दुई पालिकाको लगानीमा पक्की पुल निर्माण सुरु

0
549

दमौली, 

तनहुँको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका जोड्न मितेरीखोलामा पक्की पुल निर्माण सुरु भएको छ । म्याग्दे–५ र शुक्लागण्डकी नगरपालिका–७ जोड्न मितेरीखोलामा पक्की पुल बन्न लागेको हो ।

उक्त पुलको म्याग्देका अध्यक्ष मायादेवी राना र शुक्लागण्डकी नगर प्रमुख किसान गुरुङले बिहीबार संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ । दुवै पालिकाको लागत साझेदारी रहने गरी पुल निर्माण गर्न लागिएको हो । विसं २०७९ मङ्सिर ५ गतेभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा कश्यप निर्माण सेवा प्रालिले पाएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । कर सहित रु एक करोड ४० लाख ४३ हजार १४५ मा पुल निर्माणको ठेक्का लागेको छ ।

पुल निर्माणका लागि दुवै पालिकाले रु ७० लाख २१ हजार ५७२ लगानी गर्नेछन् । पुल निर्माणका लागि शुक्लागण्डकी नगरपालिकाले रु ५० लाख सहयोग गरिसकेको छ । पुल नहुँदा यहाँका बासिन्दालाई वारपार गर्न समस्या हुँदै आएको थियो ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख गुरुङले यस ठाउँमा पुल निर्माण अति आवश्यक देखिएपछि दुवै पालिकाले सहकार्य गरेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार निर्माणले नगरपालिकाले प्राथमिकता दिँदै आएको उहाँको भनाइ थियो ।

अध्यक्ष रानाले प्राथमिकताका आधारमा गाउँपालिकाले विकास निर्माणका कामलाई तीव्रता दिएको बताउनुभयो । म्याग्देका उपाध्यक्ष बालकृष्ण घिमिरेले तोकिएकै समयमा गुणस्तरीय काम गर्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here