डम्बरकुमार प्रधान सरका सिर्जना ‘अद्भूत कलाकृतिहरु’

0
739

राम्रा राम्रा विदेशी सामान पाइने बजारको रुपमा प्रख्यात झापाको धुलाबारी बजार कुनै दिन पुग्दा बाटा किनारमा तिनै राम्रा राम्रा विभिन्न सामानहरु प्याक गर्ने थर्मकोल यत्रतत्र छरिएका देखेपछि डम्बरकुमार प्रधानसरको दिमागमा एउटा सोच विकास भयो । ती थर्मकोल (खोस्टा) वातावरण प्रदुषणको कारक हुनसक्ने भएकाले हस्तकलाको माध्यमबाट डम्बर सरको हातबाट वातावरणलाई प्रदुषणबाट जोगाउन सो थर्मकोलबाट कला सिर्जना हुन थाले ।

मौलिक कला : डम्बर सरको सिपालु हातबाट जति पनि हस्तकला खिपिएका छन् ती सबै थर्मकोल कै छन् । जसलाई मौलिक कला भन्न सकिन्छ । किन पनि मौलिक हुन् भने हामीले मान्ने भगवानका प्रतिरुप, शिवलिङ्ग, त्रिशुल, डम्बरु, गणेश, शंख, ॐ, हाँस, हात्ती, पूmलहरु र नेपाली संस्कृति तथा हिन्दू, बौद्ध धर्मसँग सम्बन्धित आकर्षक र जीवन्त कलाकृतिहरु अद्भूत किसिमले सिर्जना गरिएका छन् ।

कलाकृतिहरु धेरै नै सिर्जना गरिएका थिए । तर, बुधबारे बजारमा रहेको डम्बर सरको घर आगलागी हुँदा ती सबै जलेर नष्ट भए । त्यस घटनाले डम्बर सरलाई निकै नै मर्माहत बनायो । डम्बर सरको परिवार काठमाडौँ सिफ्ट भयो र अमेरिकासम्म पुग्यो । तर, त्यसरी बसाई सरिरहँदा पनि कलाकारिताले निरन्तरता पाइरह्यो । अमेरिकी साथीहरुले डम्बर सरको कलाहरु रुची पूर्वक ग्रहण गरे । एक नेपालीले अमेरिकीहरुलाई वातावरण प्रदुषण न्यूनीकरणको सन्देश दिन सक्नु निकै सुखद् कुरा हो ।

यी कलाकृतिहरुबारे प्रचार–प्रसार नभएका पनि होइनन् । झापास्थित चर्चित रेडियोले कार्यक्रम निर्माण गरी प्रशारण गरे । नेपालका राष्ट्रिय स्तरका टेलिभिजनहरुले डम्बर सरको कलाकृतिबारे प्रशारण गरे तर यी कलाकृतिहरुको बजारिकरण हुनेस्तरको प्रचारप्रसार भने हुन सकेको छैन । वातावरण प्रदुषण रोक्ने सोचका साथ बनाइएका कलाकृतिहरुप्रति उद्यमी, व्यावसायी, डिजाइनरहरुको रुची नहुनु दुःखद् हो । ‘यी मेरा सिर्जनाहरु नेपथ्यमा लुकेर बसेका कलाहरु हुन्’ डम्बर सरको यो भनाइ जस्तै केवल पैसा कमाउने उद्देश्य राख्ने मात्र उद्यमी, व्यापारीहरु भएपछि मौलिक कलाहरु नेपथ्यमा लुकेर रहन बाध्य हुन्छन् । डम्बर सरका सिर्जनाहरु घर, कार्यालय, अतिथि गृह, होटल, रिसोर्ट, एयरपोर्ट आदिमा सजाउन सकिन्छ । जसको निर्माणले वातावरण न्यूनीकरणमा ठूलो सहयोग पुग्ने देखिन्छ ।

