सशस्त्र प्रहरीको भवन उद्घाटन

0
503

झापा।

झापाको भद्रपुर नगरपालिका–३ स्थित मेचीपारि गाउँमा १८औं सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (वीओपी) को भवन उद्घाटन गरिएको छ ।

मेचीपारि गाउँवासीको शान्ति सुरक्षा, चोरी, तस्करी तथा सीमा अतिक्रमण रोक्ने उद्देश्यले गत २०७७ फागुनमा ९ गते सशस्त्र प्रहरी वीओपी स्थापना गरिएको थियो ।
विओपी स्थापनाका लागि स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गा स्थानीय दाताहरूबाटै आर्थिक रकम सङ्कलन गरी बनाइएको विओपी भवन महेशपुरको बुधवार एक कार्यक्रमका बीच हस्तान्तरण तथा उद्घाटन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी मुख्यालय सुनसरीका डीआइजी कमल गिरी र भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले संयुक्त रुपमा वीओपी भवनको उद्घाटन गरेका हुन् ।
वीओपीमा स्थानीय दाताहरूबाट सङ्कलित ६ लाख ८० हजार ६७५ रुपैयाँमा एउटा जवान व्यारेक, एउटा भान्सा, दुई वटा शौचालय, एउटा गोलघर र गेट निर्माण गरिएको छ ।

त्यस्तै स्थानीयले ३ लाख ५६ हजार ३२१ रुपैयाँ बराबरको निःशुल्क जिन्सी सामग्री समेत वीओपीलाई उपलब्ध गराएको भवन निर्माण समितिका अध्यक्ष निलमकुमार राईले जानकारी दिए । भवन निर्माणका लागि स्थानीय जग्गादाता मायाराम महतोले चार कठ्ठा र कपिलेश्वर महतोले एक कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएको उनले बताए । त्यस्तै सोही कार्यक्रममा जग्गादाता र आर्थिक रकम सहयोग गर्ने दाताहरूलाई समेत सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रममा डीआइजी गिरीले सीमा क्षेत्रमा हुने कुनै पनि अपराधका क्रियाकलापलाई नियन्त्रण गर्नका निम्ति व्यावसायिक र इमानदारीका साथ खटिन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

त्यस्तै कार्यक्रममा नगरपालिका मेयर श्रेष्ठ, उपमेयर चन्द्रमाया श्रेष्ठ, एमालेका जिल्ला सदस्य असारु राजवंशी, कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, माओवादी केन्द्रका नगर अध्यक्ष शिवकुमार राजभण्डारी, एकीकृत समाजवादीका नगर अध्यक्ष पदम सुब्बा लगायतले मन्तव्य राखेका थिए ।

३ नम्बर वडा अध्यक्ष कमला थुलुङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन विओपी पृथ्वीनगरका इन्स्पेक्टर अशोक न्यौपानेले गरेका थिए । सो विओपी भवनको २०७७ फागुन ४ गते नगरपालिका मेयर श्रेष्ठले शिलान्यास गरेका थिए । मेचीपारि गाउँमा बिजुली, बाटोघाटो, झोलुङ्गे पुलसँगै वीओपी स्थापना भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here