राष्ट्रिय राजनीतिमा झापालीको पहुँच

0
740

सुरेन्द्र भण्डारी

झापा, नेपालको राष्ट्रिय राजनीतिमा झापालीको पहुँच स्थापित भएको छ ।
चितवनमा सम्पन्न नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली दोस्रोपटक अध्यक्षमा निर्वाचित हुनु, झापाकै विश्व प्रकाश शर्मा पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा आकांक्षी देखिनु र राप्रपाका नेता राजेन्द्र प्रसाद लिङ्देनले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुले पनि राष्ट्रिय राजनीतिमा झापालीको पहुँच स्थापित हुँदै गएको देखाएको हो ।
नेकपाका अध्यक्ष ओली यस अघि एमालेको नवौं अध्यक्ष हुन् । यता शर्मा नेपाली कांग्रेस पार्टीको प्रवक्ता हुन् भने लिङ्देन राप्रपाका महामन्त्री हुन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि झापाली हुनुले नेपालको राष्ट्रिय राजनीति हाँक्ने ठाउँमा झापाली पुगेको प्रष्ट हुन्छ ।
झापा आन्दोलनबाट आएको समूहले २०३५ साल पुस ११ गते नेकपा (माले) गठन गर्दै अघि बढेको थियो । त्यसबेला झापाका सीपी मैनाली नेकपा मालेका महासचिव थिए ।
२००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेकपा स्थापना भएको थियो । त्यसको चार वर्षपछि २०१० माघ १७ गते भएको पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी महासचिवमा निर्वाचित भएका थिए । पहिलो महाधिवेशन भूमिगत रूपमा नौ दिनसम्म चलेको थियो ।
२०७१ साल असारमा काठमाडौंमा भएको नवौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित ओलीले पार्टी हाँक्दै आएका थिए । त्यस बेलादेखि नै नेपाल कम्युनिष्ट पार्टी हाँक्ने अभिभारा लिएका ओली हालै चितवनमा सम्पन्न १०औं महाधिवेशनबाट पुनः दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका छन् भने राप्रपाको नेतृत्व लिने दाउमा लिङ्देन पुगेका छन् ।
राजनीतिमा ‘चतुर खेलाडी’ मानिने सिटौला अहिले मौन बसे पनि सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसको महामन्त्री हत्याउने दाउमा शर्मा पुगेका छन् । वि.सं. २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरी बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई लगायत नेतालाई लामो समय थुनेको तत्कालीन सुन्दरीजल बन्दीगृह (बीपी संग्रहालय) पुगेका नेता शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै देश दौडाहामा निस्किएका छन् ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधवारबाट शुरु भएको छ । पूर्व पञ्चहरुको तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक हुन लागेकोले यो महाधिवेशनमा नेतृत्व हत्याउने दाउमा लिङ्देन छन् भने अध्यक्ष पुनः दोहो¥याउने दाउमा कमल थापा छन् ।
नेपालमा १०५ वटा दल दर्ता रहे पनि केही दल खारेज भएको निर्वाचन आयोगले जनाएको छ । हाल नेपालमा ९५ वटा दल दर्ता छन् । त्यसमध्ये सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस महाधिवेशनकै चरणमा छ भने प्रतिपक्षमा रहेको नेकपा एमालेले हालै महाधिवेशन सम्पन्न गरेको छ । अन्य दलले पनि धमाधम अधिवेशन गरिरहेका छन् ।
नेपालको राष्ट्रिय राजनीतिमा पहुँच राख्ने दलको नेतृत्व तहमा झापाली पुग्नु आफैंमा गर्व लाग्ने विषय भएको झापावासीको बुझाइ छ ।
एक दशक लामो सशस्त्र द्वन्द्वपछि २०७२मा नयाँ संविधान जारी गर्दै एकात्मक राज्यबाट संघीय संरचनासहितको राज्यको परिकल्पना गर्दै अघि बढेको नेपालमा राज्य सञ्चालन बारे फरकफरक दृष्टिकोणसहित नेपालको केन्द्रीय राजनीतिमा झापाली छाउँदैछन् ।
अरुण पूर्वका नौ जिल्लालाई छुट्टै लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग सहित नेपालको राष्ट्रिय राजनीतिमा छाएको अर्काे दल हो संघीय लिम्बूवान नेपाल । झापाको दमकमा मुख्य कार्यालय रहेको यो दलको नेतृत्व कुमार लिङ्देन मिराकले गरिरहेका छन् । संख्यात्मक रुपमा यो दलका कार्यकर्ता थोरै भएपनि राष्ट्रिय राजनीतिमा यसको प्रभाव देखिने गरेको छ । मुलुक संघीय संरचनामा गएको लामो समय बितिसक्दा समेत प्रदेश १ को नामकरण हुन नसक्नुले नै दलहरुबीचमा वैमनष्यता रहेको प्रष्ट हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here