न्यूटन्सद्वारा ओमिक्रोनबाट बच्न सचेतना अभियान

0
730

बिर्तामोड।

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रास बढिरहेको बेला त्यस सम्बन्धी सचेतना अभियान पनि शुरु भएको छ ।

बिर्तामोड–५स्थित न्यूटन्स एजुकेशन एकाडेमीले अभिभावकलाई पत्राचार गरेर ओमिक्रोन भाइरस बारे समयमै सचेत रहन र आफ्ना नानीहरुको विशेष ख्याल गर्न अनुरोध गरेको छ । आफ्ना छोराछोरीलाई ज्वरो, खोकी साथै अन्य कुनै समस्या देखिएमा तत्काल चेकजाँच गर्न र विद्यालय नपठाउन न्यूटन्सले अपिल गरेको छ ।

विद्यालयकोतर्फबाट प्रिन्सिपल देवेन्द्र हुगागाँईले अभिभावकहरुलाई ओमिक्रोन भेरियन्ट बारे सचेत रहन भन्दै ६ बुँदे अपिल गरेका छन् । आफ्ना नानीहरुलाई अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्न, बिना मास्क हिँड्डुल गर्न नदिन, साबुन पानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न लगाउन अभिभावक समक्ष विद्यालयले अनुरोध गरेको छ ।

विद्यालयले विद्यार्थीलाई पनि सजग रहन सचेत गराएको छ । बिद्यार्थीलाई कुनै स्वास्थ्य समस्या भएमा आफ्ना कक्षा शिक्षकलाई अनिवार्य रुपमा तत्काल जानकारी गराउन भनिएको छ ।
विद्यालय समयमा भीडभाडमा नजान, मास्कको अनिवार्य प्रयोग गर्न, बारम्बार साबुन पानीले हात धुन विद्यार्थीलाई अनुरोध गरिएको छ ।

नेपालमा पनि कोरोना भाइरसको अर्को भेरियन्ट ओमिक्रोन देखा परेको अवस्थामा विद्यालयले एक सातादेखि पत्राचार तथा विभिन्न माध्यममार्फत सचेतना अभियान जारी राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here