नगर प्रमुख दिलीप कुमार राईसहित तीन जना सम्मानित

0
556

पथरी शनिश्चरे ।

मोरङको पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राई सहित तीन जना सम्मानित हुनु भएको छ ।

शिविर व्यवस्थापन समितिले नगरको वडा नम्बर १० स्थित भुटानी शिविरमा आयोजित कार्यक्रममा नगर प्रमुख राई र नगरको शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले सम्मानपत्रले सम्मानित हुनु भएको हो ।

शिविरमा बाटिका बाल विकास केन्द्र स्थापना गराई भूटानी शरणार्थी बालबालिकाको शिक्षाको क्षेत्रमा योगदान दिएको भन्दै उहाँहरुलाई शिविर सचिव चम्पासिंह राईले सम्मान गर्नु भयो । सो अवसरमा शिविरमा सहयोगको वातावरण सिर्जना गर्दै नेपाली लोक दोहोरी क्षेत्रमा योगदान पुर्याउने इन्द्रेणी कार्यक्रमका प्रमुख कृष्ण कँडेललाई पनि सम्मानित गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख राईले तेस्रो मुलुक पुनःस्थापना भएका भूटानी शरणार्थीहरुको संस्था जीबीओको सहयोगमा निर्मित ३ कोठे बाल विकास केन्द्र भवनको उद्घाटन गर्दै शरणार्थीहरुका लागि नगरले पुर्याउन सक्ने सहयोग सधैं पुर्याइरहने वताउनुभयो ।

बालबालिकाको मनोसामाजिक, संवेगात्मक र भौतिक विकासका लागि स्थापित बालविकास केन्द्रमा हाल शिविरका ३ देखि ४ वर्षका ३९ जना बालबालिका रहेका छन् । उनीहरुका लागि शैक्षिक सामग्री समेत वितरण गरिएको छ ।

कार्यक्रममा सुप्रसिद्ध लोक गायक एलपी जोशी, लोक गायकहरु सिताराम ताजपुरिया, विशाल राई, बालकृष्ण कार्की, बालकृष्ण सिग्देल, महेश बुढाथोकी सहित इन्द्रेणी कार्यक्रमका कलाकारहरु सहभागी भएका थिए । इन्द्रेणी कार्यक्रमबाट लोकदोहोरी समेत प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here