विनोद सापकोटा
झापा ।

स्थानीयबासीको विरोधलाई वेवास्ता गरेका नमुना इटाभट्टाका संचालकले स्थानीय सरकारलाई समेत नटेरेको पाईएको छ । झापाको हल्दिबारी गाँउपालिकाकोे न्यायिक समितिलाई नमुना ईँटाभट्टाका संचालकले नटेरेको पाईएको हो ।
स्थानीयको उजुरी पछि मंगलबार तत्काल ईटाभट्टा संचालन नगर्नु भनेर दिएको आदेशको संचालकले खिल्ली उडाउदै बुधबार बिहानै देखी भट्टा संचालन गरिरहेका छन् । साविकको चारपाने ३ मा दर्ता भएको इटाभट्टाका संचालकले स्थानीय वडा कार्यपालिका संगको मिलेमतो हल्दिबारी १ गोलधापमा पुनः भट्टा सञ्चालन गरेको स्थानीयको आरोप छ । यसरी एक ठाँउमा दर्ता भएको उद्योग अर्को ठाँउमा संचालन गर्न पाँइदैन । जबरजस्ती भट्टा संचालकले उद्योग संचालन गरिरहेका छन् ।
स्थानीयबासिन्दाले गएको असोज २० गते स्थानीय हल्दिबारी गाँउपालिकाको न्यायिक समितिमा उजुरी गरेका थिए । पालिकाले १ महिना पछि भट्टा संचालन नगर्न संचालकलाई लिखित आदेश दिएपछि स्थानीयले राहत महसुस गरेका थिए । पालिकाको सूचना साखाका अनुसार मङ्गलवार नमुना इटाभट्टा उद्योगका सञ्चालक दिनेश चौलागाईको नाममा पत्र पठाउँदै भट्टा तत्काल रोक्न आदेश दिएको थियो ।

सो आदेशमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ को दफा ४७ को उपदफा २ (ञ) बमोजिम स्थानीयले उजुरी दिएपछि तत्काल भट्टाको कामकाज सञ्चालन नगर्न भनेको छ । तर , न्यायिक समितिले दिएको आदेशलाई संचालकले हावामा उडाउदै भट्टा संचालन गरिरहेका छन् । यसको अर्थ सर्वसाधरणले पालिकाको आदेश पनि भट्टा संचालकले टेरेनन् भन्ने बुझेका छन् ।
‘भट्टा साविकको चारपाने ३ मा दर्ता भएको छ । हल्दिबारी गाँउपालिकामा दर्ता भएकै छैन,’ स्थानीय गोविन्द घिमिरेले भने ‘स्थानीयको तिब्र असन्तुष्टीका विच पनि नमुना इटाभट्टाका संचालकले स्थानीय जनप्रतिनिधिलाई प्रभावमा पारेर भट्टा सञ्चालन गरिरहेका छन् । यो उनिहरुको जवरजस्ती हो ।’

मानव स्वास्थ्य र बातावरणमा समेत स्थानीयलाई प्रत्यक्ष असर पर्न थालेपछि १२२ जनाले हल्दिबारी गाँउपालिकाको न्यायिक समितिमा असोज २० गते लिखित उजुरी गरेका थिए । स्थानीयले भट्टा संचालक दिनेश चापागाईँ र विरबल योङहाङ (लिम्बू)लाई विपक्षी बनाई उजुरी गरेको हल्दिबारी गाँउपालिकाले जनाएको छ । तर पालिकाको न्यायीक समितिले भने चापागाईँको नाममा आदेश गरेको छ ।
स्थानीयहरू भट्टा संचालनको विरोधमा लामो समय देखी आन्दोलनमा थिए । ‘हामीले पटकपटक अनुरोध गर्दा पनि ‘प्रशाशनले केहि गर्न नसक्ने’ भन्दै संचालकले भट्टा संचालन गर्दे आएका थिए,’ स्थानीय व्यवसायी समेत रहेका घिमिेले भने । चारपाने ३ मा दर्ता भएको नमुना इटाभट्टा हल्दिवारी गाँउपालिकाको अनुमती विना संचालन गर्न नपाईँने ।’
यता पालिकाका प्रमुख रविन्द्र लिङ्गदेनले हल्दिबारी गाँउपालिमा नमुना ईटा उद्योग दर्ता नभएको बताए । दर्ता नभएको उद्योग विना अनुमति संचालन गर्न नपाइने अध्यक्ष लिङदेनले पूर्वाञ्चल डेलिडटकमलाई बताएका छन् । जवरजस्ती गरे कानुन अनुसार कार्वाही हुने लिङदेनले बताएका छन् ।

स्थानीयका अनुसार भट्टा संचालकले वातावरणको प्रभाव मूल्याङ्कन पनि गराएका छैनन् । उद्योग संचालनगर्नु पूर्व वातावरण प्रभाव मुल्याँकनको प्रमाण पत्र लिन अनिवार्य छ । भट्टाको साँध सिमाना भएका सँधियार र स्थानीयलाई प्रभावित परिवारको पनि असहमती हुँदा हुँदै भट्टा संचालन गरिएको आरोप स्थानीयको छ ।
घरेलु तथा साना उद्योग कार्यालयमा नमुना इँटा उध्योग दर्ता नभएको कार्यालयकी सूचना अधिकारी दुर्गा बाँस्तोलाले बताईन् । उनका अनुसार ०६४ सालमा साविकको गोलधाप ८ मा नेशनल इँटा उध्योग दर्ता भएको तथ्याँङ्गक कार्यालय संग छ । ‘त्यसको संचालक दिनेश चापागाँई नै हुनुहुन्थ्यो । अहिले पनि उहाँको नाँउ अनौपचारिक रुपमा जोडिएको छ’ बास्तोलाले भनिन् ।
संचालकले यतिबेला प्रालिमा आफ्नो उद्योग रहेको भन्दै सुचिकृत गरिदिन निवेदन गर्नुभएको कार्यालयले जनाएको छ । स्थानीयबासिन्दाको विरोधका कारण अब भट्टा संचालनको अख्तियारी कार्यालयले दिन नसक्ने घरेलु तथा साना उद्योग कार्यालय झापाकी सूचना अधिकारी बाँस्तोलाले बताइन् । स्थानीयले नजिकै रहेको मानव बस्ती, विद्यालय, अस्पताललाई प्रतिकुल असर पारको भन्दै कार्यालयमा पनि उजुरी गरेको कार्यालयले जनाएको छ ।
स्थानीयको निवेदन पछि भट्टा संचालन गर्न रोक लगाइएको हल्दिबारी गाँउपालिकाका उपाध्यक्ष समेत रहेका न्यायिक समितिका संयोजक डम्बरबहादुर गिरीले बताए । पालिकाको पत्र पाएपछि पनि उद्योग संचालनमा रहेका पाईएको प्रहरी लगाएर संचालकलाई पक्राउ गरिने उपाध्यक्ष गिरीले बताए ।






























