माइ नगरपालिका र मानेभञ्ज्याङ फुटबल क्लब फाइनलमा भिड्ने

0
626

इलाम ।

इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको उपाधिको लागि माई नगरपालिका सुखानी र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब भारत बिच प्रतिस्पर्धा हुने छ । शुक्रबार सम्पन्न सेमीफाइनलको खेलमा बिजयी बन्दै सुखानी र मानेभञ्ज्याङ उपाधि होडमा प्रवेश गरेका हुन् ।

सेमीफाइनल खेलमा सुखानीले रेडहर्स फुटबल क्लब इलाम र मानेभञ्ज्याङले आयोजक माईजोगमाई रातोलाई समान २–० गोल अन्तरले पराजित गरेको थियो ।

पहिलो सेमीफाइनल खेलमा सुखानीको जीतको लागि दोश्रो हाफको पहिलो मिनेटमा विक्रम तामाङले अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा सौगात गोम्देनले गोल गरेपछि सुखानी फाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ दि म्याच विक्रम तामाङ घोषित भएको माईका टिम मेनेजर समेत रहेका समाजसेवी कुमार लिम्बुले जानकारी दिनुभयो ।

त्यस्तै दोस्रो सेमिफाइन खेलमा मानेभञ्ज्याङको जीतका लागि खेलको २० औ मिनेट र इन्जुरी समयमा सुराग क्षेत्रीले गोल गरे । खेलको म्यान अफ दि म्याच सुराग घोषित भए । माईजोगमाई गाउँपालिका–१ नयाँबजारको बालागुरु खेलमैदानमा संचालनमा रहेको प्रतियोगितामा नेपाल र भारतका ८ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक माईजोगमाई खेलकुद परिषद्ले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here