सवै मिलेर हिंसा अन्त्य गरौँ – उपप्रमुख वास्तोला

0
513

पथरीशनिश्चरे,
मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरमा महिला तथा किशोरीमाथि हुने हिंसालाई सवै मिलेर अन्त्य गर्नुपर्ने औंल्याउनु भएको छ ।
उपप्रमुख वास्तोलाले आज मंगलबार ओरेक नेपालको सहयोगमा पथरीशनिश्चरे महिला फेडेरेशनले आयोजना गरेको हिंसा विरुद्धको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उक्त कुरा बताउनु भएको हो ।
उहाँले पछिल्लो समयमा पुरुषहरु समेत हिंसामा परेको प्रसंग अघि सार्दै जो कोहि पनि हिंसामा पर्न नहुने बताउँदै नगरपालिकाको न्यायिक समितिले कानूनी सचेतना सहितका हिंसा अन्त्य गर्नेखाले कार्यक्रम सञ्चालन गरिरहेको पनि उल्लेख गर्नुभयो ।
‘सार्वजनिकस्थलमा महिला तथा किशोरीमाथि हुने हिंसा सम्बोधन कार्यक्रम अन्तर्गतको सार्वजनिक सुनुवाई’ कार्यक्रममा बोल्दै नेकपा एमालेका रमेश दहाल, नेपाली कांग्रेसका रुपनारायण भट्टराई, नेकपा समाजवादीका देवेन्द्र वनेम, शिक्षिका भूमिका मगर सहितले हिंसा अन्त्य गर्न जोड दिनुभएको थियो।
इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी कृष्ण खड्काले महिला तथा किशोरी हिंसाका घटनाका दोषीलाई कारवाही गर्न प्रहरीले प्राथमिकता दिइरहेको बताउँदै सवै नागरिक आफु समेत सचेत र जिम्मेवार बन्नुपर्ने धारणा राख्नु भयो । कार्यक्रममा सहभागी महिला तथा किशोरीहरुले आफुहरुमाथि भएका हिंसाका घटनाहरु सुनाएका थिए ।
फेडेरेशन उपाध्यक्ष निर्मला राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला अधिकारकर्मी सविता पोखरेल र ओरेक नेपाल विराटनगरकी कार्यक्रम अधिकृत गोमा भण्डारीले कार्यक्रममा सहजीकरण गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here