पर्वतमा विपन्नलाई न्यानो कपडा वितरण अभियान

0
504

पर्वत,

चिसो मौसमबाट प्रभावित परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको छ ।

जिल्लामा सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमूना स्काउट ट्रपको संयुक्त आयोजनामा न्यानो कपडा वितरण गर्न थालिएको हो । शुक्रबारदेखि बजारका उद्योगी, व्यवसायी तथा अन्य बासिन्दासँग पुराना र सफा कपडा सङ्कलन गर्ने र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्ने अभियान थालिएको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल निर्जनले बताउनुभयो ।

शुक्रबार पहिलो दिन झण्डै चार बोरा कपडा सङ्कलन गरिएको छ । सिरक, डसना, स्वीटर, ब्लाङ्केट, टाउजर, ट्रयाकसुट, जुत्ता, मोजालगायत लगाउने र ओढ्ने ओछ्याउने कपडासमेत सङ्कलन गरिएको छ । सङ्कलित कपडा आज सदरमुकामको मैत्रीचोकस्थित मेघा बैंक नजिकैबाट वितरण गरिने भएको छ ।

जो आफैँ किनेर न्यानो लुगा लगाउन र न्यानो ओछ्यानमा सुत्न सक्दैनन् उनीहरुका लागि यो अभियानले ठूलो सहयोग पुग्ने कुश्मा नगरपालिका–७ का अध्यक्ष सुवासचन्द्र पौडेलले बताउनुभयो । यो अभियानमा उक्त वडाको पनि सहकार्य रहेको छ । जाडो महिना सुरु भएपछि विपन्न, दलित, र मजदुरका परिवार प्रभावित हुने गरेका छन् ।

न्यानो कपडा सङ्कलन तथा वितरण अभियान जाडो यामभरि निरन्तर सञ्चालन गरिने भएको छ । पहिलो चरणमा सदरमुकाम र त्यसपछि पालिकास्तरमा पुगेर सङ्कलन तथा वितरण गरिने भएको छ । अभियानमा उद्योगी, व्यवसायी तथा बजारवासी नागरिकले स्वतःस्फूर्तरुपमा पुराना तथा सफा र पुनः प्रयोग गर्न सकिने कपडा सहयोग गरेको क्लबले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here