बालबालिकाको समस्या समाधान गराउन मेयरसँग संवाद कार्यक्रम

0
460

अमित खम्बू,अर्जुनधारा ।

बालबालिकाहरुसँग सम्बन्धित समस्याहरुको विषयमा नीतिगतरुपमा समाधान गराउने उद्धेश्यले नगर सामाजिक विकास शाखाको आयोजनामा सोमबार मेयरसँग बालबालिका संवाद कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रमका सहभागी विद्यार्थीहरुले विद्यालयमा आवश्यक पूर्वाधार, प्राविद्यिक शिक्षा, शुद्ध खानेपानी, व्यवस्थित शौचालय, वर्कसीट कार्यान्वयन, क्यान्टिन, अनुगमन, धुलाम्मे सडक, पुल निर्माणलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

सामुदायिक र संस्थागत गरी १८ वटा बढी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा उत्कृष्ट प्रश्नकर्ताको रुपमा पाँच जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

यसरी पुरस्कृत हुनेहरुमा अर्जुनधारा–१स्थित भीमले माध्यमिक विद्यालयकी छात्रा श्रेया बराल(कक्षा–८), अर्जुनधारा–४स्थित लक्ष्मी प्राथमिक विद्यालयका छात्र लेखनाथ ढकाल (कक्षा–४), अर्जुनधारा माध्यमिक विद्यालयकी छात्रा जुनु बराल(कक्षा–१०), अर्जुनधारा–८स्थित चन्द्रोदय प्राथमिक विद्यालयका छात्र शिवन दर्नाल(कक्षा–५) र अर्जुनधारा–५स्थित भानु माध्यमिक विद्यालयकी छात्रा रसमी शर्मा(कक्षा–११) रहेका छन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं, निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन)का नगर अध्यक्ष रुद्र सिटौला, नेपाल शिक्षक महासंघका नगर सचिव गंगा पोखरेललगायतले आफ्नो धारणासहित मन्तव्य व्यक्त गरेका थिए ।

सामाजिक विकास शाखाका प्रमुख सुमित मगरले कार्यक्रको औचित्यसहित स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन महिला विकास निरीक्षक जमुना पौड्यालले गरेकी थिइन् ।

जनप्रतिनिधि उपस्थित थिएनन्ः

जनप्रतिनिधिहरुले नीति निर्माण गर्दा बालबालिकाहरुको मुद्धा पनि समावेश होस् भन्ने उद्धेश्यले आयोजना भएको उक्त कार्यक्रममा नगर उपप्रमुखसहित ११ वडाका वडाध्यक्षहरु भने उपस्थित थिएनन् ।

आयोजकका अनुसार सबैलाई निमन्त्रणा गरिएकोमा अर्जुनधारा–१० वडा समितिका अध्यक्ष बलदेवसिंह गोम्देनबाट अख्तियारी पाएका वडा सदस्य भोला गौतम, सामाजिक विकास समितिका संयोजक दिलीप गुरुङ र पूर्वाधार विकास समितिका संयोजक रमेश त्रिखत्री भने कार्यक्रममा उपस्थित थिए ।

यता यस विषयमा अर्जुनधारा–६ वडा समितिका अध्यक्ष लोकनाथ गौतम जरुरी काम परेका कारण आफू उक्त कार्यक्रममा उपस्थिति हुन नसके पनि सदस्यलाई सहभागि हुन निर्देशन दिएको बताउँछन् ।

कार्यालय स्रोतका अनुसार नगरपालिकाले आयोजना गर्ने महत्वपूर्ण कार्यक्रमहरुमा पनि जनप्रतिनिधिहरुको उपस्थिति नहुने वा भएमा न्यून संख्यामा मात्र हुने गरेको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here