पुथाउत्तरगङ्गामा प्रहरीले बाल विवाह रोक्यो

0
510

रुकुमपूर्व, 

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीले बाल विवाह रोकेको छ ।

पुथाउत्तरगङ्गा गाउँपालिका–१४ मा हुन लागेको बालविवाह कोल प्रहरी चौकीका इञ्चार्ज गनेश विक नेतृत्वको प्रहरी टोलीले रोकेको हो । केटा र केटी दुवैको उमेर नपुगी बिहेका लागि भन्दै भागेका उनीहरूको विवाह प्रहरीले रोकेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

मङ्सिर २२ गते आजका दिन राङ्सीस्थित केटा पक्षको घरमा मण्डवमा बसेका उनीहरुको विवाह प्रहरीले मण्डपबाटै रोकेको प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार बालविवाह हुन लागेको भन्ने सूचना त्यहाँको किशोरी समूह र बाल क्लबमार्फत प्रहरीमा पुगेपछि विक नेतृत्वको प्रहरी टोली गएर विवाह रोकेको हो । केटाको उमेर १४ वर्ष र केटीको उमेर १८ वर्ष रहेको उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

त्यहाँका स्थानीयसँगै क्लब र किशोरी समूहले बालविवाह गर्नु हुँदैन भनेर परिवारलाई सम्झाउँदा नमानेको बताएका छन् । सम्झाउँदा पनि नमानेर परिवारले केटाकेटीको विवाह गरिदिन थालेपछि प्रहरीलाई खबर गरेको किशोरी समूह र क्लबले जनाएका छन् । प्रहरीले बालविवाह रोकेर केटा र केटी दुवैलाई अभिभावकको जिम्मा लगाएको उपरीक्षक श्रेष्ठले बताउनुभयो । केटाकेटी अभिभावकको संरक्षणमा रहेको बताउँदै प्रहरीले उनीहरूको परिवारलाई बालविवाह नगराउन चेतावनीसमेत दिएको छ ।

परिवारले पनि कानूनी कुरा थाहा नपाएर एकअर्काको मञ्जुरीले भागेका केटाकेटीको बिहे गराउन लागेको बताएको थियो । आगामी दिनमा यस्तो कार्य नगर्नेसमेत दुवै पक्षका परिवारले बताएका छन् । परिवारका अनुसार ती केटाकेटी ९ गतेको दिन बिहे गर्ने भन्दै घरबाट भागेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here