बाल्मीकिमा ‘म्याथ एक्जिभिसन’

0
348

बिर्तामोड।

गणित भन्नासाथ अधिकांश विद्यार्थीहरुले निधार खुम्च्याउँछन् । निक्कै कठिन विषय मानिन्छ , गणितलाई । हुन पनि औशत विद्यार्थीले परीक्षामा प्राप्त गर्ने अङ्कहरुमध्ये गणितमा कम हुन्छ । यो अवस्था जहिलेदेखि नेपालमा औपचारिक अध्ययन–अध्यापनको क्रम शुरु भयो तहिलेददेखि नै रह्यो । यसैले आजसम्म पनि गणित विषय विद्यार्थीका लागि ‘हाउगुजी’ बनिएको छ र झण्डै–झण्डै अरुचीको विषय बनिरहेको छ ।

गणित विषयप्रतिको यस्तो धारणा र अरुची हटाएर ‘गरेर जान्ने’ बनाउने अवधारणाले बिर्ताामोडस्थित बाल्मीकि एजुकेशन फाउण्डेशनमा अध्ययनरत् विद्यार्थीहरुका लागि विद्यालय परिसरमा मंगलबार ‘गणित प्रदर्शनी’को आयोजना गरियो । प्रिन्सिपल विष्णु सिंघल, गणित शिक्षक मदन अधिकारी लगायतका विषयगत शिक्षकहरुको परिकल्पनाले चार दिनमै बृहत् गणित प्रदर्शनीको आायोजना गरी कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई सहभागी गराइयो ।

विद्यार्थीहरुमा खोजी गर्ने बानीको विकास गर्दै गणित विषयमा अभिरुची जगाउने उद्देश्यले आयोजित प्रदर्शनीले कमजोर विद्यार्थीहरु पनि जागरुक बनेका र गणित विषयमा नयाँ–नयाँ खोज गर्न सफल भएका शिक्षक अधिकारीले बताए । विद्यार्थीहरुले यसअघि सामाजिक, विज्ञान विषयका प्रदर्शनी सम्पन्न गरिसकेको स्मरण गर्दै प्रिन्सिपल सिंघलले अहिले विद्यार्थीको स्वतःस्फूर्त चाहना र विद्यालयको प्राविधिक सहयोगले गणित विषयमा पहिलोपटक सफल प्रदर्शन गरिएको बताए ।

प्रदर्शनीमा सहभागी मध्येकी अगुवा कक्षा १० की छात्रा सृष्टि ढुंगानाले उत्साही हुँदै भनिन्– ‘प्रदर्शनीले विद्यार्थीमा स्वअध्ययन, परीक्षण र समस्याको सरल, सहज समाधान खोज्न सिकाएको छ ।’ प्रदर्शनीमा गणित विषयकै हाजिरी जवाफ, स्वनिर्मित क्यालकुलेटर, सूत्रहरुको विश्लेषण, गणितका सिद्धान्तहरुको खोजी, गणितमा शून्य (०) को अवधारणा लगायतका तथ्यहरु राखिएको छात्रा ढुंगानाले जानकारी दिइन् ।

विद्यार्थी आदिम सापकोटा सोही विद्यालयको कक्षा १० मा अध्ययनरत् छन् । उनी पनि प्रदर्शनीका अगुवा विद्यार्थी हुन् । उनी गणित प्रदर्शनी नौलो विषय भएको बताउँछन् र भन्छन्– ‘प्रदर्शनीमा सबै कक्षाका विद्यार्थीहरुको उत्साहजनक सहभागिता छ । गणित सुन्दा, पढ्दा र अनुभव गर्दा गाह्रो भए पनि खोजी गर्दा यसलाई सरल ढंगले समाधान गर्न सकिँदोरहेछ ।’

थोरै समयमा खोजी गर्दै जाँदा यसको प्रारम्भ वैदिक सभ्यताबाटै भएको ढुंगानाको ठम्याइ छ । उनको भनाइ छ– ‘आधुनिक गणितको प्रणेता पूर्वीय सभ्यता हो । इनफिनिटी भनिने गणितको पर्याय शून्य हो र शून्य अनन्त हो । यसको उल्लेख अथर्ववेदमा भएको र ‘ब्रह्म नै शून्य वा अनन्त हो ।’ ढुंगाना र सापकोटाले भने– ‘अनन्तबाट अनन्त झिक्दा, जोड्दा वा घटाउँदा अनन्त नै बाँकी रहन्छ ।’

पूर्वीय ग्रन्थहरुको समेत अध्ययन र विश्लेषण गर्न भ्याएका विद्यार्थीहरुले ‘हनुमान चालिसा’मा उल्लेख भएको श्लोक उद्धरण गर्दै त्यसकै आधारमा जोड गर्ने र गुणा गर्ने सिद्धान्त आएको दाबी गरेका छन् । सधैँ नौलो विषयवस्तुसँग विद्यार्थीलाई परिचित हुन प्रेरित गर्ने विद्यालयको योजना अनुरुप लामो समयको अन्तरालपछि आयोजित गणित प्रदर्शनी विद्यार्थीलाई जागरुक हुन र गरेर सिक्न सकिन्छ भन्ने चेत दिन सफल हुने अपेक्षा गरिएको छ ।
‘राम्रा जति सबै तपाईंका नानीलाई’ भन्ने निष्ठाद्वारा सञ्चालित फाउण्डेशनले विद्यार्थीलाई सधैँ सृजनात्मक एवम् अतिरिक्त क्रियाकलापमा पनि सामेल गराइरहेको छ । फाउण्डेशनका निर्देशक आनन्दकुमार बस्नेतले वातावरण दिइए साना विद्यार्थीले पनि उपल्लो तहको परिणाम दिन सक्छन् भनेर बौद्धिक क्षमताको विकासमा उत्प्रेरणा प्रदान गरिरहने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here