अमित खम्बू ,अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकालाई कृषि र पशुको हब बनाउन खोजे पनि विविध समस्याले गर्दा नसकिएको नगर प्रशासन शाखा प्रमुख चुँडामणी निरौलाले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश कार्यालय विराटनगरको सहयोगमा मानव अधिकार समूह अर्जुनधाराद्वारा सोमबार आयोजित खाद्य अधिकारको विषयमा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख निरौलाले सो कुरा बताएका हुन् ।
कृषि विकास शाखा र पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाको कमजोरी स्वीकार गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले शाखाका कर्मचारीहरुले कृषकहरुसँग सहकार्य गर्न नसकेको, शाखाले सञ्चालन गर्ने कार्यक्रमहरु बारे कृषकहरुलाई बुझाउन नसकेका कारण समस्या भएको बताए ।
उनले कृषि विकास शाखातर्फ संकेत गर्दै उक्त शाखामा अधिकृतस्तरको नेतृत्व नहुनु पनि अर्को समस्या भएको बताए । “जनप्रतिनिधिको चाहना पनि हो अधिकृतस्तरको नेतृत्व,‘तर अधिकृत ल्याउन सम्भव भएको छैनौं ।”–उनले थप आफ्नो भनाइ राखे ।
कर्मचारीहरुमा काम गर्न इच्छाशक्ति भए उत्कृष्ट नगर हुने बताएका उनले अन्तरक्रिया कार्यक्रमबाट आएका सुझावहरुलाई कार्यान्वयन गर्न आफूले पहल गर्ने बताए ।
यता कृषि विकास शाखा प्रमुख उर्मिला राजवंशीले कृषि सम्बन्धी नीतिहरुको अभावमा शाखाले ल्याउने कार्यक्रमहरु सञ्चालन गर्न नसकिएको दावी गरे ।
त्यसैगरी गत असोज ३१ गते परेको बेमौसमी वर्षाका कारण नगरको छ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमध्ये नौ सय ८५ हेक्टर क्षेत्रफलको धानबाली पूर्णरुपमा क्षती भएको उनले जानकारी गराइन् ।
समूहका अध्यक्ष चन्द्र सुवेदीले प्रस्तुत गरेको कार्यपत्रमा कृषि सम्बन्धी १५ वटा र पशुपंक्षी, मत्स्य तथा कछुवा सम्बन्धी ११ वटा बुँदा उल्लेख गरिएको थियो । कार्यपत्रमा उल्लेख गरिएको बुँदाहरुको विषयमा कृषि विकास शाखाकी प्रमुख राजवंशी र पशुपंक्षी, मत्स्य विकास शाखाका पशु सेवा प्राविद्यिक बेनुपकुमार बस्नेतले जवाफ दिएका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) प्रदेश नं.१ का इञ्चार्ज दिपीन राई, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, कृषक संगठनका हरि शर्मालगायतले सुझाव पेस गरेका थिए । कार्यक्रमको सञ्चालन समूहका संयोजक राजन साम्पाङले गरेका थिए ।































