकार काठको ९६ थान लिस्टिभित्र लुकाई राखेको २ केजी ४० ग्राम चरेश र २ डब्बा फेबिकोल, २ थान फलामको हेक्सो ब्लेड, २ थान छिनो, १ थान चक्कु, २ थान हतौडा, १ थान धार लगाउने सिल्ली, २ थान फलामको ढुङ्ग्रो, ४ रोल ¥यापिङ टेप बरामद भएको छ ।

थप अनुसन्धानको सिलसिलामा असोज १५ गते दिनदयाल महतोको कोठाबाट सानो थाङ्कामा प्रयोग हुने काठको १ सय १३ थान लिस्टिमा लुकाई राखेको २ केजी ८ सय ७५ ग्राम चरेश, ३ थान डिजिटल तराजू, १ थान सिलाई मेसिन, १ थान रोलिङ मेसिन, २ थान फेबिकोल, विभिन्न १७ थान हस्तकला, ६ थान थाङ्का लगायतका सामान र नगद १ लाख रुपैयाँसहित दिनदयाल र दीपेन्द्र महतोलाई पक्राउ गरिएको हो । साथै सोही दिन जालिन्द्र र सुजनलाई चरेस बिक्री गर्ने रबिलाई उनकै कोठाबाट ९ ग्राम ५ सय मिलीग्राम लागूऔषध चरेशसहित पक्राउ गरिएको हो ।

थप अनुसन्धानको सिलसिलामा असोज १६ गते रविलाई चरेश उपलब्ध गराउने मोतीलाललाई समेत २ ग्राम ५ सय मिलीग्राम चरेशसहित पक्राउ गरिएको हो । उनले धादिङ लगायत विभिन्न स्थानबाट लागूऔषध चरेश संकलन गरी उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूले नेपालबाट विभिन्न हस्तकलाका सामानहरुमा चरेश लुकाई कार्गोबाट हङकङ पठाउने गरेको र उनीहरूउपर लागूऔषध सम्बन्धी कसूरमा अदालतबाट म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here