विवाद निरुपणमा ढिलाइ

0
598

अमेरिकी सहयोग कार्यक्रम अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी विवाद अहिले पनि उत्कर्षमा छ । अमेरिकी सरकारले पचास करोड डलरको सहयोग सम्झौतालाई संसदबाट पारित गर्नुपर्ने शर्त राखेको छ । उसले दिएको समयावधि सकिँदै र थपिँदै जाँदा झन–झन विवादको भुँमरीमा फस्दै गएको यो सहयोग सम्झौता सम्बन्धी विवाद वर्तमान गठबन्धनको सरकारका निम्ति पनि टाउको दुखाइको विषय नै बनिएको छ ।
नेपाललाई खासगरी विद्युत् र सडक विस्तारमा सहयोग गर्ने उद्देश्यले आठ वर्षअघि नै परियोजनाको सम्झौता भएको थियो । त्यतिबेला र पछि पनि सत्तामा रहेका दलहरुले उक्त परियोजना अघि बढाएका थिए । तर, अहिले तिनै दल र नेतृत्वहरुको बोली फेरिएको छ । सहयोग परियोजना देशको हितमा छ, संसदबाट पारित हुन्छ भनेका दलका नेतृत्व नै अहिले राजनीतिक स्वार्थ अनुरुप एमसीसीको विरोध गरिरहेका छन् । अमेरिकी सहयोग परियोजनाको लाभ वा हानीको विषय देश र सम्पूर्ण नेपालीको सरोकारको विषय हो । त्यसलाई पक्षमा रहेका दल र नेतृत्वले सर्वसाधारणलाई जानकारी गराउन सक्नु पथ्र्यो । तर, छेपारोको रंग झैं बदल्ने राजनीतिक दल र नेताहरुको स्वार्थ अनुरुपको बोलीमा नागरिक समाजको नामबाट विरोधमा घिउ थप्ने काम भइरहेको छ । सर्वत्र विरोध भएकै कारण संसदमा पेश गरिएको छैन, सरकारले पनि एमसीसीलाई चिनाउन सकेको छैन ।

सहयोग सम्झौताका बारेमा भइरहेको विरोध र विवादले नेपालको नेतृत्वसँग निर्णय क्षमता नै छैन भन्ने सन्देश प्रवाह भएको छ । यस्तो सन्देश नेपालीका लागि दुःखद् र चिन्ताको कुरा हो । सरकारले प्रतिबद्धता जनाए अनुसार सम्झौता पारित हुन ढिलो भएपछि अमेरिकी सरकारले चासो बढाएको छ । उच्च अधिकारीहरुको पटक–पटकको भ्रमण, नेपाली नेतृत्व वर्गसँगको भेटघाट र संवाद त्यसकै उदाहरण हो । डबल सर्किटको विद्युत प्रशारण लाइन विस्तार गरेर भारतसँग विद्युत व्यापार वृद्धि गर्ने, दाङको भालुबाङदेखि बाँकेको शिवखोलासम्मको सडक निर्माण गर्ने मुख्य सम्झौता भएको एमसीसी परियोजना शर्त अनुसार पारित नभएर विवाद भइरहनुले नकारात्मक परिणाम आउन सक्छ भन्ने हेक्का राख्नु पर्दछ ।

केही दलले शर्त संशोधन गर्न राखेको प्रस्ताव अमेरिकी सरकारले अस्वीकार गरिसकेको छ । यस्तो अवस्थामा यदि यो सम्झौता देश हितमा छैन भने सरकारले त्यही अनुसारको निर्णय गर्नुपर्छ । व्यक्तिगत वा दलगत स्वार्थका पछि दौडेर न व्यक्तिको हित हुन्छ न त देशकै । यस्तो दोधारे नीति र दुई जिब्रे व्यवहारले न व्यक्ति न त दल नै सुरक्षित हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here