वेथितिबिरुद्ध बोल्नुपर्छः शर्मा

0
460

झापा ।

नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले सबै दलका सबै तहका नेताहरु बेथितिकाविरुद्ध र समाज रुपान्तरणका पक्षमा बोल्नुपर्ने बताएका छन् ।

बीपी कोइरालासगै प्रजातान्त्रिक आन्दोलनमा होमिएका तुर्सा हेमरमको २४औ स्मृति दिवसको अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै नेता शर्माले कांग्रेसको रुपान्तरण हुँदै गर्दा त्यसको अनुभूति देश र जनताले पनि गर्न सकेमात्रै उपलब्धि हुने बताएका हुन् ।

राजनीतिप्रति सबैको आकर्षण बढाउन सामाजिक सद्भाव, एकाअर्काप्रति सहयोग र व्यवहार परिवर्तन समेत जरुरी रहेको शर्माको भनाइ छ । कांग्रेस रुपान्तरणको जिम्मेवारी हाम्रो काँधमा छ– शर्माले भने– व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तन जरुरी छ ।

तुर्सा हेमरमसँगै संघर्ष गरेका प्रजातान्त्रिक आन्दोलनका योद्धा, शहीदहरुले पनि सामाजिक रुपान्तरणको सपना देखेको बताउँदै नेता शर्माले सन्थालसँगै पछाडि पारिएका जातजातिको राज्यको हरेक संयन्त्रमा सहभागिता जरुरी रहेको बताए । अब परिवर्तन र रुपान्तरणका लागि कसैले रगत बगाउनु नपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशीला ढकालले तुर्सा हेमरमको जीवनशैली अत्यन्तै साधारण भए पनि चेतनाका हिसाबले अगाडि रहेको बताइन् । नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्माले तुर्सा हेमरम सबैभन्दा त्यागी नेता भएको स्मरण गर्दै तत्कालीन शासकहरुले जस्तोसुकै यातना दिँदा पनि प्रजातान्त्रिक बिचारबाट कति पनि बिचलित नभइ निरन्तर प्रजातन्त्रको पक्ष मा लडेको बताए ।

अग्रज नेता डिल्ली सिटौलाले तुर्साले देखाएको बाटोमा हिँडेर निरन्तर पिछडिएका जातजाति र वर्गको पक्षमा बोल्नुपर्ने धारणा राखे । नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले तुर्सा स्मृति प्रतिस्ठानलाई सन्थाल जातिसहित लोपोन्मुख र अल्पसंख्यक जातजातिको आशाको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

लखन हेमरमको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोहन टुडू र बडाराम हेमरमले सन्थाल जातिलाई शिक्षाको पहुँचमा पु¥याएर उनीहरुको जीवनस्तर सुधारका लागि काम गर्नुपर्नेमा जोड दिए । कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले समेत मन्तव्य राखेको कार्यक्रममा स्वागत टीका मैनाली र सञ्चालन कुमारमणि पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here