दबाबमा शिक्षक नियुक्ति !

0
699

पार्थ मण्डल / झापा ।

दक्षिणी झापाको कचनकवल गाउँपालिकाको दबाब र प्रभावमा परेर सामुदायिक विद्यालयहरूले शिक्षक नियुक्ति गर्ने गरेको पाइएको छ ।

पार्टीगत दबाबकै कारण कचनकवल गाउँपालिका–२ सुकुनाडिकीस्थित लक्ष्मीप्रसाद देवकोटा माविले राहत कोटाको शिक्षक पदपूर्तिको आव्हान सार्वजनिक सूचना १५ दिनसम्म लुकाएपछि सर्वत्र बिरोध शुरु भएको छ । विद्यालयले शिक्षक पदपूर्तिको सूचना नियमसंगत नभएपछि स्थानीय शिक्षकहरूले यसप्रति असन्तुष्ट जनाएका छन् । विद्यालयले शिक्षक पदपूर्तिको विज्ञापन खुलाउँदा जारी मितिसहित समयावधि तोकेर सम्बन्धी निकायहरूमा टाँस गर्नुपर्ने हुन्छ ।

शिक्षा ऐन तथा नियमावलीमा (५) उपनियम (३) बमोजिम शिक्षक नियुक्तिको लागि गरिएको विज्ञापनको सूचना शिक्षा, विकास तथा समन्वय इकाई, सम्बन्धी विद्यालयको स्रोतकेन्द्र र सम्बन्धी पालिकामा टाँस्नुपर्ने हुन्छ । तर, लक्ष्मीप्रसाद देवकोटा माविले सार्वजनिक गरेको सूचना १५औं दिनपछि विद्यालयमा टाँस गरिएको छ । विद्यालयले सो सूचना शिक्षा समन्वय इकाई, सम्बन्धी विद्यालयको स्रोत केन्द्र र कचनकवल गाउँपालिकामा नटाँसेको पाइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाईको मिति २०७८ मंसीर २७ गतको चलानी नम्बर ७०४को प्राप्त पत्रानुसार विद्यालयले निमावि तहको अंग्रेजी विषयको राहत शिक्षक (एक) पदपूर्ति गर्ने अनुमति प्राप्त भए अनुसार मंसीर २८ गते सूचना प्रकाशन मिति राखेको छ । तर, यो सूचना विद्यालयले पुस १४ गते विद्यालयमा टाँस गरेको हो । विज्ञापनमा १५ दिनसम्म शिक्षक सेवा आयोगबाट करार सूचिमा उम्मेदारहरुका लागि र १५ दिनपछि ७ दिनसम्म खुल्ला उम्मेदवारका लागि भनी उल्लेख छ ।

विद्यालयले १५ दिनपछि विज्ञापन सार्वजनिक गर्दा आयोगबाट करार सूचीका उम्मेदवारहरूलाई आवेदन भर्नबाट बञ्चित गराइएको छ । अब विद्यालयले खुलातर्फबाट आवेदन लिएर राहत शिक्षक नियुक्ति गर्न खोजेको बताइन्छ । आयोगबाट करार सूचीका शिक्षकहरूलाई बञ्चित गराउँदै विद्यालयले सूचना लुकाउँदा विद्यालय कार्यरत शिक्षकहरू पनि आश्चर्यमा परेका छन् । विद्यालयले प्रकाशन गरेको सूचना १५ दिनपछि सार्वजनिक गर्दा यसमा राजनीतिक चलखेल भएको विद्यालयका एक शिक्षकले बताए ।

कचनकवल–२ निवासी चाँगुनारायण नेपालले सार्वजनिक सूचना १५ दिनसम्म लुकाएर राख्ने कार्य गलत भएको बताए । पेशाले शिक्षक समेत रहेका नेपालले भने– ‘मेरी श्रीमती पनि राहत कोटामा अंग्रेजी शिक्षक हुन्, उनी अहिले अर्जुनधारा संस्कृत विद्यालयमा कार्यरत छिन् ।’ उनका अनुसार श्रीमतीलाई त्यही विद्यालयमा ल्याउन धेरै प्रयास गरियो । गाउँपालिकाका अध्यक्ष अन्जारा आलम र विद्यालय व्यवस्थापन समितिलाई पनि पटक–पटक मौखिक जानकारी गराइयो । ‘मेरो मागको सुनवाइ त भएन र अहिले सूचना लुकाएर आयोगको करार सूचीमा परेकालाई पनि बञ्चित गराएको कार्यको बिरोध गर्छु’– उनले भने ।

विद्यालयले सूचना मात्र लुकाएन, नेपाली शिक्षकको ठाउँमा अंग्रेजी विषयको शिक्षक माग समेत गरेको छ । विद्यालयमा कार्यरत राहत निमावि तहका शिक्षक मीना बस्नेतले केही समयअघि मात्र त्यहाँबाट सरुवा भएर पुहाँतु जनज्योति मावि भद्रपुर गइसकेकी छिन् ।

त्यसपछि विद्यालय व्यवस्थापन समितिले राहत शिक्षकको पदपूर्तिका आव्हानका लागि सूचना निकाल्ने निर्णय गरेको थियो । विद्यालयले पहिलै नै शिक्षक नियुक्ति कसलाई गर्ने भनी आन्तरिक निर्णय गरिसकेको बुझिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितकुमार श्रेष्ठले विद्यालयका एक शिक्षकका आफन्तलाई नियुक्ति गर्न खोजेको बुझिएको हो ।

अध्यक्ष श्रेष्ठ र ती शिक्षक दुवै राप्रपा आबद्ध छन् । गाउँपालिकामा राप्रपाको बहुमत छ । राप्रपाकै निर्देशन र दबाब अहिले गाउँपालिकाभित्र शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी भर्ती केन्द्र जस्तै बनाएपछि अन्य राजनीतिक दलहरूले बिरोध स्वरूप आवाज उठाउन थालेका छन् । यता यस बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठ र प्रधानाध्यापक सुभद्रा अधिकारीलाई पटक–पटक फोन गर्न खोजियो । तर, उनीहरूको फोन नउठ्दा सम्पर्क हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here