जनगणना सम्बन्धि सचेतना जगाउदैं मिडिया एक्सन नेपाल

0
822

विराटनगर ।

जनगणनाले हरेक क्षेत्रमा महत्व राख्ने भएकाले मिडिया एक्सन नेपालले सात वटै प्रदेशमा सचेतना मुलक कार्यशाला सम्पन्न गरेको छ । केन्द्रिय तथ्याङ्क विभागसंगको सहकार्यमा मिडिया एक्सन नेपालले पत्रकारका लागि जनगणना सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

जनगणनाले देशको आर्थिक विकास तथा राजनीतिक योजनाका साथै भावी योजनाको विषयमा धारणा तय गर्ने भएकाले जनगणनामा सबैको सहभागिता अनिवार्य रहेको आयोजक मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले बताए । उनले मिडिया एक्सन नेपालले केन्द्रीय तथ्याङ्क विभागसँगको सहकार्यमा सात वटै प्रदेशका पत्रकारहरुलाई जनगणना सम्बन्धी मिडिया सचेतना कार्यशाला सम्पन्न गरेको जानकारी दिए ।

जनगणनाका हरेक क्षेत्रलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठान गर्दै नागरिकलाई सू–सूचित गर्नुपर्ने बताए । उनले एक पटकको जनगणनाको आधारमा १० वर्षसम्मको निीति निर्माण हुनेभएकाले जनगणमा सबैको सक्रियताका साथ सहभागिता हुनुपर्ने उल्लेख गरे ।

सुशासन र समृद्धीका लागि आधार तथ्याङ्क उपलब्ध गराउने जनगणनामा हामी सबैको सहभागिता र सहयोग आवश्यक रहेको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक केशव गौतमले बताएका छन् । विभागसँगको साझेदारीमा मिडिया एक्सन नेपालले प्रदेश नं.१को राजधानी विराटनगरमा आयोजना गरेको जनगणना सम्बन्धी सचेतना कार्यशालालाई सहजिकरण गर्ने क्रममा निर्देशक गौतमले सो कुरा बताएका हुन् ।

जनगणनाबाट सबैभन्दा सानो प्रशासकीय इकाई वडा तहसम्मको लैंगिक तथा समावेशी तथ्याङ्क प्राप्त हुने, विकास निर्माणका काम तथा लक्षित कार्यक्रमहरु तर्जुमा तथा सञ्चालन गर्न आवश्यक पर्ने अति उपयोगी सूचना प्राप्त हुने हुँदा जनगणनाको महत्व रहेको उनले बताएका छन् ।त्यसैगरी प्रतिनिधि सभा तथा प्रदेश सभाको सदस्यको निर्वाचनको लागि क्षेत्र तथा संख्या निर्धारण गर्न, राज्यका विभिन्न तहहरुमा विभिन्न जाती, भाषा, धर्म, क्षेत्र, वर्ग, लिङ्ग, अपाङ्गता, पिछडिएको क्षेत्र तथा समुदाय, लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरुको समानुपातिक प्रतिनिधित्वको सुनिश्चतता गर्न, केन्द्र सरकारबाट प्रदेश सरकार र स्थानीयस्तरमा स्रोत परिचालन गर्न, स्थानीय तह सम्मकै योजना तर्जुमा गर्न जनगणनाबाट प्राप्त हुने तथ्याङ्क प्रयोग हुने बताइएको छ ।

त्यस्तै नागरिकहरुमा जनगणनाबाट संकलन भएको व्यक्तिका विवरणहरुको दुरुप्रयोग हुनसक्ने भन्ने भनाइप्रति सत्यता नभएको उनले दावी गरेका छन् । विभागका अनुसार यस पटकको जनगणनामा देशभर आठ हजार पाँच सय जना सर्वेक्षक र ३९ हजार जना गणक परिचालन हुनेछन् । यता प्रदेश तथ्याङ्क कार्यालयका निर्देशक एवम् जनगणना कार्यालय प्रमुख तीर्थराज बरालले यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने जनगणनाको लागि गणकहरुलाई तालिम दिइने कार्यक्रम भइरहेको जानकारी दिए । जनगणनाको महत्वलाई बुझेर आफ्नो सत्य तथ्य विवरण दिन उनले सबैसँग आग्रह गरेका छन् ।

प्रदेश नं. १का झापा, मोरङ र सुनसरीका २५ जना पत्रकारको सहभागिता रहेको थियो । कार्यशालामा केन्द्रीय तथ्याङ्क विभागका कम्प्युटर अधिकृत डोलनारायण श्रेष्ठले यसपटकको जनगणनामा नागरिकका धेरै विषयहरुसमावेश गरिएको र उक्त विवरणले देशको नीति निर्माणमा टेवा पुग्ने भएकाले जनगणनामा सबैको सहभागिता अनिवार्य रहेको विचार व्यक्त गरे ।

कार्यशालाको सहजिकरण गर्दै स्वास्थ्य पत्रकार महासंघकी निवर्तमान अध्यक्ष कल्पना आचार्यले लैंगिक समानता तथा नागरिकको स्वास्थ्यका धेरै विषयहरु जनगणनामा समेटिने भएकाले अनिवार्य रुपमा जनगणनामा सहभाती हुन आव्हान् गरिन् । उनले यस पटकको जनगणनामा विभिन्न किसिमका रोगहरुको वर्गीकरण गरिएकाले यदी कसैमा शारीरीक अस्वस्थ्यता भएमा घर–घरमा आउने गणकहरुलाई सो विषयमा जानकारी गराउन आग्रह गरिन् ।

केन्द्रीय तथ्याङ्क विभागसँगको सहकार्यमा भएको कार्यशालामा सहभागी पत्रकार देवनारायण शाह र मनिता चाम्लिङले कार्यशालाबाट धेरै विषय बुझ्ने अवसर पाएको भन्दै मिडिया एक्सन नेपाललाई धन्यवाद दिएका थिए । उनीहरुले प्रदेश नं. १ का जनगणना सम्बन्धी हरेक विषयलाई प्राथमिकताका साथ सञ्चारमाध्यममा स्थान दिइने बताए । कार्यक्रमको सञ्चालन मिडिया एक्सन नेपाल प्रदेश नं.१ का संयोजक नरेन्द्र ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here