अमित खम्बू,अर्जुनधारा ।

विगत केही वर्षदेखि पर्यटकीय क्षेत्रको रुपमा पहिचान बनाउन सफल झापाको अर्जुनधारा–२स्थित साठीमुरेमा शुक्रबार जिल्ला प्रशासन कार्यालय झापा र अर्जुनधारा नगरपालिकाको संयुक्त टोलीले स्थलगत अवलोकन गरेको छ ।
साठीमुरेको प्रबद्र्धन र विकास गर्ने उद्धेश्यले त्यस क्षेत्रमा निर्माण हुन लागेको सभाहलसहितको बुद्ध पार्क निर्माण स्थलको अध्धयन र अनुगमन गर्न उक्त कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए ।
उक्त पार्क निर्माण गर्न गत कात्तिक २८ गते नगर प्रमुख रानाको अध्यक्षतामा आयोजित सर्वपक्षीय बैठकमा स्थानीय अशोककुमार समाल मगर, अम्बरबहादुर समाल मगर, किशोर समाल मगर, किरण समाल मगर, सुजन दर्लामी मगर, सुमन दर्लामी मगर र अशोक समाल मगरले नगरपालिकालाई ४० रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेका छन् ।

उक्त कार्य सुरु गर्न नेपाल सरकार अर्थ मन्त्रालयबाट चालु आर्थिक वर्ष ०७८÷०७९मा सात लाख रुपैयाँ विनियोजन भएको नगर प्रमुख रानाले जानकारी दिए । विनियोजित बजेटबाट पार्कको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार, पार्क निर्माण स्थलसम्म पुग्ने सडकको स्तरोन्नतीलगायतका कार्यहरु गरिने बताइएको छ ।

टोलीमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, उपप्रमुख कमला खतिवडा आचार्य, नगर बोर्ड सदस्यहरु रघुनाथ खनाल, लोकनाथ गौतम र नवराम ढुंगाना, नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं, पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख प्रभात भट्टराई, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी बल शनिश्चरे वेस प्रमुख प्रहरी नायव उपरीक्षक जीवन भट्टराई, इकोटुरीजम नेपालका महासचिव रुद्रप्रसाद गिरीलगायतको सहभागिता रहेको थियो ।
सोही टोलीले अर्जुनधारा–२स्थित अर्जुनधारा औद्योगिक ग्राम र अर्जुनधारा–१ स्थित एकीकृत विपत् व्यवस्थापन केन्द्रको पनि स्थलगत अवलोकन गरेको थियो ।































