हात्तीबाट बच्न झापामा चिया खेती

0
720

पार्थ मण्डल,
झापा ।

जंगली हात्तीको उपद्रोले झापावासी आतंकित बनेका छन् । रैथाने जंगली हात्तीको बथानले वनजंगल आसपासका खेतीयोग्य जमिनमा कृषकले लगाएको अन्नबालीसँगै जनधनको क्षति पु¥याउँदै आएको छ ।

हात्तीले अन्नबालीमा पु¥याएको क्षतिका कारण कृषकहरू बढी चिन्तित छन् । दशकौँ अघिदेखि जंगली हात्तीको समस्या झेल्दै आएका भारतीय सीमावर्ती खुला नाकासँग जोडिएको साविक बाहुनडाँगी गाविस हाल मेचीनगर नगरपालिका वडा नम्बर १, २, ३ र ४ का कृषकहरूको मुख्य आम्दानीको स्रोत नै धान, मकै, गहुँ, कोदो लगायतको अन्नबाली थियो । तर, उनीहरू हाल सो अन्नबालीको विकल्पमा अन्य खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

हात्तीले खेतमा लगाएको धान, मकै, कोदो लगायतका अन्नबाली खाएर र कुल्चेर सखाप पारिदिने क्रम नरोकिएपछि यहाँका किसानहरू व्यक्तिगत तथा सामूहिक रुपमा चिया, सुपारी, मरिच लगायतका वाली लगाउन थालेका छन् ।

गाउमै चिया प्रशोधन कारखानाले कृषकलाई सहज

जंगली हात्तीका कारण पाकेको अन्नबाली समेत घर भित्र्याउन कृषकहरू समस्या झेलिरहेका थिए– स्थानीय कृषक हरि भट्टराईले भने– ‘गाउँमै सहकारी चिया प्रशोधन कारखाना स्थापना भएपछि यहाँका चिया कृषकहरू हरियो पत्ती बिक्री गर्दा राम्रै आम्दानी गरिरहेका छन् ।’

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित शुभ चिया किसान सहकारी संस्थाले बिगत तीन वर्ष अघिदेखि हरियो चिया पत्ती प्रशोधन कारखाना स्थापन गरी यहाँका चिया कृषकलाई प्रोत्साहन गरिरहेको छ । ‘गाउँमै कारखाना हुँदा हामीलाई हरियो पत्ती बिक्री गर्न टाढा जानुपर्ने समस्या छैन’– स्थानीय कृषक सविता पौडेलले भनिन्– ‘हात्तीले अन्नबाली खाने समस्या पनि छैन, चिया खेतीले पनि राम्रै आम्दानी दिइरहेको छ ।’ सहकारीमार्फत स्थापना भएको चिया कारखानाले तोकिए अनुसारको चिया पत्तीको मूल्य दिइरहेको छ । उनले भनिन्– ‘त्यसैले यहाँका चिया कृषकहरू सन्तुष्ट छन् ।’

किसानको जीवन उकास्न र कृषिमा आत्मनिर्भर बनाउन सरकार र सम्बन्धित निकायले आवश्यक समन्वय र सहयोग गर्ने हो भने कृषि पेशाबाट पनि राम्रै आम्दानी हुने किसानहरू बताउँछन् । कृषि सहकारीहरूले पनि अझ प्रभावकारी ढंगले किसान र कृषि क्षेत्रमा आफ्नो दायित्व बहन गर्नुपर्ने स्थानीय चण्डीप्रसाद नेपाल बताउँछन् ।

सहकारी संस्थामार्फत ७८ कृषकले लगाए चिया खेती

हात्तीले अन्नबाली नष्ट गर्ने थालेपछि वि.सं. २०५७ सालदेखि सहकारी र बैंकमार्फत कर्जा लिएर यहाँका कृषकहरूले चिया खेती लगाउन थालेका हुन् ।

सरकारले हरियो चित्ता पत्तीको उचित मूल्य कायम नगर्दा कृषकहरूको लगानी डुब्ने भएपछि बाध्य भएर चिया उद्योगीलाई हरियो पत्ती सस्तो मूल्यमा बेच्नु परेको शुभ चिया किसान सहकारी संस्थाका अध्यक्ष शम्शेरबहादुर खड्काले बताए ।

‘एकातिर हात्तीको आतंक र अर्कातिर मूल्य नपाएर पीडित बनेका चिया कृषकहरूले पटक–पटक आन्दोलन पनि गरे’– उनले भने– ‘त्यसपछि सहकारीमार्फत चिया प्रशोधन कारखाना स्थापनाका लागि सरकारले ५० प्रतिशत अनुदान दिने निर्णय ग¥यो, अनि कारखाना स्थापना भयो ।’

सहकारी संस्थामार्फत ७८ जना कृषकले १० कठ्ठा देखि ५ विगाहसम्म जमिनमा चिया बगान लगाएर अहिले हरियो चिया पत्ती बिक्री गरिरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here