यही नै डम्बर सरका सिर्जनाहरुका विशेषता हुन् । २०७६ फागुन ११ गते श्री आदर्श माध्यमिक विद्यालय (हाल उच्च मावि) जयपुर बुधबारेले डम्बर सरलाई गरेको सम्मानको सम्मानपत्रमा, ‘खेर गइरहेका वस्तुबाट हस्तकलाका सामग्री निर्माणका निम्ति गर्नु भएको प्रोत्साहनात्मक कार्य स्तुत्य छ’ उल्लेख गरिएको छ । यसरी विद्यालयले डम्बर सरका कलालाई पहिचान गरेको छ । डम्बर सरका हातबाट चित्रकला पनि सिर्जना हुन्छन् । उक्त विद्यालयमा डम्बर सरका धेरै चित्रकलाहरु अझै पनि सजिएर रहेका छन् ।

डम्बर सरका अरु प्रतिभाहरु : डम्बर सरलाई एक संगीतकार, गीतकार, गायक र वाद्यवादकका रुपमा पनि चिनिन्छ । सरका गीतहरु राष्ट्रप्रति समर्पित हुन्छन् । डम्बर सरलाई स्कूलले अतिरिक्त क्रियाकलाप सांगीतिक, सांस्कृतिक, नाटक र खेलकुद कार्यक्रमहरुको जिम्मेवारी सुम्पन्थ्यो । डम्बर सर भएपछि स्कूल ढुक्क । डम्बर सरका सहकर्मी साथीहरु बाजा बजाउनेमा कालीबहादुर थापा, वेदकुमार श्रेष्ठ, विरेन राउत, शान्तिराम निरौला हुन् । गीत गाउनेमा होक्सेबाट योगमाया सुवेदी, जयपुरबाट कुन्ता नेपाल, सावित्रा नेपाल, भक्ति घिमिरे, दिव्य ढकाल, देवीध्वज योञ्जन र नृत्य सहायक निर्देशक चन्द्र अधिकारी र गंगादेवी पोखेरेलहरुको डम्बर सरबाट सम्झना हुन्छन् । जिल्लामा विभिन्न स्थानमा आयोजित कार्यक्रममा भागलिन जयपुर स्कूल डम्बर सरको नेतृत्वमा जाने गर्दथ्यो र प्रथम या दोस्रा स्थान हासिल गरी पुरस्कार ल्याएरै छाड्दथ्यो ।

फुटबल खेलाडी पनि : एकताका श्री बुद्ध आदर्श माध्यमिक विद्यालय, बुधबारेको प्राङ्गणमा टोकला चिया बगान काँकरभिट्टा टिमविरुद्धको फुटबल खेलमा बुधबारेको टिमबाट डम्बरसरको नाङ्गा खुट्टाले बीस मिनटभित्रै पाँच गोल ठोकेको र वि.सं. २०२४ सालताका डम्बर सरलाई बुधबारे क्षेत्रको दोस्रो उत्कृष्ट फुटबल खेलाडीको रुपमा लिइन्थ्यो । बुधबारे क्षेत्रमा फुटबल खेलको जग बसाउनु हुने, फुटबल खेलको माध्यमबाट समेत बुधबारेलाई चिनाउनु हुने अभियन्ता, फुटबल खेलाडी तथा सामाजिक व्यक्तित्व खड्ग बराल (होक्से बुद्धशान्ति–१ निवासी)बाट डम्बर सर उ बेलाको राम्रो फुटबल खेलाडी रहनुभएको सम्झना हुन्छन् ।

विद्यार्थीहरुको प्यारो शिक्षक र साथी : डम्बर सरको कक्षा प्रायः पिक्टोरियल टिचिङ्ग विधिबाट सम्पन्न हुुने गर्दथे । उदाहरण, आदिकवि भानुभक्त आचार्यबारे पढाउनु परेमा ब्लाकबोर्डमा पहिला भानु, घाँसी र कुवाको चित्र बनाएरमात्र पढाइ शुुरु हुने गर्दथे । डम्बर सरले पढाउँदा विद्यार्थीहरुमा पढाईप्रति अद्भूत किसिमको एकाग्रता हुन्थ्यो, डम्बर सरको पिरियडप्रति अति रुची राख्दथे र पढाएका विषय विद्यार्थीहरुले सजिलै बुझ्दथे । पढाइ बाहेक जीवन जगतका बारेमा पनि विद्यार्थीहरुलाई मार्गदर्शन हुन्थे । विद्यार्थीहरु डम्बर सर वरिपरि झुम्मिन्थे र केही न केही सोधेर सिकिरहन्थे । विद्यार्थीहरुका लागि डम्बर सर साथी जस्तै भइदिएपछि सिकाइमा सहजता हुने गर्दथ्यो ।

