शिक्षक तथा गायक खपाङ्गीको ‘हाम्रो किताब’ सार्वजनिक

0
796

२०४५ सालदेखि शैक्षिक क्षेत्रमा अध्यापनको जिम्मेवारी सम्हाल्दै आएका उनको परिचय अब शिक्षकको मात्र रहेन । अध्यापनसँगै ६ वर्ष अघि सार्वजनिक भएको ‘रोहीत खपाङ्गीका गीतहरु’ एल्बम मार्फत् उनले आफूलाई गायक, रचनाकार तथा संगीतकारको रुपमा परिचित गराउँदै आफ्ना प्रशंसकहरुको संख्या पनि वृद्धी गर्न सफल भएका छन् ।

‘फास्टेस्ट म्यान अन द अर्थ’को उपाधि पाएका जमैकन धावक उसेन बोल्ट र विद्युत बल्बका अविष्कार गर्ने वैज्ञानिक थोमस अल्बा एडीसन आफ्नो प्रेरणाको स्रोत रहेको बताउने उनी सोमबार खुसी मुद्रामा भेटीएका थिए । सुन्दर संसार अनी स्वस्थ, स्वाभिमानी, आनन्दित र सफल जीवनका लागि सात वर्षदेखिको अध्धयन, अनुसन्धान र प्रयोगबाट तयार भएको ‘हाम्रो किताब’को सार्वजनिक कार्यक्रमले उनलाई लेखकको परिचय दिलाएका कारण उनी खुसी मुद्रामा भेटीएका हुन् ।

फरक ढंगले कार्यक्रमहरु गर्न रुचाउने उनले पुस्तक सार्वजनिक कार्यक्रमस्थल पनि आफूले अध्यापन गराउने विद्यालय झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयको प्राङ्गणलाई रोजेका थिए । विद्यालयका प्रधानाध्यापक चेतामणी खनालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नर्सरीमा अध्धयनरत् पाँच वर्षीया छात्रा सायदू खातुनले पुस्तक सार्वजनिक गरेकी थिइन् ।

म मान्छे हुँ भने केही गर्नुपर्दछ भन्ने सोच लिएर मानव जगतलाई केही न केही सहयोग पुग्छ भन्ने उद्धेश्यले आफ्नो जीवनसँग जोड्दै उक्त पुस्तक लेखेको सार्वजनिक कार्यक्रमपछी उनको निजी निवास अर्जुनधारा–९मा आयोजित पत्रकार भेटघाटमा उनले बताए । बिर्तामोडस्थित इन डिजाइनका सञ्चालक एवम् सञ्चारकर्मी एकराज प्रधानको सहयोगमा टाइपिङ, डिजाइन, सेटीङ आदिको काम समेत उनी आफैले गरेको जानकारी गराए ।

प्रकृत प्रकाशनद्वारा प्रकाशित उक्त पुस्तकमा सात वटा भाग उल्लेख गरिएको छ । जम्मा ३७९ पेजमध्ये ६ पेज सन्दर्भ स्रोतका लागि खर्चेका पुस्तकका भाग–१मा ब्रह्माण्ड र पृथ्वी, भाग–२मा पृथ्वीमा जीवन, भाग–३मा मान्छे, भाग–४मा जन्म, मृत्यु र स्वास्थ्य, भाग–५मा मान्छे र उसका सम्बन्धहरु, भाग–६मा नेपाल र नेपाली र भाग–७मा अन्त्यमा उल्लेख भएका छन् ।

कार्यक्रमका सहभागी अग्रज पत्रकार एवम् लेखक तीर्थ सिग्देलले ‘हाम्रो किताब’ पाठकले पढेपछी अर्को पुस्तक पढ्नुपर्दैन र लेखकले अर्को पुस्तक पनि लेख्नु नपर्ने प्रतिक्रिया दिन्छन् । उनले परम्परागत ज्ञान प्रति नयाँ दृष्टिकोण भएको उक्त पुस्तक पुरातनपन्थी सोच विरुद्ध आधुनिकताको खोज भएको बताए ।

 

त्यसैगरी कार्यक्रममा पुस्तक चर्चाको जिम्मेवारी पाएका नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पूण्य सुवेदी हामीलाई दैनिक जीवनमा आवश्यक पर्ने सूचनाहरु एउटै स्रोतबाट उपलब्ध हुने हुँदा पुस्तक उपयोगी हुने बताउँछन् । त्यस्तै इन्टरनेटमा उपलब्ध हुने सबै सूचनाहरु भरपर्दो नहुने हुँदा आधिकारिक र तथ्य सूचना पाउन उपयोगी हुने उक्त पुस्तकमा उल्लेख भएका विषयहरुले आधुनिक र वैज्ञानिक संस्कारको बहस सुरु गरेको उनको तर्क छ ।

शिक्षक रुद्र खतिवडाले पुस्तकमा उल्लेख भएको ‘तपाईं’ शिर्षकको अंश प्रस्तुत गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक खनालले व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक कपिलदेव तिम्सिनाले गरेका थिए ।

प्रस्तुतीः अमित खम्बू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here