पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले वडा नम्बर ३ की ज्येष्ठ नागरिक एकल महिलामाथि सांघातिक आक्रमण गर्नेहरुको खोजी गरी कडाभन्दा कडा कार्वाही गर्न स्थानीय प्रहरी प्रशासनलाई पुनःअनुरोध गर्नुभएको छ ।
उपप्रमुख वास्तोलाको अगुवाईमा आज आइतबार वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, कार्यपालिका सदस्य मायामेगी गुरुङ, वडा सदस्य देवीप्रसाद घिमिरे, गिरिराज भट्टराई, स्थानीय समाजसेवी भला रेग्मी सहितको टोलीले टप्पु टोलकी हर्कमाया दंगाललाई भेटी उहाँको अवस्थाका बारेमा जानकारी पनि लिएको छ ।
गत असोज २० गते दिउँसो अज्ञात रुपमा सांघातिक आक्रमणमा परी हाल मानसिक रुपले समस्यामा पर्नु भएकी ७० वर्षीया दंगालको घरमा पुगेर घटनामा संलग्न पक्षको पहिचानका बारेमा छलफल गर्दै दोषी चाँडो पत्ता लगाउन आफुहरुले समेत प्रहरी प्रशासनसमक्ष अनुसन्धान चुस्त बनाउन अनुरोध गर्ने टोलीले जनायो ।
सो क्रममा उपप्रमुख वास्तोलाले इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्कालाई दोषी चाँडो पत्ता लगाउने गरी प्रहरी सक्रियता बढाउनु पर्ने वताउनु भयो । उहाँले एकल महिलामाथि भएको यस प्रकारको घटनाले समाजमा महिला भएर बाँच्न झनै त्रास बढाएको वताउनु भयो ।
घर नजिकै खेतमा गएको अवस्थामा दंगालमाथि अज्ञात रुपमा आक्रमण भई अनुहार र टाउकोमा गहिरो चोट लागेको उनीको सिकिस्त अवस्थामा नोवेल अस्पताल विराटनगरको सघन उपचार कक्षमा उपचारपछि घर फर्किनु भएको छ ।
तर,टाउकामा भएको प्रहारका कारण उहाँले आफुमाथि आक्रमण गर्ने सहितका कुनै कुरा हाल स्मरण गर्न सक्नु भएको छैन । प्रहरी प्रमुख खड्काले घटनाको अनुसन्धान भइरहेको र दोषी पत्ता लगाउन प्रहरी सक्रिय बनिरहेको जवाफ दिनु भएको छ ।





