डम्बर सर बिहान स्कूल आइपुग्दा स्कूलका ढोकाहरु खुलेकै हुँदैन थिए र बेलुका स्कूल छुट्टि भएर सबै घर गईसके पनि डम्बर सरको कक्षा सुचारु भइरहेका हुन्थे । कोही छात्रा, छात्रलाई अभिभावकहरुले स्कूल छुटाउँदा डम्बर सर घर–घरमै पुगेर अभिभावकहरुलाई मार्गदर्शन हुन्थ्यो । नानीहरु पुनः स्कूल आउन पाउँदथे । अंग्रेजी, गणित, विज्ञान, भूगोल र स्वास्थ्य शारीरिक शिक्षा विषय सरबाट अध्यापन हुने गर्दथे र कक्षा दशसम्म डम्बर सरबाट अध्यापन हुने गर्दथे । पूर्वोत्तर भारतमा उच्च माध्यमिक तहसम्मको शिक्षा हासिल गर्ने अवसर पाएकाले पनि होला डम्बर सरमा शिक्षण क्षमता, क्यालिबर राम्रो रहेको छ । तालिमहरुले पनि शिक्षण खारिए । कतिपय विद्यार्थीहरुले पुस्तक किन्ने जरुरी नै ठानेनन् । कक्षामा अध्यापन गरेकै भरमा नानीहरुले शिक्षा हासिल गर्दथे । डम्बर सरबाट यस्ता क्षणलाई बिर्सन नसकिने क्षणका रुपमा सम्झना हुन्छन् ।

विद्यालयको नजरमा डम्बर सर : ‘दीपक झैं प्रदीप्त, बहुमुखी प्रतिभाका धनी, कहिल्यै नओइलाउने पूmल, ऊर्जाशील, अतिरिक्त क्रियाकलापमा कला, संस्कृति र खेलकुद क्षेत्रमा विद्यार्थीहरुमा सिर्जनात्मकता अभिवृद्धि गराइ अब्बल क्षमतावान विद्यार्थी उत्पादन, ज्ञानलाई कलासँग जोड्दै ज्ञानको ज्योति प्रवाह गर्दै एकै विषयलाई फरक ढंगले प्रस्तुत गर्दै विद्यार्थीका मन र मस्तिष्कमा सदा स्मरणीय र भावी पुस्ताका प्रेरक र मार्गदर्शक ।’ २०२३ देखि २०६३ सम्म डम्बर सर सेवारत रहेको विद्यालय श्री आदर्श उच्च माध्यमिक विद्यालय, जयपुर बुधबारेबाट विभिन्न अवसरमा प्रदान भएका सम्मानपत्र र विद्यालयको स्वर्ण महोत्सव २०६६ को अवसरमा प्रकाशित स्मारिकामा डम्बर सरबारे यस्तै उद्गारहरु उल्लेख गरिएका छन् ।

शिक्षक, विद्यार्थी र मित्रहरुका शब्दमा डम्बर सर : श्री आदर्श उच्च मावि, जयपुरका प्राधानाध्यापक करुणकुमार पराजुली, पूर्व प्राधानाध्यापक भीम निरौला, पूर्व वि.व्य.स. अध्यक्ष धु्रवकुमार ओली, पूर्व शिक्षक देवीध्वज योञ्जन, कालीबहादुर थापा, श्री जयपुर इङ्लिस बोर्डिङ स्कूल जयपुरका एकेडेमिक कोअर्डिनेटर तथा चर्चित गजलकार पुरुषोत्तम ढुङ्गेल, पूर्व विद्यालय स्रोत व्यक्ति जय भण्डारीका शब्दमा डम्बर सरका विशेषता यसरी व्यक्त हुन्छन्– ‘डम्बर सर एक स्पूmर्त, सिर्जनशील, प्रखर, जिम्मेवार, मेहनती, निर्भिक, इमान्दार, विनोदप्रिय, मित्रवत र स्मार्ट हुनका साथै कलाका माध्यमबाट विद्यार्थीहरुलाई शिक्षण गर्न, ज्ञान प्रवाह गर्न अत्यन्त सिपालु र योग्य । अतिरिक्त क्रियाकलापमा गीत, संगीत, नाटक, खेलकुदमा रचनात्मक र बहुप्रतिभाशाली दक्ष शिक्षक तथा एक कलाकार ।’

