भाइटीकामा माला, सप्तरंगी टीकाको महत्व

0
781

हिन्दुहरुको दोस्रो ठुलो पर्व तिहारको मुख्य दिन आज भाइटिका लगाएर मनाइँदैछ ।

भाइ टीका तिहारको वा यमपन्चकको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका र महत्वका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान(सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ ।

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा(मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेश को पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ ।

फुलको महत्व

भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्गकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ ।

सप्तरंगी टीकाको महत्व

दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका पहेंलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो सात रङ्गका टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ । सप्तरङ्गी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ ।

पूजा पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति प्राप्त हुन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाइदिएपछि दिदीबहिनीले उपहार दिन्छन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसार वस्त्र तथा दक्षिणा आदि प्रदान गरि भाइटिका पर्व धुमधामसँग मनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here