त्यस्तै गरी श्री आनन्देश्वर शिव मन्दिर तथा गुरुकुल संस्कृत पाठशाला होक्सेका अध्यक्ष र श्री त्रिभुवन मावि होक्से बुद्धशान्ति–१ का विद्यालय व्यवस्थापन समिति सदस्य तथा समाजसेवी पहलमान बरालबाट पनि डम्बरसर भलाद्मी, उत्साही, मित्रवत, सिर्जनशील शिक्षक र कलाकार रहेको उद्गार व्यक्त हुन्छन् । माथी उल्लेखित शब्दहरुबाट डम्बरकुमार प्रधानसर एक छुट्टै किसिमको बहुप्रतिभाशाली शिक्षक र कलाकार रहेको प्रमाणित हुन्छन् ।

शिक्षक हुनुको अर्थ डम्बर सरको शब्दमा : ‘शिक्षक भएकामा म गौरवान्वित छु । शिक्षक समाजको दर्पण हो रहेछ । शिक्षक समाजको उत्तररोत्तर उन्नतिको निम्ति खुड्किलो र खाका बनिँदोरहेछ । समाज बनाउने, सकारात्मक सोच विकास भएका देशका दक्ष नागरिक तयार गर्ने शिक्षक हुँदो रहेछ । शिक्षण सेवा जीवनको अभुत्पूर्व पाटो हो रहेछ । शिक्षकले निःस्वार्थ सम्मान पाइँदोरहेछ । शिक्षक निःस्वार्थ, स्वावलम्वी, स्वच्छ छवि भएको हुनुपर्छ र कर्तव्य निष्ट हुनुपर्छ । हि सुड बि फलोड ड्यूटी ।’

जयपुर बुधबारेको मायाले तानिल्यायो : डम्बर सर पुनः बुधबारे नै फर्की आउनुको कारणबारे, ‘जयपुर बुधबारेमा जतिको आत्मिय इष्टमित्रहरु अन्त कतै पाइएन । खासगरी बुधबारे बजारको आफ्नो घर आगलागी हुँदा बुधबारेका इष्टमित्रहरुबाट जुन सहानुभूति, हौसला र आर्थिक भरथेग प्रदान भयो त्यो सम्झेर पनि म पुनः जयपुर बुधबारे फर्किआएको हूँ । मेरो कर्मथलो जयपुर बुधबारेलाई बिर्सन सकिन । मलाई जयपुर बुधबारेको मायाले तानि ल्यायो ।’ डम्बर सरबाट यही विचार व्यक्त हुन्छन् । डम्बर सर हाल, जीवनसंगिनी देवीका प्रधानका साथ बुधबारे बजार मुख्यचोकदेखि दक्षिणको टोलमा अवकाश जीवन खुशीसाथ व्यतित गर्दै सरका सिपालु हातबाट डाक्टरले बिरामी अपरेसन गर्दा प्रयोग हुने स–साना औजारहरु जस्तै टुल्स्ले थर्मकोलबाट मौलिक कलाकृतिहरु सिर्जना भइरहेका पाइन्छन् । तर, डम्बर सरको गहन र अर्थपूर्ण हस्तकलाहरुले व्यापकता पाए र बजारीकरण भए साच्चै नै कलाले सार्थकता पाउने थिए । यो लेखको उद्देश्य डम्बर सरका यिनै हस्तकला र उद्देश्य उजागर गर्नु रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here